सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री रोजगार कार्यक्रम: यसपालि धनगढीका युवालाई समेट्न सुझाव

२०७८ मंसिर ४, ०६:२५ रोशन भट्ट

धनगढीः सुदूरपश्चिममा असफल मानिएको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई नयाँ स्वरुपमा सञ्चालन गर्नुपर्ने माग गरिएको छ। आर्थिक वर्ष २०७५/७६ देखि सञ्चालनमा आएको प्रधानमन्त्री रोजगार कार्यक्रम सुदूरपश्चिम असफल मानिएको छ। उक्त कार्यक्रममार्फत केही स्थानीयले छोटो समयका लागि रोजगारी पाएपनि त्यसले दीर्घकालिन रुपमा फाइदा दिन सकेको छैन। 

तर चालु आर्थिक वर्षमा सञ्चालन हुने कार्यक्रमलाई भने फरक स्वरुपमा अगाडि बढाउनुपर्ने धनगढीका युवा बेद महाराले बताए। ‘अहिलेसम्म प्रधानमन्त्री रोजगार कार्यक्रम युवाहरु अट्न सकेका छैनन्। अब योजना तयार गर्दा पनि युवालाई ध्यानमा राख्नुपर्छ’ उनले भने।

एक सय दिनका लागि रोजगारी प्रदान गर्ने कार्यक्रमबाट दीर्घकालिन फाइदा नभएको गुनासो धेरैको छ। नाली सफाई, सडक मर्मत लगायतका काम गरेर सकिएको विगतका वर्ष कार्यक्रमबाट नागरिक र राज्य दुवैलाई फाइदा नपुगेको तर्क पनि धेरैको छ। 

यसअघिका वर्षमा सञ्चालन भएको कार्यक्रमले युवाहरुलाई समेट्न सकेको थिएन। तर प्रदेशमा बेरोजगारको संख्या भने युवाहरुकै बढी छ। त्यसकारण पनि आगामी कार्यक्रमलाई युवा लक्षित बनाउनुपर्ने माग गरिएको छ। 
समाजमा देखिने काम गर्न सकेपछि मात्रै प्रधानमन्त्री रोजगार कार्यक्रम सफल भएको मानिने भएका कारण फरक स्वरुपमा सञ्चालन गर्नुपर्ने धनगढीका स्थानीय धनपती ढुंगेलले बताए। ‘समाजमा देखिने काम गर्नु पर्छ। त्यो व्यक्तिगत सोचमा भरपर्छ’ उनले भने।  

नेपाल सरकारले यस वर्ष पनि उक्त कार्यक्रम सञ्चालन गर्नका लागि तयारी गरिरहेको छ। दुई खण्डमा बजेटसमेत उपलब्ध गराउने योजना रहेको छ। धनगढी उपमहानगरपालिकाले पनि यस वर्षका लागि उक्त कार्यक्रम सञ्चालन गर्न एक करोड ७५ लाख बजेट प्राप्त गरेको छ। 

धनगढी उपमहानगरपालिकाका रोजगार संयोजक चन्द्र महराले यस वर्ष उक्त बजेटबाट सीपमुलक कार्यक्रम पनि सञ्चालन हुने बताए। ‘हामीले पनि सीममुलक तालिमको माग गरेका छौ। कार्यविधि आएपछि कार्यान्वयन हुन्छ’ उनले भने। यस वर्षका लागि उक्त कार्यक्रम सञ्चालन गर्न कार्यविधिको प्रतिक्षामा स्थानीय तहहरु छन्। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस