सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मन्त्री सुवेदीको पूर्वाधार कार्यक्रम, १३ लाखमा बन्यो यस्तो 'फनपार्क' !

२०७७ माघ ७, ०४:३४ रोशन भट्ट

अत्तरियाः गोदावरी नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा वडा नम्बर ३ मा पर्ने नवज्योती महिला सामुदायिक वनमा फनपार्क निर्माणका लागि १० लाख खर्च गरेर विस्तृत परियोजना प्रतिवेदन बनाएको थियो। गत आर्थिक वर्ष २०७६/७७ मा सोही फनपार्क निर्माणको योजनामा सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको प्रदेश पूर्वाधार विकास कार्यक्रम अन्तरगत १५ लाख बजेट छुट्याइएको थियो।

त्यसमध्ये १३ लाख ३४ हजार बजेट खर्च भइसकेको छ। ‘पार्क निर्माण हुने क्षेत्रमा तारवार गरिएको छ भने डीपीआर समेत तयार पारिएको छ।,’ गोदावरी नगरपालिका– ३ का अध्यक्ष मोहनबहादुर खत्रीले दिनेशखबरसँग भने, ‘नगरपालिकाको १० लाख र प्रदेशको १५ गरि २५ लाख भन्दा बढी खर्च भइसकेको छ।’

सामुदायिक वनले सहमती नदिदा नदिदै जनप्रतिनिधिहरुको दबाबमा सो फनपार्क निर्माणको योजना छनोट भएको खुलेको छ। जबजस्ती कार्यान्वयन गरिएको फनपार्क निर्माणको योजनाका लागि भण्डै ५ विघामा रहेका विरुवा तथा बुट्ट्यान काट्नुपर्ने देखिएको सामुदायिक वनकी अध्यक्ष धनेश्वरी पाण्डेयले बताइन्।

‘तारबार गर्दा वनको सिमान पनि छुट्यो भन्दा वेवास्ता गरियो,’ उनले भनिन्, ‘हामीलाई दबाब दिएर योजना कार्यान्वयन गरिएको हो।’ वनको स्वीकृत बिना कार्यान्वयन गरिएको उक्त योजनामा सामाजिक विकास मन्त्री सुवेदीको प्रदेश पूर्वाधार कार्यक्रमबाट ७ सय मिटर क्षेत्रमा तारबार गरिएको छ।

यसअघि नगरपालिकाको बजेट समेत डीपीआर तयार पारिएको थियो। तर सामुदायिक वनले स्थानीय जनप्रतिनिधीको दबाबमा सहमती दिएपनि कानून अनुसार डिभिजन वन कार्यालयबाट स्वीकृती नै नलिएर योजना कार्यान्वयन गरेको खुलेको छ।

‘वन क्षेत्रमा कुनै पनि संचरना निर्माण गर्दा स्वीकृती आवश्यक पर्छ,’ डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कडेलले भने, ‘गोदावरीमा सामुदायिक वन भित्र निर्माण हुने फनपार्कका लागि अहिलेसम्म स्वीकृती दिइएको छैंन्।’

सोही फनपार्कको योजनामा सामुदायिक वनले तारबार गरेकै स्थानमा पुनः तारबार गर्दै १३ लाख बजेट भुक्तानी लिइएको छ। तर उपभोक्ता समितिका अध्यक्ष प्रेम मल्ल भने पुरानो तरबार टुटफुट भएका कारण स्टमेटअनुसार नै पुनः तरबार गरिएको बताउँछन्। वनको स्वीकृती बिना छनोट गरिएको योजना अगाडि नबढाउनुपर्नेमा सहरी विकास तथा भवन निर्माण कार्यालयले भने बजेट भुक्तानी गरिसकेको छ।

अहिले आएर कार्यालयले स्टमेटअनुसार काम भएको भन्दै भुक्तानी दिइएको दाबी गर्न थालेको छ। ‘त्यहाँ फनपार्कको योजनामा पोल गाड्ने तरबार गर्ने काम थियो त्यो सम्पन्न भएपछि भुक्तानी दिइएको हो,’ सहरी विकास तथा भवन कार्यालयका प्रमुख ईन्द्र स्वाँरले भने।

तर सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले भने सो योजनाबारे अनभिज्ञता प्रकट गरेका छन्। ‘काम नभएको पनि हुन सक्छ त्यसको बारेमा म बुझ्छु,’ मन्त्री सुवेदीले भने।

पूर्वाधार विकासका कार्यक्रम कार्यकर्तामुखी बनेका आरोप लाग्ने गरेका बेला मन्त्री सुवेदीको फनपार्क निर्माणको योजनामा तारबार गरेरै १३ लाख अनियमितता गरिएको आरोप लागेको छ। जबकी त्यो योजना वनको स्वीकृती बिना कार्यान्वयन गरिएको छ।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस