‘सुदूरपश्चिममा कोरोनाको संक्रमण रोक्न हेल्थ डेस्क मात्रै पर्याप्त होइन’
धनगढी: कोरोना भाइरस (कोभिड–१९) विश्वका एक सय ६७ देशमा फैलिसकेको छ। २०१९ को डिसेम्बरमा चीनको उहान सहरमा पहिलो पटक भेटिएको यो भाइरसको प्रभाव पछिल्लो समय युरोपका देशहरुमा परेको छ।
यो भाइरसबाट अहिलेसम्म एक लाख ९९ हजार ३ सय ३९ जना संक्रमित भइसेका छन्। तीमध्ये ७ हजार ९ सय ९४ जनाको मृत्यु भइसक्यो। त्यस्तै संक्रमण भेटिएकामध्ये हालसम्म ८२ हजार ८ सय ६ जना उपचारपछि स्वस्थ भइसेका छन्।
कोरोना भाइरसबाट संसारमा ‘ग्रीन जोन’मा पर्ने देश नेपालमात्रै भएको छ। तर यसको मततब यो होइन की नेपाल यो भाइरसबाट चोखो बस्न सक्छ। नेपालमा हालसम्म एकजनामा मात्र कोरोना देखिएको थियो। उनलाई पनि ठिक भएर घर फर्काइएको छ।
नेपालले भाइरसबाट जोगिन विभिन्न सर्तकता अपनाइरहेको छ। नेपालभरीका नाकाहरुमा स्वास्थ्य सहायता कक्ष(हेल्थ डेस्क) स्थापना गर्नेदेखि लिएर विभिन्न अस्पतालहरुमा आइसोलेसन वार्ड स्थापना गरिएका छन्।
यता सुदूरपश्चिम प्रदेश सरकार र यस प्रदेशका विभिन्न स्थानीय तहले पनि कोरोना भाइरसबाट जोगिन र फैलिहाले नियन्त्रण गर्न विभिन्न निर्णय र कार्य गरेको छ। हालसम्म सुदूरपश्चिममा कोरोना भाइरसका बिरामी नदेखिए पनि पूर्व तयारीलाई मजबुत बनाउने निर्णय प्रदेश सरकारको थियो।
सम्भावित जोखिमबाट बच्न सबै जिल्लामा आइसोलेसन कक्ष र क्वारेन्टाइन स्थापना गर्ने निर्णय पनि प्रदेश सरकारले गरेको छ र धेरै स्थानमा स्थापन गरिसकेको छ। स्वास्थ्य निर्देशनालय डोटीका अनुसार ९ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशका नाका र जिल्लागरी प्रदेशभरीमा २४ वटा हेल्थ डेस्क र ४९ वटा आइसोलेसन बेड स्थापना भएका छन्।
ती नाकाहरुमा खटिएका स्वास्थ्यकर्मीहरुले भारतबाट आउने यात्रुहरुको तापक्रम नाप्ने र परामर्श दिइरहेका छन्। तर हेल्थ डेस्कमा चेकजाँच गरेर कोरोनाका संक्रमितलाई रोक्न सकिन्छ त? के त्यसरी नेपालमा कोरोना भित्रिदैन त?
यसबारे सेती प्रादेशिक अस्पताल धनगढीका फिजिसियन डाक्टर निराजनदत्त शर्मा पौडेल भन्छन्, ‘कुनै स्वस्थ व्यक्ति कोरोना संक्रमितको सम्पर्कमा आइसकेपछि उसलाई २ देखि १४ दिन सम्ममा ज्वरो आउँछ, ज्वरो नआउन पनि सक्छ। सीमा नाकामा स्क्रिनिङ अर्थात तापक्रम मापक ‘गन’ले तापक्रम मात्रै नाप्ने हो, यदी भरखरैको कोरोना संक्रमित छ भने अथवा उसलाई ज्वरो नै आएको छैनभने त्यो व्यक्ति नेपाल भित्रिन सक्छ।’
कोरोना संक्रमितलाई १०४ डिग्रीको ज्वरो आउने, खोकी लाग्ने तथा स्वासप्रश्वासको समस्या हुने गरेको उनले बताए। तर सबै संक्रमितलाई ती लक्षण केहीदिनपछि मात्रै देखिने भएकाले सीमा नाकाबाट त्यस्ता संक्रमित बचेर आउने सम्भावना धेरै भएको डा शर्माले बताए।
सुदूरपश्चिमबाट रोजगारीको लागि धेरै भारतमा छन्। कोरोनाको त्रासले ती नेपाली अहिले धमाधाम स्वदेश फर्कदैछन। कतिपय पूर्वी जिल्लाका नेपाली समेत कैलाली र कञ्चनपुरका नाकाबाट भित्रिएका छन्। त्यसैले सीमामा आवागमन सुरक्षित बनाउन आवश्यक रहेको धेरैले सुझाव दिएका छन्।
सीमा नाका ‘लक डाउन’नै उत्तम उपाय
विश्वस्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाभाइरसलाई ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ। साथै उसले स्वास्थ्य आपतकाल घोषणा गरेसँगै विभिन्न देशहरुले कोरोनाबाट जोगिन विभिन्न उपायहरु अवलम्बन गरिरहका छन्।
कतिपय देशहरुले सीमा नाका बन्द गरेर सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध समेत गरेका छन्। यता नेपालको सीमानाकासँग जोडिएको भारतमा हालसम्म कारोनाबाट एक सय ४८ जना संक्रमित भेटिएका छन्। जसमध्ये ३ जनाको मृत्यु भइसकेको छ भने संक्रमितधमध्ये १४ जना स्वस्थ भएका छन्। भारतमा उक्त भाइरसको भयावह अवस्था भइरहेका बेला भने नेपालका सीमा नाकाबाट दैनिक हजारौ आवतजावत गरिरहेका छन्।
‘विश्वले अहिले सेल्फ क्वारेन्टाइन अर्थात आफै एक्लै भएर बस्ने अभ्यास गरिरहेको बेला नेपालमा भने खुला सीमा नाकाबाट आवतजावत गर्दैछन्’ वरिष्ठ फिजिसियन डा शर्माले भने, ‘नेपालले बोर्डर लकडाउन (सीमानाका बन्द) गरेपश्चात कोरोना संक्रमित भित्रिने सम्भावना कम हुन्छ, तसर्थ अत्यावश्यक कामका लागि मात्रै सीमा खोल्ने गर्नुपर्छ।’
‘त्यस्ता अत्यावश्यक काममा जाने र आउनेहरुले पनि १४ दिन क्वारेन्टाइनमा बस्न आवश्यक छ’ उनले थपे। हेल्थ डेस्कमा भइरहेको चेकजाँचले मात्रै कोरोना भित्रिन सक्दैन भन्ने ग्यारेन्टी दिन नसिकिने उनले बताए।