बैतडेली भाषामा मात्रै टिकटक बनाउने कञ्चनपुरका विकास, भाइरल बन्न होइन भाषा संरक्षण गर्न
धनगढी: गत पुस ९ गते उनको टिकटक एकाउन्टमा पहिलो भिडिओ पोस्ट भयो।
जसमा उनले भनेका छन्, ‘पहाडी भाषा सुन्नमा ठिक लागन्छी, बोल्लमा ठिक लागन्छी तर लेख्यो पढ्डाकी हाम्लाई असजी लागन्छ। तब आजबठेइ मु जेलई कुरडी आफ्नो मुक्तकहरु, केइ पहाडी भनाईहरु हुन्ना जे फेसबुकमा पोष्ट गरुलो उनलाई म आफई पढीबरे म आफ्नो सुमधुर आवाजमी वाचन गद्देभयु, सुणदिया।’
यसको मतलब ‘पश्चिमेली भाषा(बैतडी) सुन्नमा तथा बोल्नमा राम्रो लाग्छ तर लेखेको पढ्नमा चाहि समस्या हुन्छ। त्यसैले आजबाट फेसबुकमा भएका जुनसुकै कुराहरु जस्तै मुक्तक तथा पहाडी भनाईहरुलाई म आफै पढेर सुनाउनेछु, सुनीदिनुहोला।’
उनले उक्त भिडिओमा ५० फ्लोअर बनाउन समेत आग्रह गरेका थिए।
०००
पुख्र्यौली घर बैतडीको दोगडाकेदार गाउँपालिका–४ भएका विकास भट्ट आजभोलि कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ मझगाउँ बस्दै आएका छन्। अहेबको पढाई सक्काएका विकासले केही वर्ष महाकाली अस्पतालमा काम गरे। त्यसपश्चात उनी अहिले बैतडीको दशरथचन्द नगरपालिकाको वडा नम्बर ६ मा रहेको थालीगढा स्वास्थ्य चौकीमा अहेब पदमा कार्यरत छन्।
आफ्नो भाषा संस्कृतिलाई माया गर्ने उनी धेरैजसो बैतडेली भाषामै कुराकानी गर्छन। ‘आजभोलि भाषा संरक्षण तथा प्रवद्र्धनका नाममा विभिन्न कार्यक्रम तथा समिति गठन हुने गर्छन तर त्यहा युवाहरुको समभागिता एकदमै न्यून रहन्छ’ उनी भन्छन, ‘मैलै युवाहरु समाजिक सञ्जालमा एकदमै सक्रिय भएको देखे। त्यसैले मैलै सामजिक सञ्जालबाटै यो भाषा जोगाउने अभियान थाल्ने निर्णय गरेको थिए।’
विकासले सामाजिक सञ्जाल फेसबुकमा बैतडेली भाषामा मुक्तक तथा पोस्टहरु गर्दैआएका थिए। तर बैतडी भाषामा लेखेको पढ्न समस्या भइरहेको भन्दै गुनासो आएपछि आफुले पढेरै सुनाउने योजना बनाएर टिकटक एकाउन्ट खोलेको उनले बताए। ‘त्यहाँ उटपट्याङ भिडिओहरु भाइरल हुने रहेछन् तर मलाई भाइरल हुनुछैन। मैले बोलेको भाषा युवाहरुमा पुगोस भन्नका लागि टिकटक बनाए। फ्लोअर कमै भएपनि आफ्नो भाषामा गरिरहेको छ, यसमा मलाई गर्व लाग्छ’ उनले भने।
उमेरले २४ वर्ष मात्रै पुगेका उनी मुक्तक लेखनमा समेत रुचि राख्ने भएकाले उनको टिकटकमा बैतडेली भाषामा वाचन गरिएका विभिन्न हास्यास्पद मुक्तक हेर्न सकिन्छ। उनले धेरैजसो मुक्तकमा ‘सुईटी जी’ भनेर वाचन गर्छन तर ती सुईटी जी भनेकी को हुन त्यो भने उनले खुलाएनन्। हप्ताको २/३ वटा भिडिओ पोस्ट गर्ने उनी विदाको दिन शनिबार मात्रै सुटिङ गर्ने गरेको सुनाउँछन्।
उनका धेरैजसो भिडिओ १५ हजार बढीले हेरेका छन्। अहिले उनका ३ हजार ३ सय बढी फ्लोअर पुगेका छन् भने हालसम्म ५७ हजार भन्दा बढी लाइक उनले पाएका छन्।
उनका भिडिओ हेर्न यहाँ क्लिक गर्नुस