सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–१९ दक्षिण लल्लीपुरमा पाँच सय बिघा जमिन नदी कटानको जोखिममा

२०८१ मंसिर २२, ०७:०४ नारायण अवस्थी

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–१९ दक्षिण लल्लीपुरमा पाँच सय बिघा जग्गा कटानको जोखिममा परेको छ।

दक्षिण लल्लीपुरमा मोहना नदीले गत वर्षदेखि कटान गर्न थालेको छ। यो वर्ष मात्रै सामुदायिक वनको करिव ३० बिघा जमिन कटान गरेको मोहना नदीले सोही ठाउँमा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा चौकीसमेत बगाएको थियो। स्थानीयले फूलवारी ‘आई’गाउँ नै कटानको जोखिममा रहेकाले नदीमा तटबन्ध हुनुपर्ने माग गरेका छन्। 
पाँच वर्षदेखि कटान तीव्र
धनगढी–१९ दक्षिण लल्लीपुरमा पाँच वर्षदेखि मोहना नदीले कटान गर्न थालेको छ। गत वर्ष सामुदायिक वनको करिब २० बिघा जग्गा कटान गरेको मोहनाले यो वर्ष झन्डै ३० बिघा वन क्षेत्र कटान गरेको छ। फूलवारी ‘आई’गाउँसँग जोडिएको दक्षिण लल्लीपुरमा यो वर्ष मोहना नदीले सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्टसमेत बगाएको हो।

पाँच वर्षदेखि मोहनाले कटान तीव्र बनाएको सो क्षेत्रमा करिब पाँच सय बिघा जग्गा कटानको उच्च जोखिममा रहेको स्थानीय राजेन्द्रबहादुर खड्काले बताए। उनले मोहनाले पाँच वर्षदेखि कटान तीव्र बनाएको बताए। ‘यो क्षेत्रमा रहेको सामुदायिक वन पूरै मोहनाले बगाएको छ। अब थोरै वन मात्रै बाँकी छ,’ उनले भने, ‘नदी गाउँतर्फ फर्केकाले करिब पाँच सय बिघा जग्गा कटानको जोखिममा रहेको छ।’
‘आई’गाउँ नै जोखिममा
विगमा भारततर्फ बग्ने मोहना नदी दुई वर्ष अघि नेपालतर्फ फर्किएको छ। भारततर्फ बलियो तटबन्ध निर्माण गरिएपछि नदीको धार नेपालतर्फ सोझिएको स्थानीय अम्बिका मगरले बताइन्। नेपालतर्फ पनि बलियो तटबन्ध यो वर्षको साउन–भदौमा मोहना नदीले सशस्त्रको क्याम्पसँगै खेतीयोग्य जमिनमा पनि कटान गरेको र आउने वर्षहरूमा तटबन्ध नगरिए गाउँ नै बग्ने जोखिम रहेको बताउँछन् वडा सदस्य लालबहादुर थापा।

धनगढीस्थित फूलवारी क्षेत्रको सीमावर्ती क्षेत्रमा पर्ने वडा नम्बर १४ को खुटिया टोल, वडा नम्बर १८ को नुक्लिपुर तथा वडा नम्बर १९ को लल्लीपुर मोहना नदीको कटानको चपेटामा परेका बस्ती हुन्। स्थानीयले यी क्षेत्रमा बलियो तटबन्ध निर्माण गर्नुपर्ने माग गर्दै आएका छन्। खुटियाका लागि एक करोड बजेट निर्वाचन क्षेत्र विकास कोषबाट हालेको तथा दक्षिण लल्लीपुरका लागि संघीय सरकारले यो वर्ष ३५ लाख बजेट हालेको संघीय सांसद डिल्लीराज पन्तले बताए। फूलबारीको सीमावर्ती क्षेत्रमा रहेका बस्तीहरूमा मोहना नदीको त्रास त्रास रहेको छ। सरकारले बलियो तटबन्ध निर्माण नगर्दा मोहनाले जुनसुकै बस्तीलाई बगरमा परिणत गर्ने जोखिम छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस