सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमरगढी किल्ला जाने सडकको हालत खराब, पुर्ननिर्माणका लागि असारमै सम्झौता, भएन काम

२० प्रतिशत पेश्की लिएर ठेकेदार दसैँतिहार मनाउँदै 

२०७८ कार्तिक १६, १२:०६ आशिष मल्ल

धनगढी: डडेल्धुराको सदरमुकाम रहेको अमरगढी नगरपालिका–५ बागबजारदेखि खलंगा जोड्ने पक्की मार्ग फुटिसकेको छ। करिब २० वर्ष अघि ढलान गरिएको उक्त उकालो बाटो गत वर्ष साना सहरीको खानेपानी आयोजना अन्तरगतका पाइनलाइन बिछ्याउँदा फुटेको थियो। उसो त उक्त बाटो निर्माण भएपछि हालसम्म मर्मत नगरिँदा पनि बाटोको बेहाल भएको स्थानीय पुस्कर सिंह ठकुरी बताउँछन्। ‘सुरुमा बाटो बनाइदिए। तर पछि बाटोको मर्मत भएन। बर्सातमा माथिबाट आउने ढलले बाटो बिगारिरहेको थियो’ उनले भने। 

सदरमुकामको पूरानो बस्ती खलंगा र तल्लो खलंगा जाने उक्त बाटो भएरै ऐतिहासिक अमरगढी किल्ला समेत पुग्न सकिन्छ। त्यति मात्रै होइन, जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्याललय जान समेत जिल्लावासीले सोही करिब ५ मिटरको बाटो प्रयोग गर्दै आएका छन्। ‘बागबजारबाट करिब १५ मिनेट हिँडेपछि सोही बाटोबाट दुईवटै जिप्रका र किल्ला पुग्न सकिन्छ तर पछिल्लो केही वर्षदेखि उक्त बाटोको हालत खराब भएको छ। पर्यटक आएपछि लाजको पसारो छ’ अर्का स्थानीय सुरेश थापाले भने। 

ती कार्यालय र अमरगढी किल्ला पुग्ने अर्को सडक तुफानडाँडा भएर जान्छ। गत वर्ष उक्त सडक पिच भएको छ। तर सो सडक भएर अमरगढी किल्ला जान धेरै घुमाउरो र लामो हुन्छ। ‘यदि यही बाटोलाई अलि खनेर पिच गरे पर्यटक तथा स्थानीय ५ मिनेटमै खलंगा पुग्न सक्छन्। तुफानडाँडा भएर आउने समयको बचत हुन्छ’ थापा भन्छन्, ‘यो पूरानो बाटो पनि हो। यसपालि बजेट आएको भन्ने सुनिएको छ। हामी स्थानीय खलंगावासीले बैठकबाटै सडक खनेर पिच गर्न भनेर पटक–पटक नगरपालिका समक्ष माग गरेका छाै‌। तर अहिलेसम्म काम भएको छैन।’

बर्सातको भेल आएर घरघरमा पस्ने हैरानीबाट आजित भएका स्थानीयले उक्त सडकको काम छिटो गर्न माग गरिरहेका छन्। ‘पञ्चायती व्यवस्थामा पिसीसी गरी बनाइएको बागबजार–खलंगा पैदल बाटो जीर्ण अवस्थामा छ। बाटो निर्माणका लागि स्थानीय सरकारसँग पटकपटक गुहार गरेपनि सुनुवाई भएन’ स्थानीय श्याम सिनालले भने। शहरी खानेपानी योजनाका पाइपलाइन नाली किनार र सडक छेउमा हालिँदा नाली पुरिएको उनले बताए। ‘खानेपानीका पाइपलाइन बिछ्याएपछि नाली पुरिँदा बर्सातमा सडकमै खोलो बग्ने गरेको छ। सोही बाटोमा एउटा विद्यालय पनि छ। बाटो चिप्लो हुँदा कतिपय विद्यार्थीहरु लड्छन्’ उनले भने। 

असारमै सम्झौता, कार्तिक सकिँनै लाग्दा पनि भएन काम
उक्त सडक पुर्ननिर्माण र अमरगढी नगरपालिका–४ मा रहेको शिवालय मर्मतका लागि संघीय सरकारले बजेट निकासा गरेको थियो। पर्यटन साझेदारी अन्र्तरगत अमरगढी मार्ग भनेर नगरपालिकामार्फत उक्त पुर्ननिर्माण हुने भएको हो। 

अमरगढी किल्ला पर्यटन पूर्वाधार र शिव मन्दिर मर्मत शिर्षकमा २ करोड ७८ लाख ३८ हजार २ सय ५५ केयस कालिका जेभीसँग सम्झौता समेत भइरसकेको छ। नगरपालिकाले निकालेको बोलपत्र अनुसार केयस कालिका जेभीले गत असार ६ गते नै उक्त योजनाका लागि सम्झौता गरेको थियो। तर सम्झौता भएको ४ महिना बित्नैलाग्दा पनि सो मार्गमा कुनै काम भएको छैन। अझ रोचक त के भने उक्त निर्माण कम्पनीले कूल सम्झौता रकमको २० प्रतिशत पेश्की समेत लिइसकेको छ। तर काम भने केही सुरु गरेको छैन। 

यस विषयमा अमरगढी नगरपालिकाका इन्जिनियर सुरेशबहादुर साउँद भन्छन्, ‘सुरुमा त पर्यटनको रकम भएकाले बजेट आउन ढिला भयो। बहुवर्षीय योजना भएकाले पनि ढिला भएको हो। दसैँ अगाडी सुरु हुनुपर्ने हो तर निर्माण कम्पनीले तिहार लगत्तै सुरु गर्छु भनेको छ, हुन्छ।’

उनका अनुसार उक्त बजेटबाट बागबजारभन्दा माथि रहेको माउन्टेन माविबाट जिप्रकासम्म ढलान मार्ग र तल्लो खलंगामा रहेको शिव मन्दिरको भजन मन्डली बन्नेछ। तर स्थानीयले माग गरेको अनुसार उक्त बजेट अभाव हुने उनले बताए। ‘केही स्थानीयले उक्त मार्गलाई ‘डाउन’ गरेर ढलान गर्नुपर्ने माग गरेका छन्। केही भने आफ्नो घर धरापमा पर्ने भन्दै त्यसो नगर्न भन्छन्’, इन्जिनियर साउँद भन्छन्, ‘अब उहाँहरुसँग बैठक बसेर त्यहि अनुसारको सडक बन्छ। तर यो बजेटको स्टिमेटमा मार्ग ढलान गर्ने भनेर उल्लेख छ। डाउन गरेर लग्न बजेट अभाव हुन्छ।’

मेयर भन्छन्, ‘तिहारपछि काम सुरु नगरे चिठ्ठी काट्छौ’
उक्त विषयमा अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वर प्रसाद ओझा आफ्नो ध्यानाकर्षण भएको बताउँछन्। ‘सम्झौता भएको धेरै समय भइसक्दा पनि काम सुरु नभएको गुनासो आएपछि मैले निर्माण कम्पनीसँग कुरा गरेको छु। तिहारपछि काम सुरु हुन्छ भनेको छ’, उनले भने, ‘काम सुरु नभए हामी उसलाई चिठ्ठी काट्छौ।’

उक्त अमरगढी मार्गका लागि बजेट आउनुपूर्व नै स्थानीयले सडकका लागि ७ मिटर छाड्छौ भनेर लिखित निर्णय ल्याएको मेयर ओझाले बताए। ‘स्थानीयले बाटो छाड्छन् भने अहिले साना गाडी र मोटरसाइकल गुड्नेसम्म बन्छ। तर त्यसका लागि स्थानीयसँग एकपटक बैठक गर्छौ’ उनले भने।

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस