दसैँको मुखमा मुग्लान पस्दै सुदूरपश्चिमेली
धनगढीः शुक्रवार अपराह्न ४ त्रिनगर–गौरीफन्टा नाकामा पुग्दा सीमा वारपार गर्नेहरुको घुँइचो थियो। अधिकांश सुदूरपश्चिमेलीहरु दसैँ मनाउनका घर फर्किरहेका थिए भने चाडपर्वको मुखमै रोजगारीकै लागि भारत जानेको संख्यामा पनि कमी थिएन। सीमा पार गर्ने तयारीमा रहेका कैलालीको गोदावरी नगरपालिकाका रामप्रसाद यादव निधारमा रातो टीकासहित काँधमा सानो झोला भिरेर भारत प्रवेश गर्ने लाइनमा थिए।
पढाइ खर्च निकाल्न भारतमा काम गर्दै अएका यावद पछिल्लो पटक कक्षा १२ को परीक्षा दिनका लागि घर फर्किएका थिए। साहुले छुट्टीको समय सकिएको भन्दै बोलाउन थालेपछि दसैँ छाडेर भारत जान लागेका उनले बताए। ‘पहिलादेखि नै भारतमा काम गर्दै आएको थिए। योबेला घरमा पनि अलि समस्या छ,’ भावुक हुँदै यादवले दिनेशखबरसँग भने, ‘दसैं नजिकिए पनि भारतबाट साहुले बोलाउन थालेपछि जान लागेको हुँ। घर परिवारसँग दसैं मनाउन नपाउँदा नराम्रो लाग्दैछ।’
कैलालीकै टीकापुरका प्रीन्स खड्का पनि शुक्रवार त्रिनगर–गौरीफन्टा नाका भएर भारत पसे। देशमा रोजगारीको अभाव भएको भन्दै घर खर्च चलाउनका लागि भारत जान लागेको उनको भनाई थियो। भारतमा रहेका आफन्तले जागिर लगाइ दिने भनेपछि उनी दसैँ–तिहार लगायतका पर्व छाडेर भारत जान लागेका हुन्।
देशमा स्थानीय, प्रदेश र संघीय सरकार भए पनि रोजगारीका लागि भारत जानुपर्ने बाध्यताको अन्त्य नभएको गुनासो उनको थियो। ‘देशमा रोजगारी पाइने अवस्था छैन। आफ्नो खर्च चलाउनका लागि भारत जानुपर्ने बाध्यता छ,’ उनले भने, ‘उताबाट जागिर लगाइ दिन्छु भनेपछि दसैँ छाडेर जाँदै छु।’
हिन्दु नेपालीको महान चाड बडादसैं सुरु हुन एक साता मात्रै बाँकी छ। यो समयमा घर दसैँ मनाउनका लागि विभिन्न ठाउँमा रोजगारी गर्दै आएकाहरु जन्मघर फर्किरहेका छन्। रोजगारीका लागि भारत गएकाहरु पनि दैनिक जसो सयौंको संख्यामा गौरीफन्टा नाका भएर मात्रै फर्किरहेका छन्। तर सोही नाका भएर कतिपय प्रदेशवासीहरु परिवारसहित भारत पसिरहेका छन्।
दैनिक एक सय ५० जनासम्म गौरीफन्टा नाका भएर सुदूरपश्चिमेलीहरु भारत गइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए। ‘धेरैजसो रोजगारीकै लागि गइरहेका छन्,’ उनले भने, ‘केही भने उतै बसोबास गर्नेवाला पनि छन्।’