सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा एउटै कर्मचारीलाई दोहोरो जिम्मेवारी

२०७७ फाल्गुन १, ०७:५४ रोशन भट्ट

धनगढीः प्रादेशिक यातायात पूर्वाधार निर्देशनालयका प्रमुख प्रेमदत्त भट्टले सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत अन्तगतकै दुई वटा निकायको जिम्मेवारी सम्हाले छन्।

निर्देशक भट्टलाई मन्त्रालयकै प्रदेश सडक महाशाखाको समेत जिम्मेवारी दिइएपछि कार्य सम्पादनमा समस्या खेप्नुपरेको छ। 

‘कर्मचारी अभावका कारण दोहोरो जिम्मेवारी समाल्नु गरेका हो,’ भट्टले भने, ‘म सँगकै अन्य कर्मचारी पनि दुई कार्यालयको भूमिकामा छन्।’

दोहोरो जिम्मेवारीकै कारण दिपायलमा रहेको यातायात निर्देशनालयको धनगढीमा भाडामा सम्पर्क कार्यालय सञ्चालन गर्नुपरेको दाबी समेत भट्टले गर्दै आएका छन्। 

प्रदेशको सामाजिक विकास मन्त्रालयको नीति, कानून, मापदण्ड, योजना तथा जनस्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्र कार्कीलाई पनि दोहोरो जिम्मेवारी दिइएको छ। मन्त्रालयका प्रवक्ता समेत रहेका कार्कीलाई प्रदेश स्वास्थ्य तालिम केन्द्रको प्रमुखका रुपमा पनि कार्यरत रहेका छन्। सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी विभाग प्रमुख डा. जगदिश जोशी पनि सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुखको भूमिकामा काम गर्दै आएका छन्। 

यसरी एउटै व्यक्तिलाई दोहोरो जिम्मेवारी दिदा कार्य सम्पादन प्रभावित भएर व्ययभार बढ्दा समेत सरकार पदपुर्ति गर्न ढिलाइ गरिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रदेशसभा सदस्य गोविन्द बोहराले बताए।

‘एक जनालाई दोहोरो जिम्मेवारी दिन मिल्दैन, यसले कार्य सम्पादनमा समस्या गर्छ,’ उनले भने, ‘हामीले पटक–पटक यस विषयमा कुरा उठाउँदा पनि सरकारले वेवास्ता गरिरहेको छ।’

सुदूरपश्चिम प्रदेश सरकारले भने कर्मचारी अभावका कारण स्वीकृत दरबन्दीअनुसार कर्मचारी पदपुर्ति नहुँदा कर्मचारीलाई दोहोरो जिम्मेवारी दिएको दाबी गरिरहेको छ। 

‘कर्मचारी अभावका कारण दोहोरो जिम्मेवारी दिइएको हो,’ सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले भने, ‘आवश्यक पदपुर्ति भएपछि दोहोरो भूमिकामा रहेका साथीहरुलाई हटाउछौं।’

सुदूरपश्चिम सरकारले प्रदेश लोकसेवा ऐन पारित गरेको छ। तर आयोग गठन गर्न ढिलाइ गरिएपछि थप समस्या सिर्जना भएको कर्मचारीहरुको भनाइ छ। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस