कैलालीमा खाना खाने पसल साहूजीकै हत्या, आरोपितको बयान- ‘हेपेर बोल्थ्यो, रड हानेर मारिदिए’
धनगढी: आइतबार दिउँसो करिब १ बजे कैलालीमा एक व्यापारीको शव फेला पर्याे। उक्त शव थियो मोहन्याल गाउँपालिका–४ सिम्ली खोला नजिकै विगत १ वर्षदेखि पसल सञ्चालन गर्दै आएका घोडाघोडी नगरपालिका–४ जनकपुरका पदम आचार्यको। उनको शव पसल पछाडी घोप्टो परेको अवस्थामा फेला परेको थियो। उक्त सूचना पाएपछि तत्काल ईलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी नायव उपरीक्षक सागर बोहराको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटियो। घटनाको प्रकृति गम्भीर देखिएपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीबाट समेत विशेष अनुसन्धान टोली परिचालन गरिएको थियो।
शवको टाउको र छातीमा चोट लागेको देखेपछि आचार्यको हत्या नै भएको भन्ने निष्कर्षमा प्रहरी पुगिसकेको थियो। प्रहरी टोलीले अनुसन्धानका क्रममा पदम आचार्यको पसलमा खाना खाने एक युवकमाथि शंका गरेको थियो। दैलेखको गुराँस गाँउपालिका–३ खिमडीका १८ वर्षीय ती युवक तिहारको बेला घर गएका थिएनन्। मोहन्याल गाउँपालिका–४ स्थित महरा निर्माण सेवाबाट सञ्चालित टिपरमा खलासी गर्ने जीवन शाही ठकुरीलाई निर्माण सेवाको रेखदेखका लागि खटाइएको थियो। उनले आचार्यकै पसलमा खाना खाने गरेका थिए। तर घटनापछि उनी त्यहाँ देखिएनन्। सोही कारण पनि प्रहरीले उनीमाथि शंका गरेको थियो। जबकी घटनाको एकदिन अघि कात्तिक २० गते शनिबार साँझ उनलाई स्थानीयले त्यहीँ देखेका थिए।
घटनापछि फरार रहेका उनै जीवन बाँकेको नेपालगञ्जमा रहेको भन्ने प्रहरीले खबर पायो। त्यसपछि जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा ठकुरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए। उनका अनुसार अनुसन्धानका क्रममा ठकुरीले मृत आचार्यको रड प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन्। निज ठकुरीमाथि ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।
यसरी घट्यो घटना(आरोपितको बयानको आधारमा)
कात्तिक २० गते भाइटिकाको राति जीवन शाही ठकुरीले आफै मासु पकाएर मृतक पदम आचार्यको पसलमा लगेका थिए। खाना खाने बेला उनले साहुजीसँग रहर नामक रक्सी मागेर पिए।
पहिले पनि आचार्यले हेपेर बोल्ने गरेको बताउले ठकुरीलाई उक्त दिन पनि उस्तै व्यवहार गरे। आचार्यले हेपेर र होच्याएर बोलेका कारण ठकुरीलाई अत्यधिक आवेश आयो। विवादले कुटपिटसम्मको परिस्थिति निम्त्यायो। सोही विवादका क्रममा आचार्यले ठकुरीलाई २ लठ्ठी हिर्काएका थिए। त्यसपछि दुवैबीच हात हालाहाल भयो। रिस थाम्न नसकेर राति करिब १० बजे ठकुरीले अचार्यलाई रड प्रहार गरे। रड प्रहारपछि मृतक आचार्य त्यहीँ ढले।
त्यसपछि जीवन शाही ठकुरीले बाँकी रहेको रक्सी खाए र आफू सुत्ने कोठा बाहिर सुते। बिहान करिब ५ बजे उनको निन्द्रा खुल्यो र उनी त्यहाँबाट फरार भइ नेपालगञ्ज पुगे।