कैलालीमा बडुवाल हत्या प्रकरण : प्रहरीको भूमिकामाथि आशंका
धनगढी : कैलालीमा भूपेन्द्र बडुवाल हत्या प्रकरणमा आरोपित सात जना अझै फरार छन्। २३ वर्षीय युवक भूपेन्द्र बडुवालको हत्या भएको ९ दिनसम्म पनि प्रहरीले आरोपित सात जनालाई पक्राउ गर्न नसकेको हो भने हत्याको कारण समेत खुलेको छैन।
फरार आरोपितमा एकजना प्रहरी निरीक्षक र एकजना प्रहरी नायब उपरीक्षकका आफन्त छन्। विगतदेखि नै राजनीतिक दलले संरक्षण गर्दै आएका व्यक्ति पनि फरार छन्। सोही कारण प्रहरीको भूमिकामाथि पनि शंका लागेको मृतक भूपेन्द्रका आफन्त भगत बडुवालले बताए। ‘प्रहरीले अनुसन्धान गरेर अपराधिलाई समात्न सकेन,’ उनले भने, ‘मुख्य योजनाकार अझै फरार छन्। प्रहरीको भूमिकामाथि शंका लाग्न थालेको छ।’
घटनामा संलग्न रहेकाको पहिचान हुँदा पनि उनीहरुलाई पक्राउ गर्न कैलाली प्रहरी असफल भएको पीडित पक्षको गुनासो छ। फरार आरोपित कैलाली आसपासकै जिल्लामा रहेको बताउँदै आएको प्रहरीले पक्राउ गर्न भने सकेको छैन। पीडित परिवारका अनुसार घटना भएको समयमा प्रहरीले सक्रियता देखिए पनि पछिल्लो समयमा भने सुस्ताएको छ।
लम्कीमा सक्रिय अपराधिक समूहलाई राजनीतिक दलका नेताको संरक्षण रहेको आरोप लाग्ने गरेको छ। राजनीतिक संरक्षणकै कारण हत्या प्रकरणका मुख्य योजनाकारसहित आरोपित पक्राउ नपरेको आशंका उब्जीन थालेको मृतकका आफन्त बडुवालले बताए। ‘यहाँ मुख्य रुपमा दुई समूह सक्रिय छन्, दुबै समूलाई राजनीजिक संरक्षण छ,’ उनले भने, ‘नेताकै दबाबका कारण मुख्य योजनाकार सहित अन्य आरोपित पक्राउ नपरेका हुन्।’
बडुवाल हत्या प्रकरणका सबै आरोपित पक्राउ नपर्नुमा कैलाली प्रहरीको नेतृत्वमाथि पनि प्रश्न उठ्न थालेको छ। तर कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले भने घटनाको निश्पक्ष रुपमा अनुसन्धान भइरहेको दाबी गरे। ‘दबाबको त कुरै हुँदैन, कुनै पनि व्यक्तिको हत्या भएको घटनामा दबाब र प्रभावको कुरा हुँदैन,’ एसपी अधिकारीले भने, ‘यसमा कसैले दबाब दिन खोज्छ भने त्यो पनि अनुसन्धानको दायरामा आउँछ।’ घटनामा संलग्न रहेको आरोपमा हालसम्म ९ जना पक्राउ परेका छन्।
यता लम्की र टीकापुर क्षेत्रमा अपराधिक गतिविधि बढेको भन्दै सो क्षेत्रको प्रहरी नेतृत्वमाथि पनि प्रश्न उठ्न थालेको छ। स्थानीयले वर्तमान प्रहरी नेतृत्व अपराधिक गतिविधि रोक्न असफल भएको बताउन थालेका छन्।