स्थानीय तरकारी बजार पाएन, किसान भन्छन् ‘हाट बजार कहिले खुल्छ ?’
धनगढी : कोरोना नियन्त्रण तथा रोकथामका लागि भन्दै जारी गरिएको लकडाउन प्रत्यक्ष असर तरकारी उत्पादित किसानमा परेको छ ।
लकडाउन र निषेधाज्ञा खुलेपनि तरकारी बिक्री वितरण गर्ने स्थल हाट बजार अझै खुल्न सकेको छैन । हाट बजार नखुलेपछि स्थानीय किसानद्वारा उत्पादित तरकारी हाल बारीमै कुहिन थालेको छ । जुन कारण उनीहरु समस्यामा परेका हुन् ।
धनगढी उपमहानगरपालिका ५ का शुक्रबहादुर चौधरीले उत्पादित तरकारी बजार पाउन छोडेको बताए । हाट बजार खुलेको बेला हाट बजारमा तरकारी बिक्री गर्दै आएका उनले लकडाउनले अरु क्षेत्र खुलेपनि हाट बजार नखुलेपछि बारीमा भएको तयारी बारीमै कुहिने अवस्था रहेको दुखेसो सुनाए ।
भारतको बरेली घर भएको तर धनगढीमै विगत २६ वर्षदेखि तरकारी व्यवसाय गदैै आएका अनवार हुसेनले पनि तरकारी बिक्री हुनै छोडेको गुनासो गरेका छन् । जग्गा भाडामा लिएर व्यवसायीक तरकारी खेती गरिरहेकाको भएपनि बिक्री हुनै छोडेपछि खेत बाझै राख्नुपर्ने अवस्था आएको उनको दुखेसो छ । ५/१० किलो बेजेर गुजारा चलाउँदै आएको हुसेनको भनाइ छ ।
भारतीय तरकारी निर्बाध आयात
स्थानीय स्तरमा उत्पादित तरकारी बिक्री वितरण गर्ने थलो हाट बजार बन्द भएपनि भारतीय तरकारी भने निर्बाध रुपमा भित्रिएका छन् । धनगढीका तरकारी व्यवसायी चन्द्र चौधरीले भारतबाट आलु, प्याज, सिम्ला, सिमिलगायतका तरकारीहरु लकडाउन भएपनि नियमित रुपमा आइरहेको बताए ।
सरकारले अन्य व्यवसाय, पसल खोल्न अनुमति दिएपनि हाटबजार खोल्ने अनुमति नदिँदा तरकारी किसान मारमा परेका हुन् । उत्पादित तरकारी नै बिक्री हुन छोडेपछि घर खर्च चलाउनै समेत मुस्किल भएपछि हाटबजार खोल्न आग्रह गरिरहेको त्रिनगर कृषि उपज हाटबजार व्यवस्थापन समितिका अध्यक्ष भवन सिंह चैसिर बताउँछन् ।