कैलालीमा खेलकुदप्रति आकर्षण बढ्दै
धनगढीः पछिल्लो समय कैलालीमा क्रिकेट, फुटबललगायत खेलकुदका प्रतियोगिताहरू आयोजना हुन क्रम बढ्न थालेका छन्। विभिन्न समयमा यसरी जिल्लामा खेल प्रतियोगिता हुन थालेसँगै युवामा खेलप्रति आकर्षण बढ्दै गएको छ।
ठूला धनराशिका खेलहरु आयोजना हुुने कैलालीमा यतिबेला घोडाघोडी नगरपालिकामा ‘जिल्ला लिग फुुटबल’ प्रतियोगिता भइरहेको छ। जिल्ला लिग फुटबल सङ्का अध्यक्ष अनिल मल्लले फुटबल खेल र खेलाडीको निरन्तर विकासका लागि प्रतियोगिता हुँदै आएको बताए। उनले यस्ता प्रतियोगिताले खेलकुदको क्षेत्रमा भविष्य निर्माण गर्न चाहने युवाका लागि अवसर र उत्प्रेरणा पुग्ने विश्वास लिइएको बताए।
एक पछि अर्को प्रतियोगिता आयोजना हुुने कैलालीमा गत फागुुनमा गौरीगङ्गा गोल्डकप सम्पन्न भएको थियो। यस्तै कैलालीको धनगढीमा गत मङ्सिरमा लिटिल फ्लावर प्रिमियर लिग क्रिकेट प्रतियोगिता आयोजना भयो। यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा ठूलो टेवा पुगिरहेको लिटिल फ्लावर स्पोर्टस क्लबका अध्यक्ष रामचन्द्र शाहीले बताए। “हामीले प्रत्येक वर्ष आयोजना गर्ने प्रतियोगिताले धेरै खेलाडी उत्पादन भएका छन्”, उनले भने, “भुइँबाट उठेका खेलाडी अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेल खेलिरहेका छन्।” उनका अनुसार सरकारले खेल क्षेत्रमा लगानी बढाउन सके कैलालीबाट उत्कृष्ट खेलाडी उत्पादन हुन सक्छन्।
प्रत्येक वर्ष ठूला धनराशिका चार वटा र साना प्रतियोगिता १० भन्दाबढी आयोजना हुने गरेका छन्। आम नागरिकमा खेलप्रति बढेको रुचीले खेलाडीहरू पनि उत्साहित भएका छन्। खेलमा युवाको आकर्षण बढेसँगै खेलकुदका संरचना र खेल क्षेत्रमा राज्यको लगानीको कमी हुँदा खेलाडीलाई हतोत्साहित बनाउने गरेको छ।