भारतमा अलपत्र सुदूरपश्चिमेली भन्छन्–दुतावास र स्थानीय जनप्रतिनिधिको फोनै उठ्दैन
धनगढी: डडेल्धुराको अजयमेरु गाउँपालिका– ४ चिपुरका प्रकाश महत एक वर्षअघि भारतको नासीक गए। देशमा रोजगारीको ग्यारेन्टी नभएपछि भारत जाने लहरले उनलाई पनि भारतसम्म पुगायो। नासीककै एक होटलमा दैनिक ८ घण्टा काम गरिरहेका उनको दैनिकीमा एक्कासी फेरिएको छ, केरोनाको कहरले।
भारतमा धामाधम कोरोना संक्रमित भेटिन थालेपछि सरकारले त्यहाँ लकडाउन गर्यो। त्यसपछि उनको आम्दानीको स्रोत बनेको होटल बन्द भयो। २४ वर्षीय महत होटलमा कुकको काम गर्थे तर लकडाउनले होटल बन्द भएपछि उनको बिचल्ली भएको छ।
नेपालमा समेत लकडाउन भएकाले सीमा नाका बन्द छन्। अब उनी न घर आउन सक्छन न त्यही धेरै दिन बस्न सक्छन। ‘नेपालमा लकडाउन हुने भन्ने जानकारी नै भएन नत्र देशमा फर्किन्थे,’ उनी भन्छन, ‘साहुले हिसाब नगरेरै कामबाट निकालिदियो, म सहित ६ जना अहिले साथीको कोठामा बसेका छौ। उनीहरुको घरबेटीले पनि कोठा खाली गर भन्या छ।’
आफुजस्तै डडेल्धुराको अमयमेरु गाउँपालिका र भागेश्वर गाउँपालिकाका करिब चार सय स्थानीय सोही सहरमा अलपत्र परेको उनले सुनाए। आफुहरुले पटकपटक नेपाली राजदुतावास र अजयमेरु गाउँपालिकालाई सम्पर्क गरेको तर कुनै सुनुवाइ नभएको उनीहरुको दुखेसो छ।
‘धैरे पटक दुतावासमा फोन गरे र स्थानीय तहका जनप्रतिनिधिलाई पनि सम्पर्क गरे’ अजयमेरुकै अर्का अमर ऐरले भने, ‘अब त उनीहरुले फोन उठाउन पनि छाडिसके, बाहिर जाउँ भने पुलिस लखेट्छन् भित्र खानेकुरा सबै सकियो।’
आफुहरुसँग भएको पैसा समेत सकिन लागेकाले अब के गर्ने होला भनेर उनीहरु चिन्तित बनेका छन्। ‘कुन दिन घरबेटीले निकाल्छन त्यसपछि के गर्ने होला?,’ ऐरले अगाडि भने ‘म जस्तै यही वरीपरी धेरै नेपाली छन्। देशले हाम्रो उद्धार गर्छ भन्ने आशा भएकाले हामीले सबैको लिस्ट बनाएर राखेका छौ।
भारत र नेपाल दुवै देशमा लकडाउन भएपछि भारतमा होटेल, निर्माण सम्बन्धी कार्य बन्द भएका छन्। रोजगारीका स्रोत सबै बन्द भएपछि अहिले नेपालीहरु फर्किन थालेका छन्। कतिपय सीमा नाका बन्द हुनुअघि भित्रिए भने कतिपय अझै लुकिछिपी भित्रिरहेका छन्।
भारत सरकारले सीमा नाका तथा राजधानी नजिक रहेको नेपालीलाई धामाधम नेपाल पठाइरहेको छ। तर धनगढीको गौरीफन्टा नाकाबाट २७ घण्टा यात्रा गरेर पुगिने नासीकमा रहेका नेपाली भने अलपत्र परेका छन्।
‘हामीलाई कोरोनाको डर छैन, कोरोना लागे अस्पताल लगिहाल्छन् होला त्यहाँ बस्न, खान त पाइन्छ’ डडेल्धुराकै भागेश्वर गाउँपालिका –४ का दिनेश मडैले भने ‘तर यसरी त हामी भोक भोकै मर्ने भयौं।’