सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा लकडाउन भएर रोजगारी गुमे, ५ लाख बढी नेपाली स्वदेश फर्किने अनुमान

भिड कुनैपनि बेला सीमामा पुग्न सक्ने भएपनि प्रदेशमा व्यवस्थापनको तयारी फितलो

२०७८ वैशाख १०, ०९:३१ सरेन जैरू

धनगढीः भारतका केही राज्यहरूमा लकडाउन भएर रोजगारी गुम्नथाले, झण्डै ५/६ लाख नेपाली स्वदेश फर्किने अनुमान गरिएको छ।

रोजगारीको लागि भारतका विभिन्न राज्य पुगेका नेपालीहरू लकडाउन भएर रोजगारी गुम्न थालेपछि अहिले ठूलो संख्यामा स्वदेश फर्किरहेका छन्। आउने दिनमा नेपाली सीमामा आइपुग्ने भिड अनियन्त्रित हुने देखिएको छ। 

तर सुदूरपश्चिम प्रदेशमा उनीहरूको परीक्षण गर्नेदेखि लिएर उनीहरूलाई क्वारेन्टिन र होल्डिङ्ग सेन्टरमा राख्ने व्यवस्थापनको तयारी भने निकै फितलो पाइएको छ।

भारतको राजधानी नयाँ दिल्ली र आसपासका क्षेत्र, गुजरात, महाराष्ट्र, केरला, तमिलनाडू, आन्द्र प्रदेश र उत्तर प्रदेशको लखनउ, कानपुर र आगरामा कोरोना भाइरस अहिले तीव्र गतिमा फैलिइरहेको छ। कोरोना रोकथाम तथा नियन्त्रणका लागि भारतको ती राज्यहरूमा कतै लकडाउन, त कतै निषेधाज्ञा जारी गरिएको छ। 

भारतमा प्रवासी नेपालीहरूको अवस्था
भारतमा नेपालीहरू होटल, रेष्टुरेन्ट, शपिङ्ग मललगायतका क्षेत्रहरूमा काम गर्ने गरेका छन् भने, कतिपय नेपालीहरू चाउमिन र ममका ठेलाहरू संचालन गर्दै आएका छन्।

अखिल भारत नेपाल एकता मञ्चका केन्द्रीय सचिव आरबी खड्काले भारतमा कोरोना भयावह बनेपछि नेपालीहरू रोगमरी र भोकमरीको त्रासले स्वदेश फर्किरहेको बताए। लकडाउन भएर रोजगारी गुम्न थालेपछि झण्डै ५/६ लाख नेपाली स्वदेश फर्किने अनुमान गरिएको छ। भारतमा कोरोना भाइरसको दोस्रो लहर सुरू भएपश्चात् मात्र झण्डै १५ सय नेपालीहरू कोभिड-१९ बाट संक्रमित भएका छन्। 

भारतको नयाँ दिल्लीमा लामो समयदेखि पत्रकारीता गर्दै आएका इन्द्रकमल जैरूले पछिल्लो एक साताको अवधिमा राजधानी नयाँ दिल्लीमा मात्र १० भन्दा बढी नेपालीहरूको कोभिडकै कारण ज्यान गएको छ बताए। येथेष्ट तथ्याङ्क नभएपनि समग्र भारतमा करिब १७/१८ जना नेपालीहरूले कोरोनाभाइरसका कारण ज्यान गुमाइसकेको उनको भनाई छ।

भारतमा संक्रमणसँगै मृत्यू दर पनि उच्च
भारतमा कोरोना भाइरस भयावह बनेको छ। पछिल्लो २४ घण्टामा मात्र ३ लाख ३२ हजार नयाँ संक्रमित थपिएका छन्। योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ करोड ६२ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा मात्र २ हजार २ सय ६३ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्। 

भारतका सरकारी अस्पतालहरू भरिभराउ छन्, अक्सिजनको अभाव खड्किएको छ भने, औषधीको समेत कमी हुन थालेको छ। 

सुदूरपश्चिम पनि संक्रमणको उच्च जोखिममा
धनगढी नजिक रहेको गौरीफन्टा नाकामा गरिएको एन्टिजेन परीक्षणमा दैनिक ५० जनाको हाराहारीमा कोरोना संक्रमित देखिरहेका छन्। अहिले नाकामा गरिएको कूल परीक्षणमा झण्डै १५ प्रतिशतमा कोरोना देखिन थालेको हो। भारतबाट ठूलो संख्यामा नेपालीहरू भित्रिए उनीहरूसँगै कोरोना पनि भित्रिएर विकराल रूप लिने निश्चित छ। तर प्रदेशमा व्यवस्थापनको तयारी भने फितलो छ। 

भारतबाट नेपालीहरू ठूलो भिड कुनैपनि बेला सीमामा आइपुग्न सक्ने भएपनि सुदूरपश्चिम प्रदेशमा उनीहरूको परीक्षण गर्नेदेखि लिएर उनीहरूलाई क्वारेन्टिन र होल्डिङ्ग सेन्टरमा राख्ने व्यवस्थापनको तयारी फितलो भएको भन्दै आलोचना हुने गरेको छ।

 

 

सरेन जैरू, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस