सुदूर पहाडका सडक ३ महिनादेखि अवरुद्ध, खाद्यान्नको संकट
धनगढीः सुदूरपश्चिमको विकट पहाडी जिल्ला बाजुरा जोड्ने मुख्य सडक र बजार जोड्ने ग्रामीण सडक अवरुद्ध भएको ३ महिना पुग्यो। गत असार र साउनमा परेको अविरल वर्षका कारण अवरुद्ध भएका सडक सञ्चालनमा बेवास्ता भइरहेको छ। बाजुरा जोड्ने मुख्य साँफे–मार्तडी सडक अवरुद्ध भएको ३ महिना हुँदा पनि सञ्चालनका लागि पहल हुन सकेको छैन। सडकको अम्कोट खण्डमा पहिरो खसेको थियो।
यस्तै जिल्लाको कोल्टी–मार्तडी सडक पनि बन्द भएको लामो समय भइसकेको छ। तर सडक खुलाउन खोज्दा पनि सम्भव नभएको बाजुराका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताए। ‘पटक–पटकको प्रयास असफल भएको छ,’ उनले भने, ‘अम्कोट खण्डमा पहिरो नै रोकिएको छैन, फेरि पनि सडक सञ्चालनका लागि मर्मतको काम सुरु गर्ने तयारी भइरहेको छ।’
बाजुरासँगै सुदूर पहाडका अछाम, डोटी, बझाङ लगायतका स्थानमा पनि अवरुद्ध भएका सडक सञ्चालन हुन सकेका छैनन्। ग्रामिण सडक खोल्न नसक्दा आवातजावातमा सास्ती बढेको छ त नै, त्यसका साथै खाद्यान्नको समेत अभाव हुन थालेको छ। तर बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले खाद्यान्न अभाव नभएको बताउँदै ग्रामीण सडकहरु पनि सञ्चालनमा रहेको दाबी गरे। तर जिल्ला अधिकाशंका ग्रामिण सडकहरु सञ्चालनमा भएपनि हिलोका कारण आवातजावत गर्न निकै मुस्किल भइरहेको छ।
पहाडी जिल्लामा सडक अवरुद्ध भएका कारण खाद्य संकट निम्तिने अवस्था सिर्जना भएको छ। सस्तोमा खाद्यान्न उपलब्ध गराउँदै आएको खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेडसँग पनि चामलको अभाव छ। बाजुराको कोल्टीमा रहेको डीपोमा चामल सकिएको एक महिना पुरा भएको छ भने मार्तडीमा रहेको शाखामा समेत एक हप्तादेखि खाद्यान्न अभाव छ। जसकाकारण बजारमा सास्तो खाद्यान्न पाउन समस्या भइरहेको छ। त्यसको प्रत्यक्ष मारमा विपन्न वर्गका नागरिक परेका छन्।
तर खाद्यान्न उपलब्धको समस्या टिट्टै समाधान हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीकी प्रमुख एन्जीला बस्नेतले बताइन्। ‘बाजुरामा खाद्यान्नको मौज्दात कम छ,’ उनले भनिन्, ‘त्यहाँ खाद्यान्न ढुवानी गराउनका लागि टेण्डर भइसकेको छ, आशयपत्रको सूचना सार्वजनिक गर्ने तयारी भइरहेको छ।’ अन्य पहाडी जिल्लामा भने खाद्यान्न अभाव नभएको उनले बताइन्।