यस्तो छ धनगढी उपमहानगरले कृषि र स्वास्थ्य क्षेत्रमा एक वर्षमा गरेको काम
धनगढीः स्थानीय तहको चुनाव भएको एक वर्ष पूरा भएको छ। गत वर्ष बैशाख ३० सम्पन्न स्थानीय चुनावापछि आएको स्थानीय सरकारले धनगढी उपमहानगरपालिकामा कृषि र स्वास्थ्य क्षेत्रमा एक वर्षको अवधिमा भए गरेका कामको विवरण तयार गरेको छ।
धनगढी उपमहानगरपालिकाको कृषि विकास शाखाबाट साना सिँचाई सहयोग कार्यक्रम, युवा लक्षित महिला कृषि विकास कार्यक्रम, कृषक पाठशाला, एक वडा एक कृषि उत्पादन कार्यक्रममा लगानी भएको उपमहानगरले तयार गरेको प्रगति विवरणमा उल्लेख छ। यस्तै, गहुँवाली पकेट विकास कार्यक्रम, खाद्यान्न वालीको उन्नत बिउमा अनुदान, तरकारीवाली पकेट विकास कार्यक्रम सञ्चालन, माटो जाँच शिविर सञ्चालन र मुक्त कमैया भूमिहीन, एकल तथा दलितका लागि आय आर्जन कार्क्रमक गरिएको छ।
थप दुई सय बिघामा सिँचाई सुविधा विस्तार
उपमहानगरले साना सिँचाई सहयोग कार्यक्रमका लागि ६४ लाखको लागतमा ५८ कृषि समूह लाभान्वित भएका छन्। जसमा ४२ जना कृषकलाई ७५ वटा टी बोरिङ, ४ इन्च बोरिङ १८ वटा, मोटर एक सय वटा, पम्पसेट ६० वटा अनुदानमा वितरण गर्दा २ सय बिघा जग्गामा सिँचाई विस्तार भएको उपमहानगरले जनाएको छ।
वडा नम्बर ९ मा एक करोडको आलु उत्पादन
कृषितर्फ वडा नम्बर ९ मा आलु पकेट विकास कार्यक्रममा ६ लाख लगानी गर्दै ४० बिघामा आलु खेती गर्न ६० परिवारलाई चार सय क्वीन्टल बिउ आलु र पाँच हजार क्वीन्टल खाने आलु उत्पादन हुँदा एक करोडको आलु उत्पादन भएको कृषि विकास शाखाले जनाएको छ।
वडा नम्बर ९ र १७ मा ६० लाखको तरकारी उत्पादन
एक वडा एक उत्पादन अन्तर्गत वडा नम्बर ९ र १७ मा तरकारी उत्पादन गर्न ४० बिघामा विभिन्न जातको ६ सय मेट्रिक टन हिउँदे र बसन्ते तरकारी उत्पादन गरेर किसानले ६० लाख मूल्यको तरकारी बिक्री गरेका छन्।
गहुँ उत्पादनमा वृद्धि
खाद्यान्न वाली उन्नत बिउ उपयोग मूल्य अनुदान कार्यक्रमबाट २१ वटा कृषक समूह र १२ जना कृषकहरूलाई ११ हजार ४४० किलोग्राम गहुँको बिउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको उपमहनगरले जनाएको छ। जसबाट १४३ बिघामा गहुँ खेती वृद्धि हुँदा गहुँ उत्पादनमा ७२५ क्वीन्टल वृद्धि भएको छ।
कृषि सामग्री खरिदमा अनुदान
उपमहानगरले वडा नम्बर ८ मा गहुँवाली पकेट विकास कार्यक्रम अन्तर्गत ४० बिघामा उन्नत गहुँ खेती गर्न ४० क्वीन्टल बिउ, २२ एचपीका ४ वटा पावरटिलर एउटा मिनिटिलर, तीन थान रिपर, पम्पसेट एक थान, स्प्रेयर ४ वटा, डिजिटर तराजु १२ वटा, बोरिङ ३ वटा र मेटर सिडविन १६ वटा ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ।
उपमहानगरले एक वर्षको अवधिमा तरकारी वाली पकेट विकास कार्यक्रमका लागि तरकारीको बिउ, ८ एचपीको ७ वटा पम्पसेट, २ एचपीका ७ वटा मोटर, व्याट्रीवाला १४ वटा स्प्रेयर, एक सय किलोग्राम क्षमताका १२ वटा डिजिटल तराजु, ७०५ किलोग्राम सर्विस पाइप र ७ वटा बोरिङ ५० प्रतिशत अनुदानमा किसानहरूलाई उपलब्ध गराइएको छ।
माटो जाँच शिवर सञ्चालन
धनगढी उपमहानगरले वडा नम्बर ६,७, १० र १५ मा चार वटा माटो जाँच शिविर सञ्चालन गरी चार सय वटा माटोको नमुना जाँच गरेको जनाएको छ। माटो परीक्षणबाट चार सय कृषक परिवार लाभान्वित भएको कृषि विकास शाखाले तयार गरेको प्रगति विवरणमा उल्लेख छ।
साना किसान आत्मनिर्भर बन्दै
एक वर्षको प्रगतिमा मुक्त कमैया तथा भूमिहीन, एकल महिला तथा दलितका लागि आयआर्जन कार्यक्रमबाट मुक्त कमैयाका ३ वटा समूहका ६० जना एकल महिला तथा दलितका ७ वटा समूहका १४० जनालाई च्याउको बिउ र च्याउ उत्पादन सामग्री निःशुल्क उपलब्ध गराइएको छ। जसबाट दुई सय जना कृषकहरूको आम्दानी बढ्नुका साथै पोषणयुक्त खाना प्राप्त भएको दाबी गरिएको छ। यसबाट साना किसानहरु आर्थिक रुपमा आत्मनिर्भर बन्ने उपमहानगरको दाबी छ।
३३ हजार बढीको गाउँघरमै उपचार
धनगढी उपमहानगरपालिकाले विशेषज्ञ वडा क्लिनिक सञ्चालन गरेर बैशाखसम्म ३३ हजार ५६६ नगरवासीले गाउँघरमै उपचार पाएको स्वास्थ्यतर्फको मुख्य उपलब्धि मानेको छ। यस्तै, आमा बचाऊ अभियानका लागि वडा नम्बर १६ र १८ लाई एम्बुलेन्स प्रदान गरेर ८६ जना गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ। उपमहानगरले अपाङ्गता भएका २१६ जनाको स्क्रिनिङ गरेर ६४ जनालाई सहायता सामग्री वितरण गरेको जनाएको छ।
धनगढी उपमहनगरपालिकाले सुशील कोइराला प्रखर क्यान्सर अस्पतालसँगको समन्वयमा क्यान्सर हेल्थ क्याम्प सञ्चालन गरेर २८१ जनाले सेवा लिएको जनाएको छ।