सुदूर नेपाललाई विश्वसँग जोड्दै

सीमामा अटो चालक र बस चालकको लुट

२०७७ कार्तिक २१, ०३:५५ विन्दु चन्द

धनगढी :  बाजुराका हेमन्त जोशी कोरोना कहरका कारण जारी लकडाउनपछि भारतबाट नेपाल फर्किएका थिए । तर लामो लकडाउनले घर खर्च चलाउन धौ–धौ भएपछि उनी पुनः भारत जान बाध्य भए ।

तर बेरोजगारी समस्या, कोरोनाको जोखिम मोलेर भारत जान लागेका उनी सीमामा निकै सास्ती खेप्न बाध्य भएका हुन् । अटो रिक्सा चालक र बस टिकट काउन्टरका कर्मचारीले दिने सास्तीले हैरान बनाएको उनी बताउँछन् । उनले ७ सय रुपैयाँ लाग्नुपर्ने ठाउँमा १ हजार रुपैयाँ तिर्नु परेको दुखेसो सुनाए । अटो चालक र बस चालकहरुको लुट संगै भारत पस्नेहरु थप अनेक सास्ती समेत खेप्न बाध्य भएका छन् । परिवारसहित भारत जानेहरु झनै समस्यामा पर्ने गरेका हुन् ।

कञ्चनपुुरको त्रिनगर गौरीफन्टा नाका हुँदै भारत गैरहेका सुर्खेतको पञ्चपुरी ५ का प्रेम बिकले आफु संग नागरिकता भएपनि संगै रहेकी आफ्नी श्रीमती संग नागरिकता नहुँदा पाउनसम्मको सास्ती पाएको बताए । उनले भने ‘बेरोजगारीका कारण भारत जाँदैछौ ।

तर सीमामा हुने लुट र विभिन्न कारणले दिने सास्तीले हैरान बनायो ।’ हेमन्त र प्रेम मात्रै होइनन्, आजभोलि दैनिक हजारौं नेपालीहरु रोजगारीको लागि भारत पसिरहेका छन् । तर विभिन्न बहानामा उनीहरुबाट सीमा नाकामै बस काउन्टर सञ्चालन गर्दै आएकाहरु लुट मचाउँदै आएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाक्षेत्रीले सीमामा बस सञ्चालकहरुबाट हुने सास्तीवारे आफुहरुलाई जानकारी नआएको बताए । समयमा जानकारी आएको अवस्थामा समाधान खोजिने उनको भनाइ छ । त्यस्तै उनले भारत प्रवेश गर्दा कुनै पनि व्यक्तिको पहिचान खुल्ने परिचयपत्र अनिवार्य गरिएको बताए ।

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस