‘धनगढीको ६ लेन सडकमा हुने ट्याङकर पार्किङ १० दिनभित्र हट्छ’
धनगढीः धनगढी–अत्तरिया ६ लेन सडकमा हुने ट्याङकर पार्किङ १० दिनभित्रै हटाउने दाबी गरिएको छ। यसअघि कार्तिकभित्रै ट्याङकरको व्यवस्थित पार्किङ गर्ने दाबी गरेको आयल निगमले अब १० दिनमा समस्या समाधान गर्ने बताएको हो।
नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक कार्यालयले सडकमा हुने पार्किङको समस्या समाधन हुने बताएको हो। ‘शुक्रबारदेखि पार्किङ स्थलमा ग्राभेल हाल्ने काम हुन्छ,’ नेपाल आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख रामकुमार न्यौपाले भने, ‘एक हप्ता १० दिनभित्रै यो समस्या समाधान हुन्छ।’
ट्याङकर पार्किङकका लागि आयल निगमले धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ मा जग्गा खोजेको छ। खाद्य व्यापार कम्पनी लिमेटेडको स्वामित्यमा रहेको नेशनल ट्रेडिङको जग्गा पार्किङका लागि निगमलाई प्राप्त भएको छ।
विगतमा उक्त स्थानमा वर्षाको पानी जमेको हुँदा काम हुन सकेको थिएन। तर अहिले भने पानी समेत सुकेको छ। अब उक्त स्थानमा शुक्रबारदेखि ग्राभेल हाल्ने काम सुरु हुने प्रादेशिक प्रमुख न्यौपानेले बताए।
उक्त स्थानमा पार्किङस्थल बनाउनका लागि सुरक्षा आवश्यक पर्ने देखिएको छ। त्यसका लागि पनि सुदूरपश्चिम प्रदेश सरकारले कैलाली प्रहरीसँगको समन्यवमा सहयोग गर्ने जनाएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले सिसिटिभी जडान गर्ने घोषणा गरिन।
‘हामीले गर्ने सहयोग सबै गर्न तयार छौ,’ उनले भनिन्, ‘तर सडकमा हुने पार्किङ भने छिट्टै हटाउनुपर्छ।’ ट्याङक पार्किङको जिम्मा स्वयम व्यवसायीको भएकोमा उनीहरुले सडकमै पार्किङ गर्न थालेपछि ६ लेन सडक नै पार्किङस्थल बनेको छ।