धनगढीमा साथीलाई फोन गर्छु भनी मोबाइल मागेर टाप कस्ने दुईजना पक्राउ
धनगढी: अछामको साँफेबगर नगरपालिका–२ घर भई हाल धनगढी उपमहानगरपालिका–४ मा डेरा गरी बस्ने १८ वर्षीय पुष्पराज रेग्मीसँग अनौठो घटना घट्यो। माघ ५ गते धनगढीको खप्तड चोकको सडकखण्डमा उनीसँग २ जना अपरिचित व्यक्तिले साथीलाई फोन गर्नुछ भनेर मोबाइल मागे। उनीहरुले फोन गरेजस्तो गरेर रेग्मीसँग मोबाइलको पासवर्ड समेत माग्न भ्याइसकेका थिए।
एकपटक लक लागेपछि पासवर्ड मागेर पुनः लक खोलेर ती मध्येका एकजनाले फोन गरेजस्तो अभिनय गरे र अर्काले रेग्मीलाई कुरामा भुलाए। कुरामा भुलिएका पुष्पराज रेग्मीले एकछिनपछि मोबाइल लग्ने व्यक्ति त्यहाँबाट बेपत्ता भएको चाल पाए।
त्यक्तिकैमा उनीसँग भएको व्यक्तिले पक्कैपनि त्यो पसलमा गएको हुनुपर्छ भनेर उसलाई खोज्न भनी त्यहाँबाट हिड्न खोज्यो। ती व्यक्तिलाई रोक्न खोज्दा उल्टै आफुलाई हातपात गरेर ती पनि फरार भएको पुष्पराजले प्रहरी बयानमा बताएका छन्।
प्रहरीले घटनाबारे जानकारी पाउनासाथ अनुसन्धान गरेर ती दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका– ५ बस्ने १९ वार्षीय अभिनाश बोगटी र १८ वर्षीय राजेन्द्र भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।
पक्राउ परेका उनीहरुले सोही तरिकाबाट बाजुराको त्रिवेणी नगरपालिका–१ का हर्कबहादुर बुढाको मोबाइल समेत चोरेको प्रहरी नायव उपरिक्षक बस्नेतले बताए। पक्राउ परेका दुवै जनाको साथबाट चोरिएका ‘रेड मी ६’ र ‘रेड मी सेभेन ए’ मोबाइल समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका अभिनाश बोगटी र राजेन्द्र भण्डारीमाथी चोरी शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।