महिला विश्वकपमा नेपालले अस्ट्रेलियासँग खेल्दै
काठमाडौंः मलेसियामा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप २०२५ को आफ्नो तेस्रो खेलमा नेपालले आज अस्ट्रेलियासँग खेल्दैछ।
नेपाल र अस्ट्रेलियाबीचको खेल मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि सुरू हुनेछ। नेपालले पहिलो खेलमा बंगलादेश तथा दोस्रो खेलमा स्कटल्याण्डसँग हार व्यहोरेको थियो। सुपर सिक्समा पुग्नका लागि नेपाललाई यस खेलमा जितको विकल्प छैन। अस्ट्रेलिया भने सुपर सिक्समा पुगिसकेको छ। नेपाल बंगलादेशसँग ५ विकेटले पराजित हुँदा स्कटल्याण्डसँग जित नजिक पुगेर १ विकेटले पराजित भएको थियो।
अस्ट्रेलियाले स्कटल्याण्डलाई ९ विकेट तथा बंगलादेशलाई २ विकेटले हराएको थियो। नेपालले महिला क्रिकेटमा अस्ट्रेलियासँग खेल्न लागेको यो पहिलोपटक हो। यसअघिको विश्वकपमा सेमिफाइनलसम्म पुगेको अस्ट्रेलिया बलियो टोली हो। त्यसबेला विश्वकप खेलेका पाँच खेलाडीहरू अहिले पनि टोलीमा छन्। आजको पहिलो खेलमा बंगलादेशले स्कटल्याण्डलाई हराएर नेपालले अस्ट्रेलियालाई सामान्य अन्तरले हराएपनि नेपाल सुपर सिक्समा पुग्नेछ।
स्कटल्याण्डले बंगलादेशलाई हराएको खण्डमा नेपालले बंगलादेशको रनरेटभन्दा अगाडि जाने तरिकाले अस्ट्रेलियालाई हराउनुपर्ने छ। अस्ट्रेलियासँग पराजित भएमा नेपाल बाहिरिने पक्का छ।