माघे संक्रान्तिमा डडेल्धुराको ‘परशुराम धाम’मा मेला
डडेल्धुरा: हरेक वर्ष जस्तै यसवर्षपनि माघे संक्रान्तिमा डडेल्धुराको परशुराम धाममा मेला लाग्ने भएको छ। जिल्लाकोे भित्री मधेसमा पर्ने परशुराम नगरपालिका–५ परीगाउँस्थित परशुराम धाममा माघे संक्रान्तिको अवसरमा आज रातिदेखि मेला लाग्दैछ।
चार धाममध्येको एक धाम परशुराम धाममा पुस महिनाको मसान्त तथा माघे संक्रान्तिको अवसरमा मेला लाग्ने गर्दछ। पुस मसान्तको साँझ त्यहा पुगेर रात भरी मुडाको आगो तापेर भक्तजनहरु जागाराम बस्ने गर्दछन। त्यसो गर्नाले धर्म कमाइने आस्था रहेको छ।
त्यसपछि माघ १ गते बिहानै ४ बजेबाट महाकाली किनारमा नुहाउने भक्तजनहरु भिड लाग्छ। माघे संक्रान्तिको दिन गंगा स्नान गरेमा सम्पूर्ण पाप कट्टी हुने तथा पुण्य कमाइने विश्वास रहिआएको छ।
परशुराम धाममा रहेका चुनढुंगा भगवान परशुरामले तपस्या गरेपश्चात होम गरेपछि बनेको भन्ने जनविश्वास रहँदै आएको छ। भगवान परशुरामले तपस्या गरेकाले यो स्थानको नाम परशुरामधाम राखिन गएको पुराणमा उल्लेख गरिएको छ।
मेला भर्न सुदूरपश्चिमका विभिन्न जिल्ला तथा छिमेकी राष्ट्र भारतबाट समेत तिर्थालु तथा दर्शनार्थीहरु आउने गरेको परशुराम क्षेत्र विकास समितिका अध्यक्ष प्रेम चन्द ठकुरीले जानकारी दिए।
एकातिर चूरे पर्वत श्रृंखला र अर्कोतिर महाभारत पर्वतसंगै भारतको पूर्णागिरी पर्वतको मध्य भागमा रहेको परशुरामधाम डडेल्धुराको सदरमुकामदेखि १ सय किलोमिटर र कञ्चनपुरबाट ३९ किलोमिटरको दुरीमा सडक मार्गबाट पुग्न सकिन्छ।
स्कन्द पुराणमा उल्लेख भएअनुसार नजिकै रहेको पूर्णागिरी मन्दिरमा सतिदेवीको पूर्ण अंग पतनपछि भगवान् शिवले यही धाममा लामो कालखण्ड तपस्या गरेका थिए। पछि ईश्वरीय अवतारका लागि यही पुण्य भूमीमा परशुरामले तपस्या सफल गरे। परशुराम भगवान् विष्णुका दश अवतारमध्ये एक मानिन्छन।