सुदूर नेपाललाई विश्वसँग जोड्दै

दसैं मनाउन स्वदेश फर्कने नेपाली दोहोरो फन्दामा, सीमामा झन सास्ती

२०७८ असोज २०, ०७:३३ रोशन भट्ट

धनगढी: मंगलबार विहान त्रिनगर–गौरीफन्टा नाकामा पुग्दा भारतबाट फर्किएका नेपालीसँगै अटो रिक्सा चालकको दशगजा क्षेत्रमा बाक्लो उपस्थिति थियो। भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीलाई ट्राभल्स एजेन्सीले नाकामा अलपत्र छाडेपछि आवतजावत गर्नै मुस्किल हुने गरी भीड थियो। सोही भिडमा डोटीको बोगटान फुड्सिल गाउँपालिकाका गज्जु क्षेत्री पनि थिए।

भारतको लुधियानाबाट दीपायलसम्म पुगाउने भन्दै ३५ सय भारु भाडा लिएको ट्राभल्स एजेन्सीले नाकामै छाडेको गुनासो उनको थियो। ‘हामी आएको गाडीमा ८१ जना थियौं,’ उनले भने, ‘दीपायल पुगाउछु भनेर ल्याएको हो। नाकामै छोड्यो।’ बाटोमा कुनै किसिमको समस्या झेल्नु पर्दैन भनेर चर्को भाडा लिएको एजेन्सीले आधा बाटोमा पुगेपछि धोका दिएको गुनासो मंगलबार गौरीफन्टा नाकामा पुगेकाहरुको थियो।

बाटोम खर्च हुदैन, सामान बोक्नु पर्दैन, प्रहरी र अन्यको सास्ती झेल्नु पर्दैन भन्ने लगायत विभिन्न आश्वासन दिएर चर्को भाडा लिने एजेन्सीले आफ्नो फाइदाका लागि मात्रै काम गरेको आरोप नाकामा पुगेका गोपाल आउजीको थियो। ‘छिटो घर पुगिएला भनेर यस्तो बसमा आयौं,’ उनले भने, ‘अब त एक महिना लाग्छ होला घर पुग्न।’

यता ट्राभल्स एजेन्सी भने सहजै रुपमा अझै पनि भाडा कम भएका कारण गन्तव्यसम्म पुगाउन नसकेको दाबी गरिरहेको छ। लुधियानाबाट विभिन्न सहर हुँदै गौरीफन्टासम्म बस पुगाउँदा आफूलाई एक लाख घाटा हुँदा त्यो भन्दा अगाडि जान नसकेको एजेन्सी सञ्चालक शेरबहादुर महराले बताए। ‘भारतका विभिन्न ठाउँमा पैँसा तिरेर आएको हो। एक लाख घाटा भएको छ। यहाँ पुग्दासम्म। अब दीपायलसम्म जान सक्दैन,’ उनले भने।

ट्राभल्स एजेन्सीले चर्को भाडा लिएर यात्रुलाई अलपत्र छाडेको आरोप लागेको बेला एजेन्सी सञ्चालकले भने रिक्सा चालकले लुट्ने गरेको जिकिर गरिरहेका छन्। यता अटो चालकले पनि गाडीवालाले नै मनपरी भाडा लिने तर आफूहरुलाई आरोप लाग्ने गरेको बताउँदै आएका छन्। दसैं मनाउनका लागि घर फर्किने नेपाली नाकामा विभिन्न किसिमको सास्ती भोग्दै आए पनि स्थानीय प्रशासन मौन बसेको छ।

यात्रुलाई अलपत्र छाड्ने, चर्को भाडा लिने लगायत नेपाल र भारतीय प्रहरीले असुली गर्ने गरेको आरोप लाग्दा पनि स्थानीय प्रशासनले आवश्यक छानबिन गरी दोषीलाई कानूनको दायरामा ल्याउन सकेको छैन। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने नाकामा समस्या परेको भन्दै अहिलेसम्म उजुरी नपरेको बताए। ‘हामीसँग उजुरी परेको छैन,’ उनले भने, ‘उजुरी परेपछि हामी छानबिन गर्छौ, दोषीलाई पनि कारबाही गर्छौ।’

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस