सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको मालपोत र नापी कार्यालयमा हुलाक टिकटमै ठगी

२०८१ पुष ४, ०६:३९ नारायण अवस्थी

धनगढीः धनगढीस्थित मालपोत र नापी कार्यालय परिसरमा हुलाक टिकटमा ठगी हुने गरेको पाइएको छ। लामो समयदेखि मालपोत र नापी कार्यालयमा आउने सेवाग्राहीबाट हुलाक टिकटको दोब्बर मूल्य असुल्ने काम भइरहेको हो।

लेखापढी व्यवसायीहरूले सेवाग्राहीलाई हुलाक टिकटको दोब्बर मूल्य असुल्दै आएका हुन्। जग्गा रजिस्ट्रेसनका लागि दस रुपैयाँको टिकट टाँसेर सर्वसाधारणबाट २० रुपैयाँ हाकाहाकी असुल्ने काम भइरहेको छ।

हुलाक टिकटमा दोब्बर असुली

धनगढीको मालपोत तथा नापी कार्यालय परिसरमा हुलाक टिकट बिक्री गर्दा सर्वसाधारणलाई ठग्ने काम भइरहेको छ। कित्ता काट तथा जग्गा रजिस्ट्रेसन गर्न आएका सेवाग्राहीलाई लेखापढी व्यवसायीले ठग्ने गरेका हुन्। उनीहरूले हुलाक टिकट बिक्रीमा दोब्बर मूल्य असुल्दै आएका छन्। बिहिवार कार्यालय समयमै लेखापढी व्यवसाय गर्दै आएका कालीप्रसाद चौधरीले दोब्बर मूल्यमा टिकट बिक्री गरिरहेका थिए। उनले सेवाग्राही आफैँ माग्न आउने गरेकाले दस रुपैयाँ पर्ने टिकट २० रुपैयाँमा बिक्री गर्दै आएको बताए। दोब्बर मूल्यमा टिकट बिक्री गर्नु गलत नभएको चौधरीको दाबी थियो।

मालपोत र नापी कार्यालय, धनगढीको परिसरमा अधिकांश लेखापढी व्यवसायी दोब्बर मूल्यमा टिकट बिक्री गर्दै आएका छन्। रजिस्ट्रेसन पास गर्दा १० रुपैयाँको टिकट टास्नुपर्ने व्यवस्था छ। तर, सबै लेखापढी व्यवसायीले दोब्बर मूल्यमा टिकट बिक्री नगरेको लेखापढी व्यवसायी संघका अध्यक्ष टिकाराम जोशीको दाबी छ। उनले दोब्बर मूल्यमा टिकट बिक्री नगर्न आग्रह गर्दा परेको आफैँ ब्यहोर्ने जबाफ लेखापढी व्यवसायीले दिने गरेको बताए। ‘सबै लेखापढी व्यवसायीले टिकट बिक्री गर्दैनन्। एक जनाले मात्रै बिक्री गर्छन्,’ उनले भने, ‘त्यसरी बिक्री नगर्न भन्दा मानेको छैनन्।’

लेखापढी बापत तोकिएको शुल्क उठाउने लेखनदासहरूले हुलाक टिकटमा भने दोब्बर मूल्य असुल्ने गरेका छन्। तर, दोब्बर मूल्यमा हुलाक टिकट बिक्री गर्न नहुने हुलाक निर्देशनालय धनगढीका निमित्त प्रमुख तारामणि चौधरीले बताए। उनले कार्यालय स्वयंले टिकट उपलब्ध गराउने व्यवस्था मिलाउनसके सेवाग्राही मर्कामा नपर्ने बाताए।

मालपोत र नापी कार्यालयमा कामका लागि आउने सेवाग्राहीले टिकट खरिद गर्नुपर्दा लेखनदासहरूलाई दोब्बर मूल्य तिर्नुपरेको गुनासो गरेका छन्। तर, दोब्बर मूल्यमा हुलाक टिकट बिक्री गर्ने लेखापढी व्यवसायीलाई कारबाही गरिने मालपोत कार्यालय धनगढीका प्रमुख मालपोत अधिकृत प्रेमसिंह दौल्यालले बताए। उनले तोकिएको मूल्यभन्दा बढी लिएर टिकट बिक्री गरेको पाइए लेखापढी व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएका छन्। ‘टिकटमा जति रुपैयाँ लेखिएको छ त्योभन्दा बढी मूल्य लिन पाइन्न। बढी मूल्य लिएको निवेदन आए कारबाही गर्छौं,’ उनले भने, ‘सचेत गराउने र लाइसेन्स खारेजसम्मको कारबाही हुन्छ।’

हरेक दिन सयौँ सेवाग्राही आउने मालपोत र नापी कार्यालय धनगढीमा टिकट बिक्रीमा खुलेआम लुटधन्दा चलाइएको छ। सेवाग्राही खुलेआम लुटिँदासमेत सरोकारवाला निकाय भने मौन बसेको पाइएको छ।

 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस