नाति खेलाउने उमेरमा मुग्लान, भन्छन्–‘पेट पाल्न भारतको गुलाम बन्न बाध्य छौं’
धनगढीः पुरानो झोला। जसको चेन पनि उध्रेको छ। कुनामा थोरै फाटेको थियो। जहाँबाट झोलाभित्र राखिएका सामान स्पष्ट देखिरहेका छन्। उक्त झोला काँधमा झुण्ड्याएर मुसलधारे पानीमा भिज्दै त्रिनगर सीमा पारी गाडी पर्खिरहेका थिए, कैलालीको कैलारी गाउँपालिका रामपुरका नारायण गिरी।
आइतबार साँझ त्रिनगर नाकामा भारत जानेहरुको भीड बाक्लो थियो। बालबच्चासहित गाडीमा चढ्न सबैलाई हतारो थियो। मुसलधारे पानी परिरहेको अवस्थामा ओत लाग्ने ठाउँ पनि थिएन। रुखको फेदमुनी दर्जनौ जना वर्षाबाट बच्न लुकिरहेका थिए। सोही भिडमा पाको उमेर देखिने गिरी र अर्का र यज्ञराज ढुंगाना थिए। उनीहरु मुम्बई बरेलीका लागि गाडी खोजिरहेका थिए। उनीहरु पहिलोपटक रोजगारीका लागि भारत गइरहेका थिए।
‘गाउँमै जे पायो त्यहि गथ्र्यौँ, अब केही छैन गाउँमा काम। उमेर पनि पाको भयो। काम गर्न जाँदा सक्दैनस् भनेर पनि भन्छन्। गाउँमा काम गर्न पनि गाह्रो छ,’ गिरीले भने, ‘रहर त नाति खेलाउने हो नी के गर्नु भोको पेटले अन्न बाहेक केही नदेख्दो रहेछ।’ भारत जाने दुवै जना नयाँ। काम पनि नयाँ नै। जुन काम पाए पनि गर्ने भन्ने उद्देश्यले उनीहरु पहिलोपटक भारत गइरहेका थिए। ‘लैरो टेकेर हिँड्ने उमेर भयो। अब परदेशिनु पर्ने बाध्यता आयो’ गिरीले भने।
उनीहरु दुवैजना एउटै गाउँका हुन्। ‘हाम्रो परिस्थिति पनि एउटै हो। आर्थिक अवस्था कमजोर छ। परिवारको खर्च जुटाउन देशमा धौधौ छ। नयाँ फेसन्, महगाँई, भोको पेटले देश छोड्न बाध्य छौँ’ यज्ञराज ढुंगाना भन्छन्, ‘पेट पाल्न भारतको गुलाम बन्न बाध्य छौँ। उनीहरुको गाली कुटाइ जे भएपनि सहन बाध्य छौँ। तर परिवारको पेटमा लात हान्न सक्दैनौँ।’
गाउँमा दसैँका लागि लाहुरबाट फर्कदा खुसीयाली छाएको अवस्थामा आफूहरु देश छाड्दा दुःख लागेको यज्ञराज ढुगांनाले बताए। ‘सबै फर्केर घर आउँदैछन्, यो उमेरमा हामीले परदेशिनु परेको छ। अझ दसैँ सकिएको छैन। गाउँमा चहलपहल छँदैछ। भोलि तिहार आउँदैछ। तर के गर्नु खुसीयाली छाएको गाउँमा बस्ने मनै लागेन। आफुसँग केही भए पो बस्नु’ गहभरी आँसु पारेर उनले भने।
देशमा अनावश्यक रुपमा महँगी बढ्दा गरिब वर्ग एकदमै मारमा परेको उनीहरुको गुनासो छ। ‘घरघरमा सिंह दरबार आयो भन्छन्, तर हाम्रा लागि तड्पाउन सिंह मात्रै आयो दरबार के हो थाहा छैन’ आक्रोशित हुँदै ढुंगाना भन्छन्।
गाउँ छोड्न कुनै रहर नभएको उनीहरु बताउँछन्। राजनीतिक दलले तथा सरकारमा बसेर पद सम्हालेका जिम्मेवार व्यक्तिले काम गरिदिए कसैले देश छाड्नु नपर्ने उनीहरु बताउँछन्। कुनै लुट तथा भ्रष्टाचार नगरी इमान्दारितापूर्वक काम गरिदिए गाउँमै दरबार हुने उनीहरु बताउँछन्।