भारतबाट सुदूरपश्चिम आउन ९० किलोमिटर हिँडेका २७ जनालाई झुक्याएर पूरानै ठाउँमा पुगाइयो
धनगढी: यही ४ गते (१६ तारिख) राती ९ बजे भारतको अम्रुहुवाबाट डडेल्धुराको परशुराम नगपालिकाका महेश धामीसहित २७ सुदूरपश्चिमेली नेपाल आउनका पैदल हानिए। रातभर हिडेका उनीहरु बिहान ७ बजे रामपुर पुगे। तर रामपुरमा प्रहरीले रोक्यो। प्रहरीले सोधपुछ गरेर खाने र नेपाल जाने व्यवस्था मिलाउँछु भन्दै आफुहरुलाई रोकेको धामीले बताउँछन्।
‘त्यसपछि रातभरको थकान मेट्दै प्रहरीको आस्वासनमा दिनभर चट्कीलो घाममा सडकमा बसिरहे, १२ बजे हामीलाई खाना खुवाइयो’ उनले भने, ‘साँझसम्म जाने गाडीको व्यवस्था मिलाउछौँ भनेर प्रहरीले पर्खाइराखेको थियो।’
राति ८ बजेसम्म सडकमै पर्खिएका उनीहरुलाई पुलीसले १२ बजेतिर लग्ने भनेपछि घरजाने आशामा ४ घण्टा अझै पर्खनु ठुलो कुरा थिएन। ‘मच्छरले टोकिरहेको थियो, सडकमा आफ्नै झोला सिरानी हालेर प्रहरीको आशमा पल्टिरहेका थियौँ’ धामी भन्छन, ‘यताबाट गइसकेपछि सिमानामा थोरै दुख पाइएला तर नेपाल त पुगिहालौँला भन्ने लागेका थियो। हामी ९० किलोमिटर बढी हिनेका थियौँ। शरिर एकदमै गलिसकेको थियो।’
घरमा सबैसँग भेट हुने सपना देखिरहेका उनीहरुलाई लिन राति १२ बजे एउटा ट्रक आयो र पुलीसले सबैलाई बस्न लगायो। ‘खुसी हुँदै सबैजना ट्रकमा बस्यौँ र ट्रक हिँडेपछि पो थाहा भयो प्रहरीले त हामीलाई झुक्याएको रहेछ। घरजाने भनेर त्यत्रो हिँडेका हामीलाई फिर्ता पुरानै ठाउँ छाडियो’ महेश धामीले भने।
अहिले सबै २७ जना खाँचिएर एउटै कोठामा बसिरहेको उनले दिनेश खबरलाई बताए। भक्कानिदै उनले भने, ‘खानाको ठेगान छैन्, काम गर्ने कम्पनिले हामी व्यहोर्न सक्दैनाैँ भनेको छ। केहि दिन त हामी कटाउँछाैँ, पछि के हुन्छ थाहा छैन, त्यसपछि ‘हामी के गर्ने? के खाने ? रातभर मच्छरले टोक्छ, बत्ती छैन, हाम्रा कुरा कसले सुन्छ’ उनले भने ‘हामीलाई नेपाल आउनदेऊ हामी आफ्नै देशमा मर्छौँ। कम्तीमा आफ्नो परिवारको मुख हेरेर आफ्नै देशमा मर्न पाए आत्माले शान्ति त पाउँछ।’
धामीसहित २७ जना एउटै कम्पनिमा काम गर्छन। स्वदेशमा काम नपाएपछि रोजगारीकोे शिलशिलामा केही महिना अघि उनीहरु भारत गएका थिए।