सुदूर नेपाललाई विश्वसँग जोड्दै

६ वर्षदेखि मोहना–राजघाट पुल अलपत्र

२०७७ कार्तिक १६, ०८:२४ विन्दु चन्द

राजघाट  :२ वर्षभित्र काम सम्पन्न गर्नेगरी २०७१ साल ३१ असारमा ठेक्का सम्झौता भएको मोहना नदीको पुल अलपत्र परेको छ ।

२ वर्षभित्र निर्माण समपन्न गर्नेगरी ठेक्का सम्झौता भएको ६ वर्ष बित्दा समेत काम अधुरै रहेपछि पुल अलपत्र परेको हो । नदीमा पुल निर्माण भए धनगढीमा आवतजावत गर्न सजिलो हुने अपेक्षा गरेका राजघाटबासी निर्माणमा भएको ढिलाइका कारण निराश बनेका छन् ।  

निर्माण व्यवसायीको लापरवाही  र सरोकारवाला निकायले वेवास्ताले ६ वर्ष सम्म पुल निर्माण नभएको आरोप उनीहरुको छ। स्थानिय होम बहादुर आलेले निर्माणमा भइरहेको ढिलाइले सास्ती खेप्नुपर्ने बाध्यता कायमै रहेको बताए ।

‘बिरामी हुँदा हामी कृष्णपुरका बासिन्दा रात विरात पनि धनगढी जानुपर्ने हुन्छ ।’ उनले भने,  ‘डुङ्गा चलाउँदा दुर्घटना हुन्छ,  चाडै पुल निर्माण भए सजिलो हुने थियो तर खोई ६ वर्ष पुग्दा समेत अलपत्र छ । ’

कञ्चनपुरको राजघाटबासीले दैनिक उपभोग्यका वस्तुको किनमेलदेखि बालबालिका विद्यालय पढाउने, स्वास्थ्य उपचार गर्न, विभिन्न पेशा व्यवसाय तथा कामका लागि धनगढी आजजाउ गर्ने गरेका छन् ।

तर मोहना नदीको पुल अलत्रप परेपछि वर्षातको समय मात्र नभएर हिउँदमा समेत आवतजावतमा सास्ती खेप्नुपर्ने बाध्यता रहेको अर्का स्थानीय बिरु चन्दले बताए ।

उनले वर्षातमा नदीमा पानीको सतह बढेको हुँदा विद्यार्थीलाई जोखिम हुने गरेको छ भने ढुङ्गा मार्फत नदी तर्दा दैनिक पैँसा तिर्दै आएको बताए ।

समयमै पुल नबन्दा आफुहरु झनै समस्या भोग्नु परेको बताउँदै  उनले लापरवाही गर्ने निर्माण व्यवसायीलाई कारवाही गर्नुपर्ने बताए । पुल निर्माण नहुँदा स्थानीयले बर्खायाममा डुङ्गा र हिउँदको काठे पुलको यात्रा गर्दै आएपनि सडक डिभिजन कार्यालय कञ्चनपुर र निर्माण व्यवसायीले कामलाई गति दिन वेवास्ता गरेको आरोप उनीहरुको छ ।  

यो बीचमा डिभिजन सडक कार्यालयले ३ पटकसम्म म्याद थप गर्दा समेत कामले गति लिएको छैन् । पुल निर्माणमा भइरहेको ढिलाईबारे प्रतिक्रिया माग्न ठेक्का पाएको एलाइट एड्भेन्चर जेभीका सञ्चालक चन्द्रशेखर मल्ललाई फोन गर्दा समेत उनी सम्पर्कमा आएनन् ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी समेत रहेका जोशीले पुष मसान्तसम्म निर्माण अवधी रहेको बताए । उनले पुलका २ वटा स्पान बनिसकेको र तेस्रो पनि हालिसकेकाले पुषमा काम सम्पन्न हुने जनाए ।

१ सय २० मिटर लामो मोहनानदीको पुल ७ करोड ४२ लाख निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको थियो। २ वर्षभित्र सम्पन्न गरिनुपर्ने पुल निर्माणमा भएको ढिलाईले ६ वर्षसम्म अधुरै रहेको हो ।

६ वर्षको अवधीमा ८५ प्रतिशत मात्रै भौतिक प्रगती भएको सडक डिभिजन कार्यालयले जनाएको छ । 

 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस