सुदूर नेपाललाई विश्वसँग जोड्दै

झूटो प्रेम वा विवाहको प्रलोभन मानव बेचबिखनको एक कारण

के कैलाली-कञ्चनपुरबाट मानव बेचबिखन घटेकै हो?

२०७७ पुष ३, ०६:१२ रोशन भट्ट

धनगढी: सुदूरपश्चिम तराईका कैलाली र कञ्चनपुर जिल्लाबाट हुने मानव बेचबिखनको क्रम पोहरको तुलनामा केही घटेको प्रहरी तथ्याङ्कले देखाएको छ।

चोरी नाकाबाट मानव बेचबिखन भइरहेको हुन सक्ने आशङ्का कायमै छ। तर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार केही वर्षयता मानव बेचबिखनका घटनाहरुमा कमी आएको देख्न सकिन्छ। 

आर्थिक वर्ष २०७३/७४ मा १२, आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा १३/१३ र आर्थिक वर्ष २०७६/७७ मा ६ वटा मात्रै मानवबेचबिखनको मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्कमा उल्लेख छ। 

भारतसँग खुल्ला सिमाना जोडिएको जिल्ला भएपनि प्रहरीको संक्रियता र गैरसरकारी क्षेत्रको निगरानीको कारण मानव बेचबिखनका घटनामा कमी आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए।
"सर्वसाधारणमा चेतनाको विकास भएसँगै मानव बेचबिखनका घटनाहरू कम भएको ठान्न सकिन्छ," उनले भने।

भारतसँगै सिमाना जोडिएको कैलालीमा समेत कोरोना कहरपछि मानव बेचबिखनका घटनाहरु कम भएको ठानिएको छ। कैलालीमा आर्थिक वर्ष २०७३/७४ मा ४, आर्थिक २०७४/७५ मा ९, आर्थिक वर्ष २०७५/७६ मा २०, आर्थिक वर्ष २०७६/७७ मा ११ र चालु वर्षको मंसिरसम्म ६ वटा मुद्दा दर्ता भएको प्रहरी जनाएको छ।

तर रोजगारीको प्रलोभन देखाई वा झूटा प्रेममा पारी चोरी बाटो लुकिछिपी मानव बेचबिखन तथा ओसारपसार भइरहेको हुनसक्ने चिन्ता कायमै रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंहले बताए।
"विगत केही वर्षको तथ्याङ्क हेर्दा मानव बेचबिखन घटेको देख्न सकिन्छ," उनले भने, "छदैछैन भन्न चाही सकिन्न।"
अर्कोतिर देहव्यापारका कसुरमा पक्राउ पर्ने कतिपय मानिसविरुद्ध पनि घटनाको प्रकृति हेरी मानवबेचबिखनकै मुद्दा दायर गर्ने गरिएको प्रहरीले जनाएको छ। तर पछिल्लो समय कैलाली कञ्चनपुरमा देहव्यापारमा संलग्न हुनेको संख्यामा कमी आएको प्रहरीको दाबी छ।

मानव बेचबिखनमा संलग्न भएका दोषीलाई लामो कैद सजाय हुने कानुनी व्यववस्था छ। तर देहव्यापारमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरु मध्ये केहीलाई छोड्ने समेत गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेश कुमार सिंहले बताए।

मानव बेचबिखनको क्रम केही घटेको भनिएपनि लुकिछिपी हुने गरेका मानव तस्करी रोक्न समाजमा जनचेतना बढाउनुका साथै सबै दुर्गम सीमा नाकाहरूमा प्रहरी तथा गैरसरकारी निगरानी बढाउनु पर्ने स्पस्ट छ। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस