धनगढी–१४ मा खुटिया नदीको जोखिमः बगर बन्यो २२ बिघा जमिन
धनगढीः कैलाली धनगढी उपमहानगरपालिका–१४ मा खुटिया नदीले यो वर्ष मात्रै २२ बिघा जग्गा कटान गरेको छ।
‘एच’गाउँको खुटिया टोलमा खुटिया नदीले यसअघि निर्माण गरेको तटबन्ध भत्काएर कटान गरेको छ। गत वर्षसम्म एक किलोमिटर टाढा बग्ने खुटिया नदी यो वर्ष बस्ती नजिकै पुगेको छ। खुटिया टोलको करिब ६० घर र उनीहरूको खेतबारी कटान र डुबानको जोखिममा परेको छ। स्थानीयले भने खुटिया नदीको कटान रोक्न जनताको तटबन्धन निर्माण गर्नुपर्ने बमबहादुर चौधरीले बताए। उनले खुटियाको कटानले खुटिया टोल जोखिममा रहेको बताए।
‘नदी कटानका कारण यो वर्ष २२ बिघा जग्गा गुमेको छ। टोलको डिलमै नदी पुगेको छ,’ उनले भने, ‘कटान नियन्त्रणका लागि सरकारले जनताको तटबन्ध निर्माण गरिदिए हामी सुरक्षित हुने थियौँ।’ विगतमा निर्माण भएको तटबन्ध नै बगाएर खुटियाले कटान गरेको स्थानीय रामदिन चौधरीले बताए। उनले तटबन्ध नै बगाएर नदी बस्तीको नजिकै पुगेकाले आउने वर्षमा झन जोखिम बढेको बताए।
‘नदी एक किलोमिटर टाढा थियो, यो वर्षाको भदौंमा तटबन्ध नै बगाएर कटान गरेको हो,’ उनले भने, ‘बलियो तटबन्ध नगरिए ६० परिवार रहेको टोलको उठिबास हुने भएको छ।’ गत वर्षसम्म एक किलोमिटर टाढा बग्ने खुटिया नदी कटानका कारण बस्ती छेउमै पुगेको छ। नदीले २२ बिघा जग्गा कटान गरेर बगाएको छ भने धेरै किसानको खेतमा बालुवाले पुरिएको छ। स्थानीयले जनताको तटबन्धन निर्माण गरी खुटिया नदीको कटान रोक्नुपर्ने माग गरेका छन्।
गएको वर्षातमा खुटियाको बाढीले भएको तटबन्ध बगाएर ठुलो क्षेत्रमा कटान गरेकाले यो वर्ष तटबन्ध निर्माण नगरिए बस्ती नै बग्ने खतरा बढेको वडाअध्यक्ष मानबहादुर बिष्टले बताए। उनले तटबन्ध निर्माण गरी बस्तीलाई सुरक्षित राख्न प्रदेश र संघीय सरकारबाट बजेट आउने कुरा भएको बताए। वडा नम्बर १४ को दुई ठाउँमा खुटिया र मोहना नदीले कटान गरेको छ। धनगढी–१८ र १९ मा पनि मोहना नदीले ठुलो क्षेत्रमा कटान गरेको छ।
स्थानीयले प्रदेश र संघीय सरकारले बलियो तटबन्ध निर्माण हुनुपर्ने माग गरेका छन्। अहिलेसम्म भने तटबन्ध निर्माण गर्न आवश्यक रकमको जोहो भएको छैन। तर, प्रदेश सभा सदस्य रमेशसिंह धामीले संघ र प्रदेश सरकारसँग बजेटका लागि पहल गरिरहेको बताएका छन्। उनले फुलबारी र उर्मा क्षेत्रमा नदीको कटान बारे आफू जानकार रहेको बताउँदै बजेका लागि संघ र प्रदेश सरकारसँग समन्वय र पहल गरिरहेको बताए।
‘मलाई त्यो क्षेत्रको कटानको विषयमा जानकारी छ। अस्ति मात्रै जनताको तटबन्धन कार्यालय कञ्चनपुरमा पुगेर कुरा गरेको छु। प्रदेश र संघ सरकारको मन्त्रालयमा पनि कुरा अगाडि बढाएको छु,’ उनले भने, ‘अहिलेसम्म दिगो समाधानका लागि बजेटको सुनिश्चितता भएको छैन। मैलै आवश्यम पहल गरिरहेको छु।’ खुटिया नदीले धार परिवर्तन गर्दा यो वर्ष तटबन्ध बगाएर २२ बिघा मलिलो खेत बगेको हो। नदीले थप १०/१२ बिघामा बालुवा थुपारेको छ।