सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली प्रहरीले चेकिङको नाममा ‘कमाउ धन्दा’ चलाएको आरोप

फाइल फोटो
फाइल फोटो
२०७८ भदौ ७, ०६:५७ रोशन भट्ट

धनगढीः कैलालीमा सवारी साधन चेक जाँचको नाममा ट्राफिक तथा जनपद प्रहरीले कमाउ धन्दा चलाएको आरोप लागेको छ। मोटरसाइकल चालकहरुसँग कागजात चेकिङको नाममा कमाउ धन्दा चलाइएको आरोप लागेको हो।

विगतमा राजमार्गका विभिन्न जंगल र एकान्तमा बसेर चेकिङ गर्दै ट्राफिक प्रहरीले रकम असुल्ने गरेको गुनासो आउने गरेको थियो। तर पछिल्लो समय धनगढी लगायतका बजार क्षेत्रमै जनपद प्रहरीले पनि चेकिङको नाममा असुली गर्न थालेको आरोप लागेको हो।

 प्रहरीले जरिबाना काटेर रसिद नै नदिने गरेको स्थानीयले बताएका छन्। आफूले जरिबाना अनुसारको नगदी प्राप्त रसिद नपाएको गुनासो वीरेन्द्र चन्दको छ। उनले दिनेशखबरको समाचार सामाग्रीले लेखेका छन्, ‘गेटा पुलको पोष्टमा बिहान जानुस त एक हजारको नोट माग्छन्। छैन भन्दा ५ सय माग्छन्। पर्चा पनि दिदैनन्। पर्चा माग्दा एक हजार दिनुपर्छ भन्छन् तर ५ सयको मात्रै रसिद दिन्छन्।’

यस्तै प्रहरीले सवारी चेकजाँचको नाममा तर्साएर पनि असुली गर्ने गरेको आरोप योगेन्द्र किमाडीको छ। विगतका नेतृत्वले पनि असुली धन्दा चलाएको धारणा उनको छ। किमाडीले लेखेका छन्, ‘नेतृत्व परिवर्तन भएको रहेछ। तर्साएर असुली धन्दामा लागेका होलान्। बर्दी लगाएर केही प्रहरीले गुण्डागर्दी गर्ने गरेको त दुनियाँलाई थाहा छ। त्यसैको निरन्तरता होला।  प्रहरीले आफ्नै रबैयाले जनविश्वास गुमाइरहेको छ।’

यतिबेला नेपाली प्रहरी आफैले सुरु गरेको ‘प्रहरी मेरो साथी’ भन्ने नाराको समेत आलोचना भइरहेको छ। प्रहरीले आम सार्वसाधारणलाई दुश्मन झै व्यवहार गर्ने गरेको फेसबुकमा सरल संगम नाम गरेका पाठकले लेखेका छन्। ‘अब प्रहरी मेरो साथी होइन प्रहरी मेरो शासक भन्ने समय आयो’ उनले लेखेका छन्। 

सवारी जाँच गर्ने अधिकार ट्राफिक प्रहरीसँग मात्रै भएका कारण कारण पनि जनपद प्रहरीको विरोध हुन थालेको छ। ‘ट्राफिक प्रहरीको काम हो चेक गर्ने’ दीपक पन्तले दिनेशखबरको फेसबुकमा लेखेका छन्, ‘प्रहरीको काम सुरक्षा दिने हो।’
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस