मनपरी शुल्क असुल्दै डडेल्धुराका औषधि पसल, अनुगमन नहुँदा सञ्चालकलाई हाइसञ्चो
धनगढी: डडेल्धुरामा संचालित औषधि पसलले सेवाग्राहीसँग मनपरी रकम असुलेको गुनासो गरिएको छ। जिल्ला सदरमुकाममै रहेको डडेल्धुरा अस्पतालबाहिर रहेका औषधि पसलहरुले बिरामीसँग आफुखुसी शुल्क लिएको खुलासा भएको हो।
अस्पतालको मुलगेटमै रहेको एक औषधि पसलले सरकारले निर्धारण गरेको भन्दा दोब्बर शुल्क लिएको प्रमाण दिनेशखबरले प्राप्त गरेको छ। अस्पताल भित्रकै कर्मचारीले बिरामीलाई आफ्नो फार्मेसीबाट औषधि ल्याउन आग्रह गर्ने तर अस्पतालद्वारा संचालित साझा औषधि पसलभन्दा दोब्बर मुल्य असुल्नेको एक बिरामीले बताए।
ती बिरामीले उपलब्ध गराएको बिल अनुसार सुमन फार्मेसीले एउटा ‘क्यानुला’को १०० रुपैंया लिएको छ। जबकी उक्त क्यानुला साझा औषधि पसलमा भ्याटसहित २० रुपैंयामा पाइन्छ। यस्तै एक पिस ‘डिएनएस’को ८० रुपैंया लिइएको छ जबकी त्यसको मुल्य ४५ रुपैंया पर्छ। यस्तै ४५ मै पाइने एनएसको सुमन फर्मेसीले ७० रुपैंया लिएको छ। त्यसैगरी ‘आर लक’ नामक इन्जेक्सनको मुल्य ५ रुपैंया पर्छ, जबकी फार्मेसीले २ पिस आरलकको २० रुपैंया लिएको छ।
यसरी गाउँबाट आउने सोझा तथा अशिक्षित बिरामीहरुलाई अस्पताल कम्पाउन्ड बाहिर रहेका निजी औषधि पसलले ठग्ने गरेका छन्। तर आफुहरु ठगिएको बारे उनीहरुलाई पत्तै हुँदैन। यसरी औषधिजन्य सामग्रीमा खुलेआम कालोबजारी भएको बारे हामीले जिल्ला प्रशासनसँग प्रतिक्रिया मागेका थियौ। जहाँका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बजार अनुगमन टोली बनाइएको हुन्छ।
तर आफुहरुसँग प्राविधिक मान्छेको अभाव भएकाले औषधि पसलको अनुगमन गर्न समस्या भएको डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए। उनले औषधि पसलको अनुगमन औषधि व्यवस्था विभाग नेपालगञ्ज शाखाले गर्ने जानकारी दिए।
त्यसपछि हामीले औषधि व्यवस्था विभाग नेपालगञ्जकी प्रमुख नीनु श्रेष्ठलाई सम्पर्क गर्यौ। उनले कर्मचारी अभावका कारण लामो समयदेखि अनुगमन गर्न नपाइएको बताइन। ‘त्यसरी औषधि पसलले मनपरी शुल्क लिएको छ भने त्यो सरासर कालोबजारी हो’ उनले भनीन, ‘हामी त्यसबारे अनुसन्धान गर्छौ र उक्त फार्मेसीले त्यस्तो गरेको रहेछ भने कारवाहीका लागि प्रशासनमा सिफारिस गछौं।’
यसरी डडेल्धुरामा अस्तालमै कार्यरत कर्मचारीका अस्पताल नजिकै थुप्रै निजी फार्मेसी संचालनमा छन्। जहाँ उनीहरुकै सुझावमा विरामीहरु औषधि खरिद गर्न जाने गरेका छन्। तर अज्ञानता तथा सरोकारवालाले नियमित अनुगमन नगर्दा बिरामीहरु त्यहाँ दैनिकजसो ठगिन्छन्।