सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी त्रिनगर हाटबजारमा अब बिचौलियाको 'चेन ब्रेक'

२०७९ चैत्र २४, ०७:०५ नारायण अवस्थी

धनगढीः धनगढीको त्रिनगर हाटबजारमा भारतीय तरकारीको बिक्रीमा रोक लगाएपछि धनगढीका किसान उत्साहित भएका छन्। विगतमा भारतीय तरकारीको कारण स्थानीय तरकारी बिक्री गर्न समस्या थियो। धनगढी उपमहानगरपालिकाले भारतीय तरकारीमा रोक लगाएपछि स्थानीय किसानले उत्पादित तरकारी बिक्री गर्न सहज भएको बताएका हुन्।

स्थानीय किसानले बजारको माग धान्न धनगढीमै तरकारी उत्पादन भइरहेको बताएका छन् भने उपमहानगरपालिकाले बिचौलियाको जालो समाप्त गरेको बताएका छन्।धनगढी उपमहानगरपालिकाले त्रिनगर हाटबजार परिसरमा स्थानीय किसानले मात्रै तरकारी बिक्री गर्न पाउने नियम लगाएपछि तरकारी उत्पादन गर्ने किसान खुसी भएका हुन्।

यस्तै,स्थानीय किसानको उत्पादन क्षमता बढाउन र बजार सुनिश्चित गर्न उपमहानगरले स्थानीय किसानलाई प्राथमिकता दिने निर्णय गरेको जनाएको छ। भारतीय तरकारी हाटबजारमा बिक्री गर्न नपाउने भएपछि धनगढीका किसानले सबै मौसममा तरकारी उत्पादन गरेर आपूर्ति सहज गर्ने क्षमता विकास गर्ने बताएका छन्। नयाँ नियम लागु भएपछि आफूले उत्पादन गरेको तरकारी बिक्री गर्न सहज भएको कृषक सुनिल रानाले बताए।

'नयाँ नियमले हामीलाई तरकारी बिक्री गर्न केही सहज भएको छ। अझै सहज हुने वातावरण बन्नुपर्छ,' उनले भने, 'भारतीय तरकारीको कारण हाम्रो तरकारी उत्पादन नहुने जोखिम सधैंका लागि हट्नुपर्छ।'

भारतीय तरकारीले हाटबजारमा प्रवेश नपाउँदा पनि स्थानीयको सबै तरकारी खपत हुन समस्या भएको छ। दैनिक विहान ३ घण्टा हाटबजारबाट तरकारी बिक्री गर्न पाए किसानको उत्पादन खेर नजाने र उपभोक्ताले पनि ताजा तरकारी उपभोग गर्न पाउने धनगढी-१० का किसान श्रीकृष्ण रानाले बताए।

'हामीसँग तरकारी उत्पादन धेरै छ। अझै मूल्य नपाउने समस्या छ। विहान आएर हामी बिक्री गरेर गइहाल्छौँ,' उनले भने, 'हप्ताको सातै दिन बिहान कम्तिमा तीन घण्टा हामीलाई हाटबजारमा तरकारी बिक्री गर्न दिए अझै राम्रो हुन्थ्यो।'
उपमहानगरपालिकाले हाट बजारमा तरकारी बिक्री गर्न किसान परिचय पत्र हुनुपर्ने व्यवस्था गरेको छ। तर, किसान परिचय गैर किसानले पनि पाएको गुनासो पुष्प चौधरीको छ। व्यापारीलाई किसान परिचय पत्र दिन नहुने उनको भनाइ छ। यस्तै, हाटबजारमा भारतीय तरकारी बोकेको गाडी नआउँदा आफ्नो थोरै तरकारी पनि बिक्री भएको हरिद्वारी रानाले बताए।

हाटबजार दैनिक लागे उत्पादित तरकारी बिक्री गर्न सहज हुने भनाइ विन्दु रानाको छ। उनले पनि भारतीय तरकारीमा लगाएको रोकले स्थानीय किसानलाई न्याय गरेको र सबै सिजनमा तरकारी उत्पादन गर्न प्रोत्साहित गरेको बताएका छन्। यस्तै, भारतीय तरकारीमा लगाइएको रोक ठिक भएको धनगढी-६ मटियारीका गौरादेवी रानाको छ। 'भारतबाट तरकारी नआउँदा हामीलाई बिक्री गर्न सजिलो भएको छ,' उनले भने, 'हामी तरकारी खेती गर्ने किसानलाई अहिलेको नियम ठिक लागेको छ।'

धनगढीका किसानले तीन दिन मात्र लाग्ने हाटबजारबाट अन्य दिन बिहान ३ घण्टा थोकमा तरकारी बिक्री गर्न खुला गर्नुपर्ने बताएका छन्। किसानहरूले भारतीय तरकारी विस्थापन गर्ने गरी सबै मौसममा तरकारी उब्जाउन आफूहरू सक्षम रहेको बताएका छन्। 


 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस