सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाले विदेशबाट लखेटिएपछि कैलालीका यूवा आफ्नै व्यवसायमा जम्दै

२०७७ कार्तिक १८, ११:२० विन्दु चन्द

१७ वर्ष भारतमै काम गरेका कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ६ का कमलराज चौधरी कोरोना महामारीपछि रोजगारी गुमेपछि स्वदेश फर्किए ।

भारतमा मेकानिकल इञ्जिनीयरको रुपमा काम गर्दै आएका चौधरी कोरोना महामारीका कारण जागिर गुमेपछि केही समय भारतमै बसे पनि गत असारमा भने घर फर्किए । उनलाई स्वदेश फर्किएपछि घर खर्च चलाउन धौधो भयो । सीप अनुसारका व्यवसाय गर्ने योजना बनाएका उनी संग लगानी नभएपछि कुखुरा पालन व्यवसाय सुरु गरेका हुन् । 

पुनाबाट मेकानिल डिप्लोमा गरेर हरिद्धारमा इन्जिनीयर भएर काम गर्दै आएको बताउँदै उनले भने, ‘कोरोनाका कारण भारतमा जारी लकडाउन र सीमा विवादको कारणले भारतमा नराम्रो व्यवहार हुन थालेपछि गाउँ फर्किए । २ महिना बेरोजगार बसे । आफुले गर्दे आएको काम गर्ने सोच बनाए । तर त्यसको लागि ठूलो लगानी नहँुदा सानो लगानीमा मुर्गा पाल्न थालेको छु ।’ 

कुखुरा व्यवसाय सुरु गर्नु भन्दा अगाडी प्रदेशको कृषि मन्त्रालय अन्तरगतको कृषि ज्ञान केन्द्रमा अनुदानका लागि फारम भरे पनि सुनुवाई नभएको उनको गुनासो छ । उनी संग अहिले ३ सय वटा कुखुरा छन् । तर प्रतिफल अझै पाउन सकेका भने छैनन् ।

तारे होटलका सेफको खाजा पसल

कैलारी गाउँपालिका–७ भुइयाफाँटाका विवश चौधरी पनि ६ वर्षअघि कामको खोजीमा भारतको मुम्बई पुगेका थिए । उनले त्यहाँ एक होटलमा हेल्परको रूपमा काम थाले । उनी थर्डकोमी, सेकेन्ड कोमी, फर्स्टकोमी, डीसीडीपी हुँदै सीडीपी सेफसम्म बने । ५ हजार भारुमा सुरू गरेको होटल क्षेत्रमा मासिक २२ हजार भारुसम्म कमाउने भए ।

गत चैतअघिसम्म उनी मुम्बईको प्रतिष्ठित तीनतारे होटलमा सीडीपी सेफको पदमा कार्यरत थिए । साथमा होटलको आकर्षक सेवासुविधा पनि थियो ।

जब कोरोना भाइरसको महामारीले भारत हल्लियोे, तब उनी स्वदेश फिर्ता भए । भारतको सबै सेवासुविधा त्यागे । नेपालमा पनि जारी लकडाउनले केही समय गाउँमै भौतारिएका उनी आजभोलि भारतमा आर्जन गरेको सीपले मज्जाले कमाइ गर्न थालेका छन् ।

प्रसन्न मुद्रामा रहेका विवश भन्छन्, ‘इण्डियामा लगातार ६ वर्ष बसे । पैसा मात्रै कमाइएन, सीप पनि सिकियो । कूक सम्बन्धी सीप सिकें । आज त्यही सीप मेरो जीवनको सहारा बन्यो ।’ उनले हाल धनगढी उपमहानगरपालिका–७ मोतीचोकमा विवश फास्टफूड एण्ड सुप सेन्टर सञ्चालन गरेका छन् । उनी दैनिक १ हजारदेखि २ हजार कमाइ गर्न थालेका छन् ।

उनी भन्छन्, ‘अझै लगानीकै फेजमा छु । लकडाउनले व्यवसायले खासै गति लिन सकेको छैन । तर घरको खर्च यसैबाट जोहो भइरहेको छ ।’ उनले १ लाख ४० हजार लगानीमा व्यवसाय शुरूवात गरेका हुन् । पहिले मालिकको लागि दिलोज्यान लगाएर काम गरेका उनी आज आफैं मालिक बनेर आफ्नै लागि मेहनत गर्न पाउँदा खुशी छन् ।

‘पहिले कसैको अधिनमा काम गर्नुपथ्र्यो, आज स्वतन्त्र भई आफ्नै लागि गरिरहेको छु । स्वदेशमै पनि केही गर्न सकिन्छ भन्ने लागेको छ । व्यवसाय गर्ने वातावरण बनिरहे अब कहिल्यै इन्डिया जान्न,’ उनले आत्मविश्वास व्यक्त गर्दै भने ।

उनी जस्तै उनकै गाउँ भुइयाफाँटाका अर्का युवा उमेश चौधरी पनि कामकै खोजीमा १३ वर्षअघि भारत पुगेका थिए । भारतमा होटलमा काम गर्ने उनी लकडाउनपछि स्वदेश फिर्ता भए । अब भारतमा सिकेको सीप उनको लागि जीवनको आधार बनेको छ । उनले पनि धनगढीकै मोतीचोकमा ‘मेडिवन चाइनिज कर्नर’ थालेका छन् ।

उमेश पनि मुम्बईको होटलमा हेल्परबाट थर्डकोमी, सेकेन्ड कोमी, फर्स्टकोमी, डीसीडीपी हुँदै सीडीपी सेफसम्म बने । त्यहाँ उनी मासिक २५ हजार भारु कमाउँथे । कोरोना कहरले स्वदेश फिर्ता भएका उनी उता सिकेको सीपले स्वदेशमा स्वरोजगार भएका छन् ।
उमेश भन्छन्, ‘कोरोनाबाट डराएर ज्यान जोगाउन स्वदेश आयौं । उताको रोजगारी त गुम्यो । तर आर्जन गरेको सीपले आज भोको हुनबाट जोगायो । इन्डियामा कसैको नोकर थियौं, आज सानो भए पनि आफ्नै व्यवसायको मालिक छौं । कम कमाइ भएपनि सन्तुष्टि मिलेको छ ।’

कोरोनाको महामारी फैलिएपछि भारतमा मात्रै रहेका लाखौं नेपाली स्वदेश फिर्ता भए । लामो लकडाउनपछि धेरै नेपालीहरू स्वदेशमा रोजगारी नभएको भन्दै ज्यान जोखिममा पारेर पुनः भारत फर्किरहेका छन् । तर केही नेपालीले भने स्वदेशमै केही गर्नुपर्छ भन्दै सानो लगानीमा व्यवसाय थालेका छन् ।

लामो लकडाउनले स्वदेशमै पनि धेरै नागरिक बेरोजगार भएका छन् । उनीहरूले पुरानो पेशा व्यवसायलाई थाती राखेर नयाँ वैकल्पिक व्यवसाय थालेका छन् ।
 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस