७ वर्षदेखि अधुरो धनगढी–राजघाट पुलमा आवागमन ठप्प
धनगढीः सात वर्षदेखि अधुरो धनगढी–राजघाट पुलमा बाढीले क्षति पुगाएपछि आवातजावात ठप्प भएको छ। बिहीबार राति मोहना नदीमा आएको बढीले निर्माणाधिन धनगढी–राजघाट पुलसंगैको माटोले भरान गरिएको लिंक रोड बगाएपछि आवातजावात ठप्प भएको हो। पुलको आधाभन्दा बढी काम सम्पन्न भएपछि पैदल यात्रीसँगै साइकल र मोटरसाइकल यात्रीलाई नदी वारपार गर्न सजिलो भएको थियो।
साउनको पहिलो सातामै आएको बाढीका कारण मोहना नदीले धार बदल्ने संकेत देखिएपछि उक्त पुल प्रयोगविहीन हुने भन्दै स्थानीय आन्दोलित भएका थिए। अहिले आएर पुलमा आवागमनका लागि भरान गरिएको माटो बगाएपछि पुल प्रयोगविहीन भएको कञ्चनपुर राजघाटका स्थानीय दीपेश घर्तीले बताए। ‘निर्माण व्यवसायीलाई कारबाही गर्नुपर्छ। पुल निर्माणको काम पनि सम्पन्न गर्नुपर्छ,’ उनले भने, ‘अब जनताले दुःख सहनेवाला छैनन्। ठेकेदारले जति बाहान बनाएपनि जनताले छोड्दैनन्।’
स्थानीयले बाढीको प्रभाव रोक्नका लागि सरोकारवाला निकायलाई समयमै खबरदारी गरेको भएपनि निर्माण कम्पनीको उदासिनताका कारण अहिले धनगढीसँगको सम्बन्ध विच्छेद भएको बताएका छन्। विगतदेखि नै काममा लापरबाही गर्दै आएको कम्पनीलाई आयोजना कार्यालयले पनि संरक्षण गरेको आरोप राजघाटका अर्का स्थानीय करनबहादुर महराको छ। ‘ठेकेदारकै लापरबाहीले गर्दा पुलको माटो बगाएको हो,’ उनले भने, ‘हामीलाई आवातजावत गर्न सजिलो हुने बाटो हो यो। यो बाटो नै बन्द भएपछि कृष्णपुरका सबै स्थानीयलाई सास्ती भएको छ।’
कञ्चनपुरको राजघाट र आसपासका क्षेत्रका स्थानीयको दैनिकी धनगढीसँग जोडिएको छ। दैनिक उपभोग्य सामान खरिददेखि कृषि उपज बिक्री गर्न उक्त क्षेत्रका स्थानीय धनगढी आउने गरेका छन्। तर पक्की पुलमा आवागमन बन्द भएको अवस्थामा मोहना नदीमै निर्माण गरिएको स्काई फोल्डिङ पुलसमेत बाढीले बगाएपछि आवातजावात पूर्ण रुपमा ठप्प भएको राजघाटकै स्थानीय इन्द्रदेवी कुँवरले बताइन्। ‘राती निन्द्रा छैन। दिनमा भोक छैन। हामीले कसरी आउजाउ गर्ने,’ कुँवरले प्रश्न गरिन्।
सडक डिभिजन कार्यालय महेन्द्रनगरले मोहना नदीमा पर्ने उक्त पुल निर्माणका लागि ०७१ असार ३१ गते एलाइड एडभेञ्चरसँग ठेक्का सम्झौता गरेको थियो। ८ करोड ४२ लाखमा निर्माण सम्झौता भए पनि निर्धारित समयमा काम सम्पन्न गर्न एलाइड एडभेञ्चर असफल भएको थियो। पटकपटक थपिएको समयमा काम सम्पन्न गर्न नसकेको निर्माण कम्पनीले चरम लापरबाही गरिरहेको छ। काम सम्पन्न नहुँदै नदीले पुलको लिंकरोड बगाउँदा पनि निर्माण कम्पनी वेवास्ता गरिरहेको छ।
‘अस्थायी रुपमा नदी कटान रोक्ने काम त भएको थियो त्यो प्रभावकारी भएन,’ सडम डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी लक्ष्मणदत्त जोशीले भने, ‘अब निर्माण कम्पनीलाई पानीको सतह कम भएपछि त्यो ठाउँमा ग्याविनको काम गर्न लगाउछौ।’ धनगढी–राजघाटको सम्बन्ध विच्छेद भएपछि उक्त क्षेत्रका स्थानीले कञ्चनपुरको गुलरिया हुँदै अत्तरिया भएर धनगढी आउनु पर्ने बाध्यता सिर्जना भएको छ। गेटाको झोलुंगे पुल भएर पनि आवागमन जारी छ।