धनगढीको एक नमुना विद्यालयको व्यथाः जहाँ विद्यार्थी नै नियमित आउँदैनन्
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–९ स्थित भवानी माध्यमिक विद्यालयमा विद्यार्थी नियमित हाजिर नहुने समस्या बढ्दै गएको छ।
उपमहानगरपालिकाले नमुना विद्यालय घोषणा गरे पनि विद्यार्थीहरुमा पढाइप्रतिको अभिरुचि भने जगाउन सकिएको छैन। ग्रामीण क्षेत्रको सो विद्यालयमा पढ्ने विद्यार्थीका अभिभावक रोजगारीका लागि भारत जाने गर्छन्। अभिभावकले विद्यार्थीहरूलाई समेत आफैसँग भारत लाग्ने भएकाले गयल हुनेको संख्या बढ्दै गएको हो।
बैशाखमा भर्ना भएका विद्यार्थी दशैं बिदासम्म नियमित आउने र त्यसपछि भारत जाने गर्छन्। जसका कारण एकै कक्षामा बढीमा चार पटकसम्म विद्यार्थीले कक्षा दोहोर्याउनुपर्ने बाध्यता देखा परेको प्रधानाध्यापक रामबहादुर बोहराले बताए। उनले विद्यार्थी लगातार तीन–चार महिनासम्म अनुपस्थित रहने समस्याले विद्यालयको समग्र नतिजा नै प्रभावित हुने गरेको बताए। यो वर्ष विद्यालयमा ३९२ जना भर्ना भएका छन्।
कक्षा ८ मा सबैभन्दा बढी ११८ जना तथा कक्षा १० मा जम्मा १० जना भर्ना भएका छन्। कुल विद्यार्थीमा २३२ छात्रा तथा १६० जना छात्र रहेका छन्। विद्यालयमा भर्ना भएकामध्ये सबै विद्यार्थी नियमित विद्यालय नआउने प्रवृति देखा परेको छ। कूल विद्यार्थीको २० प्रतिशत विद्यार्थी भर्ना भएदेखि विद्यालय नै नआउने समस्या रहेको विद्यालयका प्रधानाध्यापक बोहराले बताए।
‘विद्यार्थीका अभिभावक कामका लागि भारत जाने र बालबालिकालाई अरुको जिम्मामा लगाउने प्रवृत्ति रहेको छ’, उनले भने, ‘कात्तिकपछि विद्यार्थी पनि अभिभावकसँगै भारत जाने र एकैपटक चैतमा वार्षिक परीक्षा दिन आउँछन्। जसका कारण विद्यार्थी अनुत्तीर्ण हुने दर बढी छ।’ उपमहानगरपालिकाले ग्रामीण क्षेत्रमा रहेको भवानी माध्यमिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन नमुना घोषणा गरेको हो।
विद्यार्थीहरूबाट कुनै किसिमको शुल्क निलिने, किताबका अतिरक्त कापी र अन्य शैक्षिक सामग्री तथा छात्राहरूलाई विद्यालय पोसाक समेत निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको छ। कमजोर विद्यार्थीका लागि विशेष कक्षाका साथै साँझ बिहान अतरिक्त कक्षा चलाउँदा पनि विद्यार्थीहरू नै नियमित हाजिर नहुँदा समग्र शैक्षिक उपलब्धि नै प्रभावित भएको प्रधानाध्यापक बोहराले बताए। उनले विद्यार्थी लामो समयसम्म गयल हुने, अभिभावक विदेश हुने जस्ता समस्याले सिकाइ उपलब्धि प्रभावित हुने गरेको बताए।
विद्यार्थी र अभिभाव पढाइप्रति उदासिन रहँदा विद्यालयले लगानी अनुसारको सिकाइ उपलब्धि हासिल गर्न सकेको छैन। बैशाखदेखि कात्तिक मसान्तसम्म १३३ दिन विद्यालय खुलेको भए पनि नियमित रुपमा गयल हुने विद्यार्थी १२ दिन मात्रै विद्यालयमा हाजिर भएको पाइएको छ। नियमित विद्यालय नआउने विद्यार्थी परीक्षामा सम्मिलित भए पनि अनुत्तीर्ण हुने गरेका छन्। विद्यालयमा कक्षा दोहोर्याउने विद्यार्थीको संख्या पनि उच्च छ।
केही विद्यार्थीले बढीमा चार पटकसम्म एउटै कक्षा दोहोर्याउने समस्या रहेको प्रधानाध्यापक बोहराले बताए। उनले भने, ‘नियमित कक्षामा उपस्थित नहुँदा विद्यार्थी अनुत्तीर्ण हुने दर पनि बढी छ। एकै विद्यार्थी चार पटकसम्म एउटै कक्षामा दोहरिएर भर्ना भएको अवस्था छ। यस्ता विद्यार्थीहरूमा पढाइप्रति रुचि नै नहुने समस्या छ।’ दलित तथा विपन्न समुदायका विद्यार्थीको संख्या उल्लेख्य भएको सो विद्यालयमा शैक्षिक सुधारका लागि कक्षामा स्मार्ट बोर्डको प्रयोग, खेल सामग्रीको उपलब्धता र शिक्षक तालिमको व्यवस्था गरिएको छ। तर, अभिभावक नै बालबालिकाको पढाइप्रति जिम्मेवार नभएकाले शैक्षिक उपलब्धि हासिल गर्न कठिनाइ भइरहेको शिक्षकहरूले बताएका छन्।