सुदूर नेपाललाई विश्वसँग जोड्दै

२५ जनाभन्दा बढी भेला नहुन प्रस्ताव गरिएका बेला सुदूरपश्चिममा भिडभाड बढ्दो

कोरोनाको दोस्रो लहर

२०७७ चैत्र २८, १२:३९ सरेन जैरू

धनगढीः कोरोना भाइरसको महामारी थप फैलिन नदिन नेपालमा स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्न र २५ जनाभन्दा बढी भेला नहुन प्रस्ताव गरेकै बेला सुदूरपश्चिममा भने लापरबाही गर्ने क्रम रोकिएको छैन। 

सुदूरपश्चिममा कोरोना संक्रमणको दोस्रो लहर सुरू भएर दैनिक संक्रमणको दरसमेत उकालो लागिरहेको बेला सभा, सम्मेलन र भीडभाड गर्ने व्यवहारमा झनै वृद्धि हुन थालेको छ। 

भारतसँगका सीमानाका अस्तव्यस्त एवम् भिडभाडयुक्त देखिन्छन्, जहाँ निगरानी तथा परीक्षण कमजोर पाइएको छ। बजारमा  मास्क तथा सेनिटाइजरको प्रयोग र सामाजिक दूरीको पालना जस्ता व्यवहारको पूर्ण बेवास्ता गरिएको पाइएको छ। 

स्वास्थ्य मन्त्रालयले नयाँ प्रकारको कोरोनाभाइरस तीव्र गतिमा फैलिन थालेको भन्दै शैक्षिक संस्था बन्द गर्न कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) लाई सिफारिस गरिसकेको छ। त्यस्तै २५ जनाभन्दा बढी भेला नहुनसमेत प्रस्ताव गरेको छ। 

अहिले नेपालमा देखिएका ‘यूके भेरिएन्ट’को कोरोना भाइरसबाट कम उमेर अर्थात् १८ वर्षमूनीका बालबालिकाहरूमा संक्रमणको उच्च जोखिम रहेकाले शैक्षिक संस्था बन्द गर्न प्रस्ताव गरिएको हो। तर विद्यालयहरूले भने विद्यालय बन्द गरेर मात्र कोरोना रोकथाम हुन नसक्ने बताएका छन्। 

एनप्याब्सन कैलालीका अध्यक्ष राजेन्द्र चापागाइँले पहिलेदेखिनै शैक्षिक सत्र निकै पछाडि परेको हुँदा अब बन्द गरे निजी विद्यालयहरू झनै मर्कामा पर्ने बताए। ‘विद्यालय बन्द गर्नुभन्दा पनि अन्य विकल्पहरू जस्तै सुरक्षाका मापदण्ड रोज्नुपर्छ’ उनले भने, ‘विद्यालय बन्द गरेर अन्य भीडभाडयुक्त स्थानहरूको बेवास्ता गरिए त्यसको कुनै औचित्य हुँदैन।’

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै विद्यालय बन्द गरेर अनलाईन कक्षा सञ्चालन गर्न सुझाएको छ। तर सुदूरपश्चिममा भने इन्टेरनेटको सहज पहुँच नभएका कारण अनलाइन कक्षा सम्भव नहुने बताइएको छ। 

प्याब्सन कैलालीका अध्यक्ष डिल्ली रेग्मीले काठमाण्डौँमा समेत इन्टरनेटको सहज पहुँच नभएको अवस्थामा सुदूरपश्चिमका ग्रामिण भेगमा त अनलाइन कक्षा झनै अवम्भव हुने बताए।

पछिल्लो समय सुदूरपश्चिममा पनि कम उमेर समूहका व्यक्तिहरू कोरोनाभाइरसबाट संक्रमित हुन थालेका छन्। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा पुस यता मात्र ९५ जना १८ वर्षभन्दा कम उमेरका व्यक्तिहरूमा कोरोना संक्रमणको पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

छिमेकी भारतमा कोभिड संक्रमण बढ्दो क्रममा रहेको बेला सुदूरपश्चिमका सीमानाकामा एन्टिजेन परीक्षण फितलो रहेको छ भने, संक्रमित देखिएकाहरूको समेत उचित व्यवास्थापन हुन नसकेको पाइएको छ। 

साथै प्रदेशमा कोरोना रोकथामको उपायहरू नत सरकारी संयन्त्रले अपनाएको छ, नत जनस्तरबाटै त्यसको पालना भएको पाइएको छ। 

सरेन जैरू, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस