धनगढी जाखौर ताल झन कुरुप कि, सिंगारिँदै ? सफाइमा लगानी बालुवामा पानी
धनगढीः २०७५ सालको मंसिर ८ गते धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वडले जाखौर ताल सरसफाइ अभियान थाले। प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत ताल सफाइ अभियान थालियो।
कार्यक्रम अन्तरगत प्रत्येक शनिबार तालको जलकुम्भी हटाउने अभियानले केही समय निरन्तरता पाएपनि अहिले रोकिएको हो। वनस्पति कार्यालय कैलालीले माछा पालनमा रोक लगाएसँगै जाखोर तालमा जलकुम्भी फैलिन थालेपछि ताल क्षेत्र कुरुप देखिन थालेको छ।
तर धनगढी उपमहानगरपालिका इन्जिनीयर दिजराज भट्टले ताल सफाइ र संरक्षणको अभियानलाई निरन्तरता दिएको दाबी गरेका छन्।
धनगढी उप–महानगरपालिकाले तयार परेको गुरुयोजना अन्तरगत पहिलो चरणमा तालको पानी संरक्षणका लागि डिल निर्माण गर्ने, सोही डिलको वरिपरी पदमार्ग निर्माण गर्ने र सोलार बत्ती जडान गर्ने योजना थियो। तर अहिलेसम्म कुनैपनि कामले पूर्णता पाएको छैन। गुरुयोजना अन्तरगत नै दास्रो चरणमा चेड्रेन पार्क निर्माण गर्ने, पिकनिक स्पट निर्माण गर्ने, शौचालय निर्माण गर्नेलगायतका योजनाहरु पनि अलपत्र परेका छन्।
गुरुयोजना
‘गुरुयोजना अन्तरगत पहिलो चरणको काम भईरहेको छ,’ इन्जिनीयर भट्टले भने, ‘कोभिड–१९ का कारण केही ढिलाइ भयो। अब निरन्तरता पाउँछ।’
ताल क्षेत्रको विकासका लागि ३५ करोड बजेट आवश्यक पर्ने स्टिमेट बनाइएको थियो। सोही अनुसार गत वर्ष मात्रै ३ वर्षे योजना बनाएर ४ करोड बजेटमा कामको सुरुवात गरेको छ। तर गति पाउन सकेको छैन्।
जाखोर ताल वनस्पती अनुसन्धान केन्द्र कैलालीको मातहतमा रहेको छ। १ सय ४९ हेक्टर भन्दा बढी क्षेत्रमा फैलिएको उद्यानभित्रै १२ हेक्टर क्षेत्रमा ३ वटा ताल समेत रहेका छन्। जसमा सबै भन्दा ठूलो जाखोर ताल रहेको छ, भने २ साना ताल समेत रहेका छन्। २०५६ सालदेखि उद्यानसँगै तालको संरक्षणमा बजेट खर्च हुँदै आएको भएपनि उपलब्धी भने देखिएको छैन।
सो क्षेत्रको विकासका लागि प्रत्यक वर्ष २ करोडको हाराहारीमा बजेट खर्च हुने गरेको छ। तर संरक्षणमा न्यून बजेट खर्च भईरहेको वनस्पत्ति अनुसन्धान केन्द्र कैलालीका प्रमुख डम्बरबहादुर कार्कीले बताए। ‘विभागले तोके अनुसारको काम मात्रै हामीले गर्दै आएका छौँ,’ उनले भने।
जाखौर ताल ऐतिहासिक, जैविक र धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ। कैलाली जिल्लाको पर्यटन गन्तव्यभित्र पनि ताललाई समावेश गरिएको छ। धनगढी बजार सँगै जोडिएको छ। ताल अवलोकनकर्ता र पिकनिक जानेहरुको लागि आकर्षक गन्तव्य हो। तर व्यवस्थापन प्रभावकारी नहुुँदा तालको सुन्दरता कुरुप बनेको छ।