सुदूर नेपाललाई विश्वसँग जोड्दै

विदेशबाट फर्केर अत्तरियाका कठायत कृषिमा, महिनाको ५० हजार आम्दानी

२०७९ पुष १६, ०९:१८ नारायण अवस्थी

धनगढीः  कैलालीको अत्तरियाका युवा हिक्मत कठायत विदेशबाट फर्केर कृषि पेसामा रमाएका छन्। दस वर्ष विदेश बसेर स्वदेश फर्केका कठायतले सुरुमा भने कुखुरा पालन गर्न खोजेका थिए। कुखुरा पालन गर्दा  लगानी नै नउठ्ने देखेपछि उनले व्यवसाय परिवर्तन गरेका छन्।  

गत भदौदेखि व्यवसायिक भैंसी पालन गर्न थालेका कठायतले  राम्रो आम्दानी  गर्न थालेका छन्। उनले भैंसी पालन व्यवसायलाई थप बढाएका छन्। परिवारको साथ भैंसी पालन गर्दै आएको बताउने उनको धनगढीमा छिट्टै अर्को भैंसी फार्म र अत्तरियामा डेरी खोल्ने योजना छ। ‘विदेश जाने सोच त्यागेर सुरुमा कुखुरा पालन सुरु गरें, तर त्यसमा घाटा लाग्यो,’ उनले भने, ‘त्यसपछि भैंसी पालन सुरु गरेको हुँ, अहिले भैंसी पालनबाट राम्रो भइरहेको छ।’कठायत एक दसक विदेश बसेर डेढ वर्ष अगाडि स्वदेश फर्केका थिए। ४ वर्ष युरोपको साइप्रसमा अध्ययनसँगै काम गरेका कठायतसँग १४ महिना दुबई र ५ वर्ष कुवेतमा रोयल केयर गिभर भएर

काम गरेको अनुभव छ। साइप्रसमा बिएस्सी नर्सिङ अध्ययन गरेका कठायतले अमेरिका जाने अवसर छोडेर स्वदेशमै काम गर्ने मनसायले सुरुमा कुखुरा पालन गर्ने योजना बनाएका थिए। कुखुरा पालन गर्ने योजनका साथ कठायतले कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५ मा २४ कट्ठा भाडामा लिएर खोर निर्माण गरी ६ लटमा १२ हजार कुखुराका चल्ला हालेको बताए।

तर, दाना महङ्गो हुने, कुखुरा बिक्री गर्न तयार हुँदा बजारमा कुखुराको मूल्य घट्ने, भारतबाट आउने खुखुराको कारण लगानी पनि नउठ्ने भएपछि कुखुरा पालन गर्न छोडेको कठायतले बताए। कुखुरा पालन गर्दा २१ लाख बढी नोक्सानी भएपछि कुखुरा पाल्न छोडेर भैंसी पाल्न सुरु गरेको कठायतले बताए। ‘कुखुरामा २१ लाखभन्दा बढी घाटा लाग्यो,’ उनले भने, ‘बिचौलोयाको कारण कुखुरा पालन गर्ने किसान मर्कामा पर्छन्। बिचौलीयाले भने तस्करीको कुखुराबाट मनग्गे कमाउँछन।’

कुखुरा पालनका लागि ४५ लाख लगानी गरेका कठायतले बिचौलीयाका कारण वास्तविक कुखुरा पालक किसानले हरेक सिजनमा घाटा व्यहोर्नु परेको बताए। ‘नक्कली कुखुरा किसानले भारतबाट कुखुरा तस्करी गर्ने भएकाले काम गर्ने किसानको लगानीसमेत नउठ्ने अवस्था भएकाले कुखुरा पालनबाट पलायन भएको हुँ। गत भदौबाट भैंसी पाल्न सुरु गरेको हुँ अहिले  गोठमा ४ वटा लैनो भैंसी छन्,’ कठायतले भने। 

भदौयता २० वटा भैंसीको कारोबार गरेका कठायतको योजना कृष्णपुरको फार्ममा १० वटा भैंसी पाल्ने छ। अहिले दैनिक ४८ लिटर दुध बिक्री हुँदै आएपनि फागुनदेखि दैनिक एक सय लिटर दुध बिक्री गर्ने र भैंसी पालनबाट दैनिक २ सय लिटर शुद्ध दूध बिक्री गर्ने योजना कठायतको छ। कठायतले अत्तिरया क्षेत्रमा आफैंले दुध बिक्री गर्दै आएका हुन्। प्रति लिटर ८० रुपैयाँका दरले उनले दुध बिक्री गर्दै आएका हुन्।

कृष्णपुरमा स्थान अभावका कारण भैंसी थप्न नसकिने भन्दै छिट्टै धनगढीमा अर्को भैंसी फार्म खोल्ने योजना रहेको कठायतले सुनाए। कुवेतबाट फेरि काममा फर्किने गरेर डेढ वर्ष अगाडि विदामा आएका कठायतलाई कम्पनीले अहिले पनि बोलाइ रहेको छ। तर पनि स्वदेशमै परिवारसँगै बस्ने भनेर कुवेत र अमेरिका जाने योजना त्यागेको  कठायतले सुनाए। ‘कुखुरामा लागेको घाटा र गर्नुपरेको मेहनत देखेर फेरि विदेश जाने कि भन्ने सोच पलाएको थियो,’ उनले भने, ‘फेरि घरमा सल्लाह गर्दा भैंसी पाल्ने र घरमै बस्ने निधो भयो। अहिले परिवारबाट पनि राम्रो सहयोग पाइरहेको छु। अब विदेश जाने सोच त्यागी सकें।’

कठायतले हेमा कृषि फार्म दर्ता गरेर व्यवसाय सुरु गरेका थिए। उनले भारतबाट स्थानीय जातको बढी दूध दिने भैंसी छानेर ल्याउने गरेका छन्। भैंसी ल्याउँदै र बिक्री पनि गर्दै गरेका उनले अहिले चार ओटा लैनो भैंसीको दुध बिक्री गरेर मासिक ५० हजारभन्दा बढी बचत गर्दै आएका छन्।

दैनिक २ सय लिटर दुध बिक्री गर्ने र आफ्नै डेरी सञ्चालन गर्ने योजना उनीसँग छ। अहिले पनि दैनिक ४८ लिटर दूध बिक्री गर्न घरघर जानु नपरेको, डेरी सञ्चालकहरूले फर्ममै आएर दूध खरिद गर्ने बताए पनि आफ्नो शुद्ध दूध स्थापित गर्न कठायत आफैंले दूध बिक्री गर्ने गरेका छन्।
 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस