सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका सीमामा प्रदेशीको कहानी : बच्चाहरुको मुुख हेरेर लाज लाग्यो

२०७७ कार्तिक २३, १२:२९ विन्दु चन्द

धनगढी : तिहार आउन केही दिन मात्रै बाँकी छ । नेपालीहरु कामको खोजीमा भारत जाने क्रम भने रोकिएन । हुलका हुल दिनहुँ भारत प्रवेश गर्दै आएका हुन् ।

अरु दिनमा जस्तै कार्तिक २२ गते पनि कञ्चनपुपरको त्रिनगर गौरीफन्टा सीमानाकामा रोजगारीका लागि भारत जानेहरुको लर्को थियो । निधारमा रातो टीका र काँधमा झोला भिरेकाहरुको लामो लाइन थियो । कोही पुरानै ठाउँमा फर्किरहेका थिए, भने कोही कामको खोजीमा ।

कैलालीको बर्दगोरिया गाउँपालिका मुडाकी लक्ष्मी भुल पनि आफ्नो श्रीमान संग दुधे बालक बोकेर भारत गइरहेकी थिइन् ।उनीहरुमा कोरोनाको डर भन्दा भोकले बालबच्चा कसरी पाल्ने भन्ने चिन्ता थियो । उनले भनिन्, पैसा भए पो तिहार, बिना पैसा के को तिहार नि ? बालबच्चालाई के खुवाउ भनेर चिन्तामा छौँ । बाँचिए अर्को साल मनाउँला तिहार ।’ उनीहरु कोरोना माहामारीपछि घर फर्किएका थिए । 


लम्कीचुहा नगरपालिकाका अर्जुन बटाला पनि रोजगारीका लागि परिवारसहित भारत गइरहेका थिए । साँझ पखको समयमा हतारमा रहेका उनले यता रोजगारीका अवसर नभेटेपछि आफुहरु परिवार पाल्नकै लागि भारत पसिरहेको बताए । 

कोरोना महामारीमा घर फर्किएका उनले भक्कानिदै भने, ‘देशमा ३ तहको सरकार छ, भन्छन्, काँ छ ? गाउँ–गाउँमा सिंह दरवार पुग्यो भन्छन खै काँ छ ? हामीले त देखेनौ ? के हामी रहर लागेर गइरहेका हौँ र भारत, जहान सहित ? के हामीलाई गाउँ बस्न मन छैन र ? आफ्ना संग चाडपर्व मनाउन मन छैन र ? देशले बस भन्छ यो सरकारले हामीलाई लखेट्दै छ ।’

लक्ष्मी र अर्जुन मात्रै होइन्, दैनिक हजारौं नेपाली कामको खोजीमा भारत धमाधम गइरहेका छन् । विदेश जानलाई उनीहरुलाई नत, चाडपर्वले छेक्न सकेको छ, नत कोरोना महामारीले । लकडाउनले लामो समयसम्म बेरोजगार बनेपछि परिवारको खर्च जोहो गर्न भारत जान लागेका हुन् ।

सीमामा सास्ती

सोही भीडको लाइनमा चितवनको राप्ती गाउँपालिकाका वासुदेव खरेल पनि थिए । कम खर्च र सहज रुपमा दिल्ली पुगिन्छ, भनेर उनी गड्डाचौकी पुगे । तर गड्डाचौकीबाट दिल्ली पुग्न ४÷५ हजार लाग्छ भनेपछि उनी फसादमा परे । पैसा नभएपछि उनी २ दिन महेन्द्रनगरमै अलपत्र परे ।

कसैलाई उनलाई गौरीफन्टा नाकाबाट जाँदा कम पैसा लाग्छ भनेपछि उनी गड्डाचौकीबाट गौरीफन्टा आए । ७ सय भारु तिरेर उनी दिल्ली गए ।

गहभरि आँशु पार्दै उनले भने, ‘आफ्नै देशमा पनि समस्यामा परेको मान्छेलाई यति धेरै हेला गर्ने र ठग्ने गर्दा धेरै दुःख लागेको छ । तिहारको मुखमा जान कसलाई रहर थियो र ? बच्चाहरु संग पनि लाज लागेर आयो । के खाएर तिहार मनाउने ?’

विगत २२/२३ वर्षदेखि भारतमा काम गर्दै आएका उनी कोरोनाको कहरपछि घर फर्किएका थिए । 
 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस