बिदा दिने सरकारको निर्णय विपरित धनगढीका निजी विद्यालय सञ्चालन
धनगढीः मङ्गलबार धनगढीको वायु गुणस्तर सूचकांक (एक्यूआई) १ सय ८४ पुग्यो। चिकित्सकका अनुसार यो वायु मानव स्वास्थ्यका लागि अतिनै घातक हो। वायु गुणस्तर सूचकांक (एक्यूआई) १ सयभन्दा माथि गएमा त्यो मानव स्वास्थ्यका लागि हानिकारक बन्न थाल्दछ।
वायु प्रदूषणका कारण देशभरका विद्यालयमा बिदा दिने संघीय सरकारको निर्णय सुदूरपश्चिममा कार्यान्वयन हुन सकेको छैन। वायुमण्डलमा देखा परेको अस्वभाविक वातावरणीय परिस्थितिका कारण देशैभरीका विद्यालयमा ४ दिन सार्वजनिक बिदा दिइएका बेला प्रदेशको अस्थायी राजधानी धनगढीसहितका विभिन्न जिल्लामा मङ्गलबार पनि आंशिक रूपमा विद्यालय सञ्चालन भएका हुन्।
वार्षिक पढाई पूरा गर्नुपर्ने भन्दै धनगढीका केही निजी विद्यालयले पठनपाठन गरेका हुन्। तर चिकित्सकहरूले भने प्रदूषणबाट बच्न भीडभाडमा नजान नै उपुयक्त हुने बताएका छन्।
संघीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मङ्गलबारदेखि शुक्रबारसम्म देशैभरीका विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेपनि सुदूरपश्चिममा पूर्ण कार्यान्वयन हुन नसकेको हो।
वायु प्रदूषणका कारण विद्यालय बन्द गीरएपनि धनगढीसहित सुदूरपश्चिमका केही निजी क्याम्पस तथा विद्यालयहरूले बिदा नदिएका हुन्। धनगढीको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नास्ट), कैलाली मोडेल सेकेण्ड्री स्कूल, जेसिस एभरेष्ट इङ्गलिस सेकेण्ड्री स्कूल र ऐश्वर्य बहुमुखी क्याम्पसलगायतका विद्यालयहरूले विदा नदिएर पठनपाठन सञ्चालन गरेको पाइएको हो।
नास्ट कलेजका प्रबन्ध निर्देशक शिवहरी शर्मा मुडभरीले काठमाडौँ उपत्यकामा भएको प्रदूषणलाई आधार मानेर देशैभरी विद्यालय बन्द गर्नुको कुनै अर्थ नहुने बताए।
कोभिडका कारण विद्यालयहरूको पाठ्यक्रम निकै पछाडी परेको छ। जेठ महिनामा परीक्षा कार्यक्रम सञ्चालन गर्नुपर्ने र अहिले छोटो अवधिमा धेरै पाठ्यक्रम सिध्याउनुपर्ने भएकाले पनि विद्यालय बन्द गर्ने अवस्था नरहेको शैक्षिक संस्थाहरूले बताएका छन्।
कैलाली मोडेल सेकेण्ड्री स्कूलका प्रधानाध्यापक तपेन्द्रबहादुर सिंहले विद्यालय बन्द गरेर मात्र प्रदूषण नियन्त्रण नहुने भएकाले विद्यालयका साथसाथै कलकारखाना, गाडीमोटरसमेत बन्द गर्नुपर्ने बताए।
विज्ञप्तिमा पूर्व निर्धारित कार्यतालिकाअनुसार परीक्षा सञ्चालन गरिरहेका विश्वविद्यालयहरू तथा उच्च शिक्षा प्रदायक शैक्षिक संस्थाहरूले स्वास्थ्य सजगता अपनाउँदै परीक्षाका कार्यक्रम सञ्चालन गर्न सक्ने उल्लेख गरिएको छ।
जिल्ला शिक्षा समन्वय इकाइ कैलालीका शिक्षा अधिकृत प्रताब सिंह धामीले सोही छुटका कारण केही विद्यालयहरूले परीक्षा तथा पूर्व निर्धारित कार्यक्रमको लागि विद्यालय सञ्चालन गरेको बताए।
पछिल्लो समय धनगढीसहित सुदूरपश्चिमका विभिन्न शहरका वायु गुणस्तर सूचकांक पनि खराब हुँदै गएको पाइएको छ।
सेती प्रादेशिक अस्पतालका फिजिसियन डक्टर शेरबहादुर कमरले वायु प्रदूषणका बेला स्कूल साथै भीडभाड हुने ठाउँहरूबाट मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएको र सरूवा रोगको जोखिम पनि उच्च रहने भएकोले सावधानी अपनाउनु पर्ने सुझाव दिए।