सुदूरपश्चिमवासीको नियति : बडादसैंको दोस्रो दिन भारततर्फ लम्किए पाइला
धनगढीः तीन दिनअघि त्रिनगर–गौरीफन्टा नाका पुग्दा स्वदेश फर्किरहेका नेपाली दंग देखिन्थे। महान चाड दसैंका लागि जन्मथलो प्रवेश गर्दाको खुसी उनीहरुको अनुहारमा स्पष्टै देखिन्थ्यो।
शनिबार भने नाकाको दृश्य फरक थियो। अधिकाशंको निधारमा दसैं टीकाको छाप मेटिन पाएको थिएन। अनुहारमा खुसी हराइसकेको थियो। दसैंको मुख्य दिनको भोलिपल्ट नै रोजगारीका लागि भारततर्फ पाइला बढाउदा सबैमा निराशा थियो।
दसैंकै लागि भनेर स्वदेश फर्किएका कैलालीका विशाल बोहरा शनिबार मात्रै त्रिनगर–गौरीफन्टा नाका भएर रोजगारीका लागि भारत गए। ‘देशमा रोजगारी छैन, घर परिवार समाल्नु पर्छ,’ उनले भने, ‘अर्काको देशमा जाने रहर कस्को होला ? तर हामी दुई दाइभाई पालैपालो रोजगारीका लागि भारत पस्न बाध्य छौँ।’
दसैंको टीका नसकिदै रोजगारीका लागि भारत पस्नेहरु त्रिनगर–गौरीफन्टा नाकामा तमाम भेटिन थालेका छन्। शनिबार नाकामै भेटिएका जयराम भण्डारी पनि केही दिन अगाडि दसैं मान्नका लागि स्वदेश फर्किएका थिए। घरका सदस्यसमेत भारतमै रोजगारी गर्ने हुँदा दसैंको दोस्रो दिन नै जन्मभूमी छाड्न परेको उनले बताए। ‘रोजगारी गर्नका लागि भारत नगएर काम छैन,’ उनले भने ‘घर–परिवार पाल्नका लागि पनि जानै पर्छ।’ तीनै तहका सरकारदेखि निराश प्रदेशवासी दसैंको रौनकलाई चटक्कै बिर्सेर घर परिवार पाल्नकै लागि भारत पस्न बाध्य छन्।
केही दिन अगाडिसम्म भने दसैं मनाउनका लागि स्वदेश फर्किनेहरुको संख्या धेरै थियाे। तर स्थानीयस्तरमा रोजगारीका अवसरहरु पर्याप्त नहुँदा चाडपर्व नसकिदै भारत पस्नु परेको दुखेसो नाकामा भेटिनेहरुको छ। देशमा तीन तहको सरकार भए पनि आम सर्वसाधारणको समस्या कसैले पनि नबुझेको नाकामा भेटिएका बाजुराका रितेश सुनारले बताए। ‘घर आएको एक हप्ता जति भएको थियो,’ उनले भने, ‘फेरि भारत नै जादैछु।’
दसैंको टीका नसकिदै भारत पस्नेहरुमध्ये अधिकांश वर्षौदेखि उतै रोजगारीमा गर्दै आएका थिए। केही भने पहिलो पटक रोजगारीकै लागि गइरहेका पनि थिए। स्थानीय र प्रदेश सरकारले रोजगारीका अवसरहरु सिर्जना गर्दै भारत पस्नेहरुको संख्या घटाउने दाबी गर्दै आए पनि आम नागरिकको समस्याप्रति सरकार गम्भीर नबनेको आरोप लाग्ने गरेको छ।