सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेतीमा बगेका दुई स्वास्थ्यकर्मीको त्यो अन्तिम तस्विर...

२०७७ साउन १९, ०५:०४ आशिष मल्ल

धनगढी: शनिबार बिहानै डडेल्धुरा अस्पतालका ल्याब टेक्निीसियन रमेश बोहोराको कोठामा सोही अस्पतालमा कार्यरत ल्याब असिस्टेन्ट हरीश जोशी आए। आफु साथीहरुसँग घुम्न जाने भन्दै उनले ‘रमेश जी ड्युटी मिलाएर गर्नु है म बेलुका छिट्टै फर्किन्छु’ भनेका थिए। जोशी आफ्ना चार जना साथीहरुसँग डोटीस्थित शैलेश्वरी मन्दिर गएका थिए। 

शैलश्वरी मन्दिर दर्शनका लागि गएका चारजना त्यहाँ पुगेर दिउँसो डडेल्धुरा फर्किदै थिए। बाटोमा सेती नदी पर्ने हुँदा उनीहरु नुहाउन भनी गंगनान् भन्ने स्थानमा रोकिएका थिए। नुहाँउदै गर्दा उनीहरुले फोटो समेत खिचेका थिए। चारमध्ये हरीश जोशी र हेल्थ असिस्टेन्ट विनय सिंहले खिचेको फोटो सहकर्मी रमेश बोहराले पाएका थिए।

उनीहरुको फाेटो त पुग्यो तर उनीहरु डडेल्धुरा पुगेनन्। फोटो पठाएको केहिबेरमै सेतीको भेलले दुवैलाई बगाएर बेपत्ता बनायो।  सोही फोटो आफ्नो फेसबुकमा पोष्ट गर्दै ल्याब टेक्निीसियन रमेश बोहोराले शनिबार लेखेका थिए, ‘यो अन्तिम फोटो खिचेर यही फोटो खिचेको ठाउँबाट केही समयमै दुईवटै जना बेपत्ता भएको खबरले मन समहाल्न सकिराको छैन। तिम्रा ती यादहरू कसरी भुलु। भगवान यी दुईवटै सबैका प्यारा साथीहरूलाई सकुशल भएको खबर छिट्टै हाम्रो कानमा पुगाई दिउ यही बिन्ती गर्छु।’

तर आइतबार बेपत्ता मध्ये हरीशको शव भेटिएपछि बोहोराको आशा निराशामा परिणत भयो। त्यसपछि उनले पुनः आइतबार फेसबुकमा लेखेका छन्, ‘हिजो बिहान ७ बजे मेरो कोठामा आएर भनेर गएको मान्छे आज सेती नदीको किनारमा शव फेला पर्यो भनेर खबर सुन्दा छाँगाबाट खसे जस्तो भयो। बिहानसम्म आशा थियो सबैको प्यारो साथी पक्कै पनि सकुशल भेटिन्छ भनेर तर त्यो सपना मात्र भयो। सबैका सपना चक्नाचुर बनाएर गयाैं साथी त्यती धेरै हसिलो अनुहार भएको मान्छेले सबैलाई रूवाएर गयौ।’ उनलेसँगै काम गरेको सहकर्मीलाई कहिले भुल्न नसक्ने भाव स्टाटसमार्फत बोहोराले पोखेका छन्।

यस्तै उनकै सहकर्मी पुजा बस्नेतले पनि फेसबुकमा जोशीप्रतिको माया दर्शाएकी छिन्। उनले लेखेकी छन्, ‘भोलिको ड्युटी त गर्नु होइ म आइतबार फर्केर आउछु भनेर जानुभएको थियो दाई आज यो के सुनिराछु दाई ? ती सँगै बिताएका दिनहरु म कसरी बिर्सनु दाई ?’ तर उनका दाई अब कहिले आउने छैनन्। बेपत्ता भएको स्थानबाट निकै टाढा डोटीको केआईसिँह गाउँपालिकाको नारीदाङमा जोशीको शव फेला परेको थियो। 

जोशीको शव फेला परेपनि अर्का बेपत्ता विनय सिँहको भने सोमबार दिउँसोसम्म अत्तोपत्तो थिएन। उनी बाँचेको हुनसक्ने सम्भावना भएको भन्दै उनका साथी कुसुमाकर घिमिरेले आइतबार जोशीलाई श्रद्धाञ्जली र बिनयको उद्धार भएको सुन्न पाइयोस भन्दै पोष्ट गरेका थिए। तर उनको त्यो सुन्ने सपना सपनामै सिमित भएको छ। 

सोमबार दिउँसो १ बजेतिर हेल्थ असिस्टेन्ट बिनय सिंहको शव बेपत्ता भएको स्थानबाट करिब १ किलोमिटर टाढा शिखर नगरपालिकाको बान्डुंग्रीसैनस्थित सेती किनारमा भेटिएको छ। त्यहि पीडा सहन नसकेर घिमिरेले सोमबार लेखे, ‘तिमी पनि गयौ साथी। नसोचेकै भयो तिम्रो आत्माले शान्ति पावस्।’

शनिबार शैलेश्वरीबाट फर्किएर नुहाँउने क्रममा ४ जना मध्ये ३ जना बगेका थिए। तीन मध्ये खगेन्द्र कुँवरलाई स्थानीयले उद्धार गरी बचाएका थिए भने अर्का एकजना सेतीमा बगेका थिएनन्। सोमबार अपरान्ह जोशीको शवको पोष्टमार्टम गरेर अन्तिम संस्कार गर्न घटालथानमा लागिएको छ। भने, सिँहको शव पोष्टमार्टमका लागि सेतीबाट डडेल्धुरा अस्पताल लगिँदैछ।

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस