कञ्चनपुरको गड्डाचौकी नाका खुलेपनि गौरीफन्टा नाकाबाट आउजाउ अझै सहज हुन सकेन
धनगढीः कञ्चनपुरको गड्डाचौकी नाका नेपालीका लागि खुला गरिएपनि गौरीफन्टा नाकामा भने रोक कायमै रहेको छ। भारतीय पक्षले गड्डाचौकीबाट नेपाली नागरिकलाई निर्वाध रूपमा आउजाउ गर्न दिएपछि स्थानीय खुसी भएका छन्।
तर गौरीफन्टा नाकाबाट भने नेपालीहरु अझै सहज रूपमा आउजाउ गर्न सकिरहेका छैनन्। यद्यपि रोजगारी, स्वास्थ्योपचार र शिक्षा लगायतका प्रयोजनका लागि दुवै नाकाबाट भारत जान कुनै छेकबार छैन।
सुदूरपश्चिमेलीहरूका लागि भारत आउजाउ गर्न गड्डाचौकी जति सहज छ, कञ्चनपुरकै अर्को नाका गौरीफन्टा भने त्यति सहज छैन। कोरोना कहरको झण्डै एक वर्षपछि कञ्चनपुरको गड्डाचौकी नाका शनिबारदेखि निर्वाध रूपमा खुलेको हो।
भारतीय पक्षले आफ्नो व्यापारिक फाइदाको लागि गड्डाचौकीबाट नेपालीहरूलाई सहज रूपमा आवतजावत गर्न दिन लागेको बताइएको छ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले भारतीय पक्षले आफ्नो फाइदाको लागि नेपालीहरूको आवागमन सहज बनाएको बताए। ुभारतीय पक्षले नेपालीहरूलाई भारत जानमा सहज गरेको होु, उनले भने, ुतर भारतीय नागरिकको हकमा भने प्रशासनबाट कुनै नीतिमा परिवर्तन भएको छैन।
सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये ५ जिल्लाले भारतलाई छोएको छ। कैलाली र कञ्चनपुरमा मात्र साना र ठूला गरि झण्डै ३० वटा नाकाहरू छन्। भारतले आफ्नो व्यापार वृद्धि गर्न नेपाली नागरिकको आवागमन सहज बनाएपनि भारतीय नागरिकहरूलाई नेपाल भित्रिन दिनमा प्रशासनले कुनै चासो नदेखाएको गुनासो गरिएको छ।
नेपाल उद्योग वाणिज्य संघ कञ्चनपुरका अध्यक्ष जङ्ग मल्लले कोरोना महामारीपछि आन्तरिक पर्यटकहरूको आवागमनमा वृद्धि हुन लागेका बेला भारतीय नागरिकलाई पनि नेपाल भित्रिन दिनुपर्ने बताए।
व्यवसायीहरूले नाकामा सहज आवागमन गर्न र भारतीय नागरिकलाई स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गरि नेपाल भित्रिन दिन माग गर्दै आएको छ। गृह मन्त्रालयले मन्त्रीपरिषद्ले माघ ११ गते गरेको निर्णयका आधारमा सीमानाका पूर्ववत रूपमा खुला गरेको भन्ने समाचार सार्वजनिक भएका थिए। तर प्रशासनले भने गृह मन्त्रालयको निर्देशिका निकै कडा भएकोले भारतीयहरूलाई सहज रूपमा नेपाल भित्रिन दिन नसकिएको बताउने गरेको छ।
अहिले गौरीफन्टा नाकाबाट दैनिक ६ सयदेखि ७ सयको संख्यामा नेपाली नागरिक भारत जाने गरेका छन् भने, ४ सयदेखि ५ सयको संख्यामा नेपाली भारतबाट स्वदेश फर्किने गरेका छन्। नयाँ प्रकारको कोरोनाभाइरस रोक्न भारतीय रोकिएपनि सयौँको संख्यामा भारतबाट नेपाली नेपाल भित्रिन कुनै रोकतोक छैन। ती नाकाबाट दैनिक उपभोग्य वस्तुहरूको किनमेलका लागि नेपालीको आउजाउमा भने रोक कायमै रहेको छ।
कोरोना नियन्त्रणको जोखिम अझै कायमै रहेकाले नाका केही समयका लागि अझै बन्द गर्नुपर्ने एक पक्षको विचार रहेको छ भने, व्यवसायिक फाइदाका लागि नाका सहज गर्नुपर्ने अर्को पक्षको मत रहेको छ।