कोरोनाबाट जोगिन सुदूरपश्चिममा के छ तयारी ?
प्रदेशमा ११ हेल्थ डेस्क, ४७ वटा आइसोलेन बेड स्थापना
धनगढी: चीनको वुहानबाट फैलिएको कोभिड –१९ कोरोना भाइरसबाट विश्वभरी चार हजार नौँ सय ८४ जनाको मत्यु भइसकेको छ। अहिलेसम्म एक लाख ३४ हजार आँठ सय २९ जना यो भाइरसबाट संक्रमित भएकोमा ७० हजार तीन सय ९६ संक्रमितलाई निको भइसकेको वल्डोमिटरको तथ्याकं रहेको छ।
नेपालमा भने हालसम्म एकजनामा मात्र कोरोना देखिएको थियो। उनलाई पनि ठिक भएर घर फर्किसकेका छन्। नेपालले भाइरसबाट जोगिन विभिन्न सर्तकता अपनाइरहेको छ। नेपालभरीका नाकाहरुमा हेल्थ डेस्क स्थापना गर्नेदेखि लिएर विभिन्न अस्पतालहरुमा आइसोलेसन वार्ड स्थापना गरिएका छन्।
यता सुदूरपश्चिम प्रदेश सरकार र यस प्रदेशका विभिन्न स्थानीय तहले पनि कोरोना भाइरसबाट जोगिन र फैलिहाले नियन्त्रण गर्न विभिन्न निर्णयहरू गरेको छ। हालसम्म सुदूरपश्चिममा कोरोना भाइरसका बिरामी नदेखिए पनि पूर्व तयारीलाई मजबुत बनाउने निर्णय प्रदेश सरकारको छ।
सम्भावित जोखिमबाट बच्न सबै जिल्लामा आइसोलेसन कक्ष र क्वारेन्टाइन स्थापना गर्ने निर्णय पनि प्रदेश सरकारले गरेको छ। यस्तै जिल्लाका सीमा नाकामा स्थापना गरिएका हेल्थ डेस्कलाई प्रभावकारी बनाउने निर्णय पनि गरिएको छ।
प्रदेशमा ११ हेल्थ डेस्क, ४७ वटा आइसोलेन बेड स्थापना
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार ९ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा ११ वटै नाकामा स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) स्थापना भएका छन्। जसमध्ये कैलाली र दार्चुलामा तीन÷तीन, कञ्चनपुर र डडेल्धुरामा दुई÷दुई, बैतडीमा एक हेल्थ डेस्क स्थापना गरिएका हुन्। ती सबै हेल्थ डेस्क मध्ये ठूला नाकामा चार जना कर्मचारी र साना नाकामा दुई जना कर्मचारी खटाइएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
यस्तै प्रदेशभरीका १८ वटा अस्पतालमा ४७ वटा आइसोलेसन बेड समेत स्थापना गरिएको छ। जहाँ कोरोनाको आशंका लागेका विरामीलाई राखेर निगरानी गरिनेछ। साथै स्वास्थ्य निर्देशनालयले कारोनाको जोखिमबारे जनस्तरमा चेतनाका लागि सञ्चार माध्यमबाट विभिन्न सचेतनामुलक सन्देश प्रसारण तथा प्रकाशित गरेको र सन्देशमुलक पम्पेलटहरु बाडेको बताएको छ।
साना नाकामा छैन तयारी
सुदूरपश्चिमसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशको राजधानी लखनऊमा एक महिलामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। धनगढीबाट ६ घण्टाको दुरीमा रहेको उक्त स्थानमा कोरोना भेटएपनि प्रदेशभरी रहेका साना नाका तथा घाटमा भने स्वास्थ्य सहायता कक्ष स्थापना भएका छैनन् र पूर्वसतर्कता अपनाइएको छैन्।
ती नाकाहरुबाट दिनहुँ आवतजावत हुने भएकोले कोरोना भाइरसका संक्रमित भित्रिने प्रवल सम्भावना छ। भारतसँग सीमा जोडिएका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलामा अवैध नाका समेत छन्। ती स्थानबाट नेपालीहरु भारत ओहारदोहोर गर्ने गर्दछन्। वैध नाकामा विभिन्न सावधानी अपनाइएपनि ती नाकामा भने आवातजावत बन्द गराउन पनि वेवास्ता गरिएको छ। यद्यपी वैतडी जिल्लाका साना नाका भने बन्द गरिएको छ।
प्रदेशमा हालसम्म स्थापना भएन क्वारेन्टाइन
सामान्यतया क्वारेन्टाइन शब्द सरुवारोग नियन्त्रणसँग सम्बन्धित छ। इन्साइक्लोपिडिया ब्रिटानिकाका अनुसार क्वारन्टाइन भन्नाले कुनै सरुवा रोगको जोखिममा रहेका मानिस वा पशुलाई हिँडडुल गर्नबाट रोक्ने वा उनीहरूलाई अलग्गै सुरक्षित स्थानमा राख्ने भन्ने बुझाउँछ। सरुवा रोग संक्रमण र त्यो फैलाउने जोखिमबाट मुक्त नभएसम्म उनीहरूलाई क्वारेन्टाइनमा राखिन्छ।
कोभिड –१९ कोरोना भाइरसका आशंका लागेका विरामीलाई सुरुमा आइसोलेन वार्ड अथवा बेडमा राखेर निगरानी गरिन्छ जहाँ तिनीहरुको चेकजाँच हुन्छ। ती व्यक्तिलाई कोरोना लागेको पुष्टि भएमा अलग्गै क्वारेन्टाइनमा राखेर उपचार गर्नुपर्ने हुन्छ।
तर सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित भेटिएको खण्डमा अलग्गै राखेर उपचार गर्ने क्वारेन्टाइन स्थापना भएको छैन्।