सुदूर नेपाललाई विश्वसँग जोड्दै

भन्सारको ढिलाइका कारण धनगढीका बजारमा तरकारीको मूल्य आकाशियो

२०७७ फाल्गुन ९, १२:३७ रोशन भट्ट

धनगढी: अहिले धनगढीका स्थानीय बजारमा दैनिक उपभोग्य वस्तु मूल्यबृद्धिको समस्या आम नगरवासी भोग्दै आएका छन्। केही खाद्यवस्तुसँगै तरकारी र फलफूलको मुल्यमा समेत व्यापारीहरुले मनलाग्दी रुपमा मूल्यबृद्धि गरिदिएको पाइएको छ। 

अहिले भारतबाट काउली, टमाटर र बन्दागोभी बाहेक आलु, प्याज, खुर्सानी, फर्सि, मुला, गाजर लगायत तरकारी तथा फलफूल ल्याउने गरिएको छ।

तर ती तरकारी तथा फलफुल भन्सार कार्यालयबाट बजारसम्म पुगाउन नै एकदेखि ३ दिनसम्म लाग्ने गरेको धनगढीका तरकारी व्यापारी भवान सिंह चैसीरले बताए। ‘आधा तरकारी र फलफूल त बाटोमै कुहिने गरेको छ,’ उनले भने, ‘सोही कारण फलफूल र तरकारीको मूल्य बृद्धि गर्नुपरेको हो।’

भन्सारबाट पास गर्न एक दिन र भारतीय कष्टमले समेत दुई दिन जति प्रक्रियागत कारण देखाउँदै सामान होल्ड गरिदिने गरेको व्यापारीहरुको गुनासो छ।

त्यसैले बजारसम्म ल्याइ पुगाउन कम्तीमा पनि तीन दिन कुर्नुपर्ने अवस्था रहेपनि त्यो बाध्यता अन्त्य गर्न सरोकारवाला निकाय गम्भीर नबनेको अर्का तरकारी व्यापारी नन्दलाल भट्टले बताए। ‘यसको निकै समस्या छ। हामीले पटक–पटक यो समस्या समाधान गर्न आग्रह गर्दा पनि सरकारी निकायबाट वेवास्ता हुदै आएको छ’  उनले भने।  

विषादी परीक्षण गर्ने प्रयोगशाला एउटा मात्रै 
भारतबाट आउने तरकारी र फलफूलमा विषादी अनिवार्य रुपमा परीक्षण गर्नुपर्ने कानूनी प्रावधान राखिएको छ। 

तर सुदूरपश्चिममा विषादी परीक्षण गर्ने प्रयोगशाला एउटा मात्र छ। त्रिनगर र गड्डाचौकी नाकाबाट आउने तरकारीको विषादी परीक्षण गर्नका लागि अत्तरियामा रहेको प्रयोगशालामा पुगाउनुपर्ने कैलाली भन्सार कार्यालयका सूचना अधिकारी परमानन्द जोशीले बताए। ‘हाम्रो तर्फबाट ढिलाइ हुने गरेको छैन। केही ढिलाइ भारतीय कस्टमबाट नै भइरहेको छ’ उनले भने।  

नाका र प्रयोगशालाको भैगोलिक दुरी र कर्मचारी अभाव लगायतकाले समस्या भइरहेको भन्दै भन्सार कार्यालय पन्छीने गरेको छ। 

यसअघी विषादी परीक्षण गर्ने प्रयोगशाला भन्सार कार्यालय नजिकै स्थापना गर्ने तयारी थालिएको चर्चा समेत चलेको थियो। तर अहिलेसम्म कुनै प्रक्रिया सुरु थालिएको छैन। 

भन्सार कार्यालयले भने त्यसमा स्थानीय तह र प्रदेश सरकारले असहयोग गरेको बताउँदै आएको छ। 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस