सधैं हुन्छ सवारी चेकिङ, वर्षौ कुर्नुपर्छ लाइसेन्स पाउन
धनगढीः सुदूरपश्चिममा सवारी चालक अनुमती पत्र(लाइसेन्स) वितरणमा ढिलाई हुँदा समस्या भइरहेको छ। सवारी साधन प्रयोगकर्ताको संख्या बर्सेनी बढ्दै गए पनि सवारी चालक अनुमतीपत्र वितरणमा भने यातायात कार्यालयले ढिलाई गर्दै आएको हो।
यातायात व्यवस्था कार्यालय प्रदेश सरकार मातहत आएपछि लाइसेन्स वितरणको काम द्रुत गतिमा हुन सकेको छैन। अनुमती पत्रका लागि आवेदन दिएकाहरुले एक वर्षसम्म लिखित परीक्षा समेत दिन पाएका छैनन्।
हालसम्म लाइसेन्सका लागि आवेदन दिएका मध्ये ६ हजार ३० जनाले लिखित दिन नपाएका हुन् भने ५ हजार ८ सय ६६ जनाले लिखित परीक्षा उत्तिर्ण गरेपनि ट्रायल दिन पाएका छैनन्। लामो समयसम्म लाइसेन्स नै वितरण नभएपछि प्रहरी चेकिङका कारण हैरान भएको धनगढीका स्थानीय पवन जोशीले बताए। ‘लामो समयदेखि आवेदन दिँदा पनि यातायात कार्यालय लाइसेन्स वितरण गरिरहेको छैन,’ उनले भने, ‘लाइसेन्स वितरण नहुँदा प्रहरी चेकिङका कारण समस्या भइरहेको छ।’ सरोकारवाला निकायले उक्त समस्या छिटो समाधान गर्नुपर्ने उनको माग छ।
यातायात व्यवस्था कार्यालय धनगढीमा मात्रै गत आर्थिक वर्ष २०७७/७८ मा १८ हजार ३ सय ७८ सवारी दर्ता भएका छन्। जसमा सबैभन्दा बढी निजी मोटरसाइकल तथा स्कुटी १४ हजार ३ सय ३५ दर्ता भएको तथ्यांक यातायातसँग छ। अन्य सवारीको हकमा निजी ट्याक्टर र पावरटेलर १ हजार २१, निजी टेम्पो र इरिक्सा ७ सय ६५, सार्वजनिक टेम्पो र इरिक्सा ६ सय ९७, निजी बस ट्रक, टिपर, जेसिवी ३ सय १५, भाडाका बस, टिपर र ट्रक ३ सय ५२ गत वर्षदेखि सञ्चालनमा आएका छन्।
यातायात व्यवस्था कार्यालय धनगढीमा गत वर्ष १८ हजारभन्दा बढी सवारी दर्ता भए पनि ८ हजार १ सय ५६ जनाले मात्रै लाइसेन्स पाएका छन्। जसका कारण चालकहरुले ट्राफिक प्रहरीको हैरानी खेप्नु परेको छ। लाइसेन्स वितरण गर्ने काम यातायात छिट्टै गर्नुपर्ने प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तिरियाका प्रमुख तथा प्रहरी उपरीक्षक बामदेव गौतमले बताए। ‘ट्रायल चेक गर्न मात्रै ट्राफिक प्रहरी जाने हो,’ प्रहरी उपरीक्षक गौतमले भने, ‘लाइसेन्स जारी गर्ने काम यातायातको हो। कोभिडपछि बन्द भएको अहिलेसम्म खुलेको छैन। सवारी चालकहरुले पनि लाइसेन्स खोल्नुपर्यो भन्छन्। प्रहरीलाई दुःख छ।’
धमाधम सवारी दर्ता गर्ने यातायात व्यवस्था कार्यालय लाइसेन्स वितरणमा भने उदासिन देखिएको छ। प्रदेश सरकार, यतायात व्यवस्था कार्यालय लगायतका अन्य सरोकार राख्ने निकायको वेवास्ता कारण लाइसेन्स पाउनका लागि एक वर्षभन्दा बढी समय पर्खिनुपर्ने बाध्यता छ। प्राविधिक सहयोग गर्दै आएको यातायात व्यवस्था विभागमा लाइसेन्स छाप्ने मेशिन एउटै मात्र भएका कारण समय लाग्ने गरेको दाबी यातायात व्यवस्था कार्यालय धनगढीका प्रमुख लक्ष्मण शाहको छ। ‘यसको गति बढाउनका लागि सम्बन्धित मन्त्रालयले हेर्नुपर्छ,’ उनले भने, ‘केन्द्रमा लाइसेन्स छाप्ने मेशिन एक मात्र हुँदा ढिलाइ भइरहेको छ। गुनासो हामीले सुन्नुपर्छ।’
यसरी लाइसेन्स वितरणमा हुने ढिलाइका कारण दुर्घटनामा पर्नेहरु पनि बिमाबापतको सुविधा पाउनबाट बञ्चित भइरहेको गुनासो बढेको छ।