धनगढीमा फितलो सुरक्षा व्यवस्थाले चोरी बढेको नगरवासीको गुनासो
धनगढीः सोमबार साँझ मोहनापुल अत्तरिया ६ लेन सडक खण्डस्थित बोराडाँडीको न्यू विशाल भण्डार किराना पसलमा प्रहरी पोशाक जस्तो देखिने कपडा लगाएर मोटरसाइकलमा आएका युवकले पेस्तोल देखाएर लुटपाट गरे।
व्यापारी यादवप्रसाद भट्टले आफ्नै घरमा सञ्चालन गरेको किराना पसलको गल्लामा भएको ५२ हजार रुपैयाँ नगदसहित रिचार्ज कार्ड पेस्तोल र खुकुरी देखाएर लुटेराले लगेको बताए।
रिर्चाज किन्ने बाहानमा पसलमा पुगेको लुटेराले कन्चटमा पेस्तोल राखेर नगद रकम र रिचार्ज कार्ड लगेको उनले बताएका छन्।
धनगढी उप–महानगरपालिका –३ का चेतराज जोशीको घरको ताल्चा फुटाएर दुई लाख नगदसहित गत असोज १९ गते करिब ३० तोला सुन चोरी भयो। घरमा कोही नभएको मौका छोपेर उक्त सुन र नगद चोरी भएको प्रहरीले जनाएको छ।
चोरीमा संलग्न व्यक्तिहरुको पहिचान गरि पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षकको कमाण्डमा टोली परिचालन गरेको साढे दुई महिना भयो। तर अहिलेसम्म घटनामा संलग्नहरुको पहिचान हुन नसकेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले बताए।
‘सो घटनाको विभिन्न कोणबाट अनुसन्धान भईरहेको छ,’ उनले भने। यी दुई त प्रतिनिधी उदाहरण मात्रै हुन्। प्रदेशको अस्थायी राजधानी रहेको धनगढीमा मात्रै दैनिक जसो मोटरसाइकल चोरी गर्ने, घर तथा पसलका ताला तोडेर नगद सहित सामान चोरी गर्ने, पानी तान्ने मोटर लगायतका अन्य चोरीका घटना सार्वजनिक भईरहेका छन्।
कतिपय घटनाहरु प्रहरी सफल भएको देखिएपनि अधिकांश चोरी मुद्दाको हकमा भने प्रहरी अपराधीको नजिक पुग्न सकेको छैन्। पक्राउ परेकाहरुलाई समेत सम्झाइबुझाइ गरेर छोडिदा फेरि उनीहरु नै चोरी सक्रिय रहेको पाइन्छ।
‘धेरै चोरी घटनामा संलग्न भएकाहरु पक्राउ परेका छन्,’ प्रहरी उपरीक्षक जबराले भने, ‘कतिपय घटनाको हममा अहिले पनि अनुसन्धान भइरहेको छ।’
प्रदेश सकरारका मुख्यमन्त्री र मन्त्रीहरु, प्रदेश प्रहरीका उच्च पदस्थ अधिकारीहरु बस्ने धनगढीमै चोरीका घटना बढ्दै गएपनि नियन्त्रणमा वेवास्ता गरिएको आरोप लागेको छ।
हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय हुँदा समेत प्रहरी प्रशासन निरीह बनेपछि त्रसित बनाएको गुनासो नगरबासीले गरेका छन्।