डोटीको बडिकेदार धाममा सिमेन्टका बोरा छरपस्ट
धनगढी : डोटीको बडिकेदार धाममा सिमेन्टका बोराहरू छरपस्ट छोडिएको छ। बडिकेदार धामसम्म लैजान खच्चरमार्फत ढुवानी गरिएका १५ बढी सिमेन्टरका बोराहरू छरपस्ट पारिएको हो।
डोटीमा गत मङ्सिर २७ गते हिउँ परेपछि छरपस्ट छोडिएका बारोहरूको सिमेन्टर खराब भएको छ। कल्पवृक्ष बिल्र्डसको १५ बढी बोराहरू हिउँका कारण खराब भएको हो। बडिकेदार धाममा १६ वटा खच्चरमार्फत ३२ बोरा सिमेन्ट ढुवानी गरिएको कल्पवृक्ष बिल्र्डस्ले बताएको छ। खच्चरमार्फत ढुवानी गरिएका ३२ बोरा सिमेन्टमा १५ बोरा खराब भएका कल्पवृक्षका प्रतिनिधि सन्तोष ढुङ्गानाले बताए। उनले भने, ‘पार्किङदेखि माथि खच्चरमार्फत ढुवानी गर्नुपर्छ। ढुङ्गाको गाडी आएपछि उहाँहरू तल आउनु भएको रहेछ। हिउँ परेपछि खच्चरमा पठाएको १५ बोरा सिमेन्ट खराब भएको हो।’
डोटीको बडिकेदार धामका लागि निर्माण कम्पनीले तीन सय ८० बोरा सिमेन्ट पठाएको थियो। तीन सय ४० बोरा सिमेन्ट सडक सञ्जाल पुगेको पार्किङ क्षेत्रमा राखिएको छ। बाँकी बोरा सिमेन्ट निर्माणको काम जारी रहेको क्षेत्रमा खच्चरमार्फत पठाएकोमा हिउँले खराब भएको हो।
डोटीको बडिकेदार धाममा रेलिङ्ग, पदमार्गमा भर्याङ्ग, सडकको नाली, प्रशासनिक भवन, प्रतीक्षालय तथा शौचालयहरू निर्माण गर्न ६ करोड ८५ लाखमा २०७९ सालमा ठेक्का सम्झौता भएको थियो। नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, पर्यटन विभागमार्फत बडिकेदार धाममा भौतिक संरचनाहरू निर्माणको ठेक्का सम्झौता भएको हो। कल्पवृक्ष बिल्डस्ले १२ जनाले बडिकेदार धाम क्षेत्रमा काम गर्दै आएका दाबी गरेको छ। बडिकेदार गाउँपालिकाले निर्माण गरेको सडकमा निर्माण कम्पनीले २ सय मिटर नाली निर्माणको काम गर्दै छ। बडिकेदार धामसम्म २४ हजार किलोग्राम रेलिङ्गको कामसमेत जारी रहेको छ। निर्माण कम्पनीले २०८१ कात्तिकसम्म भौतिक पूर्वाधार निर्माणको काम पूरा गर्नुपर्ने छ।
बडिकेदार क्षेत्र, पर्यटन विकास व्यवस्थापन समितिका कार्यकारी अधिकृत, दिपेन्द्र सिडारीले धाम क्षेत्रमा हिउँका कारण निर्माण कम्पनीको सिमेन्ट खराब भएको बताए। बहुवर्षीय ठेक्कामार्फत भौतिक संरचनाहरू निर्माणको काम गर्दै आएको निर्माण कम्पनीका सिमेन्टका बोराहरू हिउँका कारण खराब भएका उनले बताएका हुन। नौ करोड कडिकेदार धाम क्षेत्रको विकासका लागि सङ्घीय सरकारबाट विनियोजन गरिएकोमा ६ करोड ८५ लाखमा पर्यटन विभागले ठेक्का सम्झौता गरेको सिडारीले बताएका छन्।