सुदूर नेपाललाई विश्वसँग जोड्दै

बजेट देखाएर सुदूरपश्चिममाथि ठगी, कहिले बन्छ ‘हिलस्टेशन’ र केबुलकार?

२०८० पुष १७, १२:५४

वीरेन्द्र भट्ट, धनगढीः संघीय सरकारले सुदूरपश्चिमलाई ठग्दै आएको विषय कुनै नौलौ होइन। हरेक वर्ष बजेटमा नयाँ–नयाँ नारा दिएर सुदूरपश्चिमलाई ठग्ने प्रवृत्तिले यस वर्ष पनि निरन्तरता पाएको छ।

हिलस्टेशनदेखि केबुलकारसम्मका विषय बजेटमा राखेर सुदूरपश्चिमलाई फेरी एक पटक ठग्ने काम भएको छ। चालु आर्थिक वर्ष सुरु भएको करिब ६ महिना पुग्दैछ। साउनदेखि नै बजेट कार्यान्वयन हुने व्यवस्था छ। तर संघीय बजेटमा सुदूरपश्चिमका लागि समेटिएका विषयहरु केबल बजेट भाषणमा मात्र सिमित देखिएका छन्।

बजेटभित्र समेटिएका विषय आधा आर्थिक वर्ष सकिनै लाग्दा समेत कार्यान्वयनमा बेवास्ता गर्नु बजेट देखाएर ठग्नुबाहेक के हो? एक ‘हिल स्टेशन’ विकास गरिने विषय चालु आर्थिक वर्षको संघीय बजेटमा समावेश छ। खप्तडमा केवलकार निर्माणदेखि धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउने विषयसम्मै बजेटमा समावेश छ। तर काम अघि बढेको छैन्।

त्यस्तै काठमाडौंमा रहेको बुढानिलकण्ठ स्कूल र पोखरामा रहेको गण्डकी बोर्डिङ स्कूलको सञ्चालन मोडालिटी अवलम्वन गरी शैक्षिक गुठीमार्फत डडेल्धुरामा एक नमुना आवासीय सामुदायिक विद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्ने विषय बजेटमा राखिएको छ। तर अध्ययनको सुरुसारसम्म भएको छैन्। कैलालीको लम्कीमा नजिकको सरकारी अस्पतालसँगको समन्वयमा प्राथमिक ‘ट्रमा केयर सेन्टर’ स्थापना, धनगढीमा एकीकृत खानेपानी तथा ढल व्यवस्थापन, निर्माणाधीन धनगढी रंगशाला र कभर्ड हल निर्माण सम्पन्न गर्ने विषय पनि बजेटभित्र राखिएको छ।

महाकाली कोरिडोरको बम्हदेव–झुलाघाट–दार्चुला र दार्चुला–टिङ्कर सडक खण्डको स्तरोन्नतिका लागि ४५ करोड, सेती राजमार्गको टिकापुर–लोडे–चैनपुर र चैनपुर–तक्लाकोट खण्ड निर्माण गर्न ३० करोड, खुटिया–दिपायल–चैनपुर–उरैभन्ज्याङ्ग सडकका लागि २५ करोड बजेट विनियोजन गरिएको भए पनि निर्माणले गति लिन सकेको छैन्। त्यस्तै दैजी–जोगबुढा–डडेल्धुरा सडक स्तरोन्नति गर्न थप ३० करोड बजेट विनियोजन गरिएको छ।

बैतडी–पाटन नयाँ शहर आयोजनाको पूर्वाधार निर्माणको विषय पनि अलपत्र अवस्थामा छ। राष्ट्रिय गौरवको रानी–जमरा–कुलरिया सिँचाइ आयोजना अन्तर्गत प्रथम चरणको १४ हजार ३ सय हेक्टर सिञ्चित हुने शाखा नहर सञ्चालन गरी बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराउने विषय बजेटमा उल्लेख छ। साथै लम्की मूल नहरको शाखा तथा प्रशाखा नहरबाट थप एक हजार पाँच सय हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गर्न दुई अर्ब ६३ करोड बजेट विनियोजन गरिएको छ। कञ्चनपुर जिल्लाको ब्रम्हदेव क्षेत्रको दुई हजार ९ सय हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउन शाखा नहर निर्माण गर्न एक अर्ब १७ करोड बजेटको व्यवस्था गरिएको छ।

त्यस्तै महाकाली, कर्णाली, मोहना, खुटिया, जोखिमयुक्त नदी तथा पहिरोको नियन्त्रण तथा व्यवस्थापन गर्न बजेटको व्यवस्थापन गरिएको छ। पश्चिम सेती जलविद्युत परियोजना, सेती रिभर ६ जलविद्युत आयोजनाको परियोजना विकास सम्झौता गरी निर्माणदेखि पश्चिम सेती कोरिडोर प्रसारण लाइनको वित्तीय स्रोत व्यवस्थापन गरी निर्माण कार्य प्रारम्भ गरिने विषय संघीय सरकारको बजेटमा समावेश गरिएको भए पनि अहिलेसम्म काम हुन सकेको छैन्।
केबुलकार राख्न १० रुपैयाँ!
२०७४ सालमा खप्तड लेकमा केबुलकार सञ्चालन गर्न १० रुपैयाँ खुत्रुके अभियान चलाइएको थियो। अभियानमा बालबालिकादेखि वृद्धवृद्धाले सहयोग गरेका थिए। दिपायल–सिलगढी नगरपालिकाका–४ का तत्कालिन वडाध्यक्ष तथा डोटी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष वीरेन्द्र शाहले प्रादेशिक महोत्सवको उद्घाटन सत्रमा यस्तो अभियान नै सुरु गरेका थिए।

शाहको अभियानलाई युवाहरू नारायण जोशी, पुष्कर द्वारिया, नरी खड्कालगायतले साथ दिएका थिए। शैलेश्वरी यातायात व्यवसायी संघले त प्रत्येक यात्रुबाट ५ रुपैयाँ संकलन गरी केबुलकार अभियानमा सहयोग गर्ने घोषणा नै गरेको थियो। त्यस्तै विभिन्न व्यापारीहरूले एक बिल बराबर ५ रुपैयाँ दिने वाचा गरेका थिए। डोटी उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ, पुस्तक व्यवसायी संघले पनि केबुलकार सञ्चालनमा सहयोग गर्ने बताएका थिए। स्थानीयबाट यस्तो पहल भइरहँदा संघीय सरकारले भने बजेटमा विषय समावेश गर्ने र कार्यान्वयन गर्ने समयमा कुल्चने काम हुँदै आएको यो एउटा उदाहरण मात्र हो।

कमेन्ट लोड गर्नुस