उफ ! डरलाग्दो भीड, व्यवस्थापन सम्भव छैन : मालपोत धनगढी
धनगढी : सेवाग्राहीको अत्याधिक चाप हुने भूमी सुधार तथा मालपोत कार्यालय धनगढीले भीड व्यवस्थापन गर्न नसक्ने बताउन थालेको छ । कार्यालयकै कर्मचारीमा कोरोना संक्रमण भई केही समय सेवा नै बन्द गरेको सो कार्यालयले सेवाग्राहीको भीडको भीड नियन्त्रणमा असमर्थता देखाउन थालेको हो ।
सो कार्यालय दैनिक सेवाग्राहीहरुको घुुँइचो हुन्छ । तर भीड व्यवस्थापनमा भने सो कार्यालय पूर्णतः नजरअन्दाज गर्दै आएको छ । सेवाग्राहीबीचको भौतिक दूरी शुन्य छ । सेवाग्राही ठेलम्ठेल गरी लाइनमा उभिएका हुन्छन् दिनहुँ । यहाँसम्म कि, कतिपय सेवाग्राहीको मुखमा मास्क समेत नभएको भएको पाइएको हो ।
२ दिनदेखि मालपोत कार्यालयमा सेवा लिन धाइरहेकी अत्तरियाकी सरु रोकायाले जोखिम मोलेर भए पनि जग्गा नामसारीको लागि आएको तर सेवा पाउन नसकेको बताइन् ।
अर्का सेवाग्राही धनगढीका पदम रावतले मालपोत कार्यालयको सेवाप्रवाह अस्तव्यस्त भएको भएको गुनासो गरे । तर प्रदेश राजधानीकै मुटुमा रहेको कार्यालयको भीड व्वस्थापन हुन नसक्नु दुखद रहेको उनको भनाइ छ ।
कोरोना जोखिम मोलेर सेवा लिन पुगेका सेवाग्राहीले कर्मचारीको ढिलासुस्ती र झर्किने बानीले हैरान बनाएको छ । मालपोत कार्यालयमै भेटिएका चौमालका दिपक बोहराले मालपोतमा हुने ढिलासुस्ती पहिलैदेखि कायमै रहेको बताए । कोरोना कहर, कर्मचारीको ढिलासुस्ती तथा रिसाउने बानीले निकै सास्ती पाएको बोहरा बताउँछन् ।
तर मालपोत भने सेवाग्राहीको भीड व्यवस्थापन भन्दा पनि व्यवस्थापन गर्नै नसकिने भन्दै आफ्नो जिम्मेवारीबाट पञ्छिदै आएको हो । कार्यालय प्रमुख तथा मालपोत अधिकृत सुरेन्द्र केसीले भीड व्यवस्थापन गर्न बार अनुसारको सेवा दिइरहेको भएपनि सबैतिरका सेवाग्राही आउने भएकोले भीडभाड हुने गरेको बताए । सेवाग्राहीको भीड थेग्न नसकिने अवस्था रहेको कार्यालय प्रमुख केसीको भनाइ छ ।
भीड व्यवस्थापन गर्न जिल्लाका अन्य स्थानमा शाखा कार्यालय विस्तार गर्नुपर्ने पनि सेवाग्राहीको सुुझाव छ । चौमालाका सेवाग्राही बोहराले मालपोत कार्यालयको सेवा पालिका स्तरमा दिन सके भीड व्यवस्थापन सहज रुपमा हुने बताए ।