धनगढीको ‘करेसाबारी’मा साढे ९ लाख रुपैयाँको बीउ, नगरबासीलाई चाहिँ किन भयो 'हर्ष न विस्मात'?
धनगढीः धनगढी उपमहानगरपालिको ६ नं. वडा कार्यालय किसानलाई तरकारीको बीउ वितरण गर्न ५० हजार रुपैयाँ बजेट पायो ।
उपमहानगरपालिकाको करेसाबारी कार्यक्रम अन्तरगत ६ सय भन्दा बढी घरधुरी रहेको वडा कार्यालयले सो बीउ झण्डै १ सय परिवारलाई मात्र बीउ वितरण गर्यो । धनियाँ, रायो, मुला, गोलभेँडा, बन्दाकोपी, काउली र खुर्सानीलगायतको बीउ थोरैले पाए । धेरै छुटे, वडा कार्यालयप्रति आक्रोश पोखे ।
धनगढीको प्रगतिशिल कृषक समूहका अध्यक्ष धनबहादुर चौधरीले बीउ वितरणप्रति कडा असन्तुष्टि व्यक्त गर्दै भने, ‘नगरबासीलाई भुलाउनका लागि मात्रै बीउ वितरण गरेजस्तो भयो । यसबाट केही प्रभाव पर्ने देखिएको छैन ।’
सोही कार्यक्रम अन्तरगत उपमहानगरपालिकाले नगरका १९ वटै वडालाई पहिलो चरणमा ५० हजारका दरले साढे ९ लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ । चालु वर्षमा १७ लाख बजेट रहेको करेसावारी कार्यक्रम अन्तरगत नै दोस्रो चरणमा समेत बीउ वितरण गर्ने योजना उपमहानगरपालिकाको छ ।
तर वडा कार्यालयहरुले ५० हजार रुपैयाँका दरले बजेट पाएपनि उपमहानगरपालिकाको भने लाखौं खर्च भएको छ । उपलब्धी न्यून देखिने ठाउँमा गरिएको लगानी वालुवामा पानी जस्तै हुने देखिएको हो ।
कार्यक्रम प्रभावकारी हुनेमा सरकारी अधिकारी नै विश्वास्त छैनन् । उपमहानगरपालिकाको वडा नम्बर ६ का वडा सचिव धर्मराज जोशीले यस्ता साना कार्याक्रमले खासै प्रतिफल नदिने बताउँछन् । ‘लाखौं बजेट सकिने भएपनि प्रभाव देखिदैन,’ उनले भने ।
तर नगरलाई तरकारीमा आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम ल्याएको दाबी गरिएको छ । तर कार्यक्रमको प्रभावकारितावारे उपमहानगरपालिका बेखबर देखिएको छ । बीउ वितरण गरिसकेपछि एक पटक पनि अनुगमन नभएको उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुड्भरी स्वीकार गर्छन् ।
‘अबको केही दिनमा अनुगमन हुन्छ,’ उनले भने, ‘ठूलो मात्रामा हामीले पनि बीउ वितरण गर्न सक्दैनौं सुरुवात गर्न खोजेका हौं ।’